PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​अर्थमन्त्रीका पिएले राहतको जस्ता बिक्री गरेको आरोप, महत भन्छन्ः प्रमाणित भए नुवाकोट फर्किन्न



​अर्थमन्त्रीका पिएले राहतको जस्ता बिक्री गरेको आरोप, महत भन्छन्ः प्रमाणित भए नुवाकोट फर्किन्न

नुवाकोट : भूकम्प पीडितलाई वितरण गर्न लगिएको जस्तापाता अर्थमन्त्रीका स्वकीय सचिवले बिक्री गर्न खोजेको भन्दै स्थानीय वासिन्दाले नियन्त्रणमा लिएका छन्।

कविलास, भदु्रटार र महाकाली गाविसमा वितरण गर्न काठमाडौंबाट लगिएको जस्तापाता नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव रमेश महतले बेच्न खोजेको स्थानीय बासिन्दाको आरोप छ।

नेपाली कांग्रेस र राप्रपा, नेकपा माओवादीका जिल्ला नेताहरु कै संलग्नतामा स्थानीय वासिन्दाले छहरे, टोखा ढिकुरे सडक खण्डमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

तर अर्थमन्त्री महतका भतिज समेत रहेका रमेशले भने आफ्नो चरित्रहत्या गर्न दुष्प्रचार गरिएको दाबी गरेका छन्। ‘यो राजनीतिक पूर्वाग्रह भन्दा केही होइन’, उनले पहिलोपोस्टसँग भने, ‘राजनीतिक प्रतिस्पर्धा गर्न नसक्नेले लान्छना लगाएका हुन्, ममाथि लगाइएको आरोप प्रमाणित गरियोस्, म सबै सम्पत्ति बेचेर दिन्छु, फेरि नुवाकोट फर्कन्न।‘

नेपाल इन्भेस्टमेन्ट बैंकको छाप भएका तीन सय बण्डल जस्तापाता भूकम्पपीडित परिवारलाई वितरण गर्न जेठ १४ गते नुवाकोट लगिएपनि काठमाडौं फिर्ता लैजान खोजिएको स्थानीयको आरोप छ। जस्तापाता बोकेको ट्रक शुक्रबार दिउँसो ४ वजे स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए।

नुवाकोटका प्रहरी निरीक्षक वीरेन्द्र थापाले ट्रक काठमाडौ फर्काइँदै गरेको समयमा नुवाकोटको थानसिंह छहरेमा स्थानीयले रोकेको जानकारी दिए। जस्ता बोकेको ट्रकलाई प्रहरीले सुरक्षा दिएको छ।

राहतको जस्ता बोकेको बा ३ ख ३८४४ नम्बरका ट्रक चालक निरज भण्डारीका अनुसार जस्ता बोकेको ट्रक फर्काएर काठमाडौंको कोटेश्वर पुर्‍याएपछि २५ हजार रुपैयाँ भाडा दिने सहमति भएको थियो।

‘ब्लन्डर गरे’

नुवाकोट कांग्रेसका सभापति एवं सभासद जगदिश्वरनरसिंह केसीले महतले ‘ब्लन्डर’ गरेको प्रतिक्रिया दिए। ‘उहाँले ब्लन्डर गर्नुभयो। अहिलेलाई यत्ति भनौ‘, उनले प्रतिक्रिया दिए।  

कांग्रेस जिल्ला सदस्य विनोद पाठकले काठमाडौं लैजाने क्रममा महत र चालकबीच भएको ‘बार्गेनिङ’ स्थानीय बासिन्दाले थाहा पाएपछि घटना सार्वजनिक भएको बताए। ‘यो राहतका नाममा हुने बेथितिको पर्दाफासको सुरुवात हो’, पाठकले भने, ‘दोषीलाई कारबाही नगरेसम्म हामीलाई राहत पनि चाहिएन भनेर यहाँ स्थानीय बासिन्दाले बाटो बन्द गरेका छन्।‘

काठमाडौंको नेपाल इन्भेस्टमेन्ट बैंकले राहतस्वरुप भूकम्प पीडितलाई वितरण गर्न तीन सय बन्डल जस्तापाता नुवाकोट पठाएको थियो। आरोप लगाउनेहरुका अनुसार ७० बन्डल जस्तापाता कांग्रेस नुवाकोटका सचिव महतको घरमा राखिएको र बाँकी जस्ता बिक्रीका लागि काठमाडौं लगिँदै थियो।

शुक्रबार साँझ काठमाडौं फर्काउन लागिएको राहतको जस्ता पीडित परिवारलाई नबाँडेकाले नियन्त्रणमा लिएको नेकपा माओवादीका जिल्ला नेता प्रकाश डंगोलले बताए।



सिडिओनै बेखबर

नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बैंकले पठाएको जस्तापाता कुन स्थानमा वितरण गर्न  लगिएको भन्ने जानकारी आफुलाई नभएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हरेक जिल्लामा दैवी प्रकोप उद्दार समिति हुन्छ।

‘थाहा पाएको भए हामी नै प्रहरी लगाएर गाउँगाउँमा बाँड्थ्यौँ नि’, प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘छानबिन गर्दैछौँ। जस्तापाता पठाउने इन्भेस्टमेन्ट बैंकका प्रतिनिधिलाई बोलाएका छौँ।‘

महतमार्फत भूकम्प पीडितलाई वितरण गर्न जस्ता उपलब्ध गराउने नेपाल इन्भेस्टमेन्ट बैंक सञ्चालक समितिका अध्‍यक्ष पृथ्वीबहादुर पाण्डे अर्थमन्त्री महतका सम्धी हुन्।

'आरोप प्रमाणित भए नुवाकोट फर्कन्न'

जस्ता बिक्री गर्न खोजेको आरोप लागेका अर्थमन्त्रीका स्वकीय सचिव रमेश महतले आफूमाथि लगाइएको आरोप प्रमाणित भए नुवाकोट नफर्किने बताएका छन्। ‘विभिन्न स्कुलमा वितरण गर्न जस्ता लगेका थियौँ। हाम्रो गाउँमा पनि वितरण गरेर अरु गाविसमा लैजानेवाला थियौँ’, महतले पहिलोपोस्टसँग भने, ‘त्यही बेला ट्रक रोकेर यो सब भयो।‘

ट्रक चालक खाना खान लाग्दा ट्रक घेरेर पूर्व योजनामा आफ्नो चरित्रहत्या गर्न यो सबै गरिएको महतको दाबी छ।

‘म २० वर्षदेखि समाजसेवामा लागेको मान्छे, भूकम्पपीडितका लागि लगिएको सामान दुरुपयोग गर्ने भन्ने त प्रश्नै आउँदैन’, उनले भने, ‘हामी राहत बेचेर खानुपर्ने मान्छे होइन। चरित्र हत्या गर्न अनर्गल प्रचार गरिएको हो।‘

आफ्नाबारे सञ्चारमाध्यमले पनि एकपक्षीय समाचार दिएको उनले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell