
काठमाडौं : ३४ वर्षपछि मैत्रीपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली राष्ट्रिय टोलीले पहिलो खेलमा घरेलु टोली हङकङलाई पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले हङकङलाई ३-२ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५-२३ ले हारेको नेपाललले प्रतिस्पर्धात्मक दोस्रो सेट टाइब्रेकरमा २८-२६ ले जित्दै १-१ को बराबरी गरेको थियो। त्यसपछि तेस्रो सेट २५-२१ ले जित्दै नेपालले २-१ को अग्रता बनायो। चौथो सेटमा घरेलु टोलीले कमब्याक गर्दा २५-१७ ले नतिजा आफ्नो पक्षमा पार्यो र खेल २-२ को स्थितिमा पुर्यायो।
तर, पाँचौ तथा निर्णायक सेट १७-१५ ले जित्दै नेपालले खेल जितेको हो। उक्त खेल नेपालका एसियन रेफ्री क्यान्डिडेट पूर्ण प्रसाद चौलागाईँले खेलाएका थिए। उनलाई हङकङका इन्टरनेसल रेफ्रीले साथ दिएका थिए।
नेपालका मुख्य प्रशिक्षक वीरेन्द्र प्रसाद चौधरीले सोचेजस्तो खेल्न नसक्दा जित्न कठिन भएको प्रतिक्रिया दिए। ‘यहाँको कोर्टमा खेल्दा सुरुमा केटाहरु अलमलिए। तर, पछि राम्रो गरे। घरेलु टोली पनि राम्रो हो। हामीले विश्वास गरेका केही खेलाडीले सोचे जस्तो खेल्न सकेनन्। मानबहादुरले सोचे जस्तो खेल्न सकेनन् विशेष गरी। उनले राम्रो खेलेको भए हामी सिधा ३ सेटमा जित्न सक्थ्यौँ।’
यस्तै हङकङका प्रशिक्षक याउ होक चुनले नेपालले पछि राम्रो खेलेको बताए भने आफ्नो कमजोरीको विश्लेषण गर्ने जानकारी दिए। ‘लामो यात्रा गरेर आएकाले नेपाली टोली केही थाके जस्तो देखिन्थ्यो। त्यसैले पहिलो सेट उनीहरूका लागि वार्म अप जस्तो भयो। पछि उनीहरूले राम्रो खेले। आजको कमजोरीलाई गम्भीर रूपमा विश्लेषण गरी राम्रो गर्नेछौं।’