PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विधेयक पास नभएपछि अमेरिकाका सरकारी कामकाज ठप्प



पहिलोपोस्ट

विधेयक पास नभएपछि अमेरिकाका सरकारी कामकाज ठप्प
फोटो श्रोत: voanews.com

वासिङटन डिसी: संघीय निकायहरुलाई खर्च उपलब्ध गराउनेसम्बन्धी विधेयक पास नभएपछि अमेरिकाका कतिपय सरकारी कार्यालय नै बन्द हुने भएको छ।

शनिबार वासिङटनमा रहेको माथिल्लो सदन सिनेटमा अर्को महिनासम्म संघीय निकायहरुलाई उपलब्ध गराउने खर्चसम्बन्धी विधेयक प्रस्तुत गरिएको थियो।

उक्त विधेयकका लागि ६० सांसदको समर्थन आवश्यक रहेकोमा ४८ सांसदको मात्र समर्थन भएपछि विधेयक पास हुनबाट रोकियो।

विधेयक पारित नभएपछि अमेरिकामा खर्च कटौतीका लागि सरकारी कार्यालयहरु बन्द गर्नुपरेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएकै एक वर्ष पुगेकै दिन यस्तो घटना भएको हो।

राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन विधेयकको पक्षमा भएपनि डेमोक्रेट्सका सांसदहरु विपक्षमा थिए। 

विधेयक पास नभएपछि सरकारले नै कार्यालयहरु बन्द गर्नुपर्ने हुन्छ। 

जसले गर्दा अतिआवश्यकबाहेक कतिपय कामकाज ठप्प हुदाँ अमेरिकी जनता प्रभावित हुनेछन्। राष्ट्रपति ट्रम्पले यस्तो हुनुमा डेमोक्रेट्स दोषी रहेको आरोप लगाएका छन्।

डेमोक्रेट्सले यस विधेयकसँगै आप्रबासीहरुको हकहितको सवालमा पनि सहमति गर्नुपर्ने दबाव दिएका छन्। ट्रम्प भने आप्रबासीहरु प्रति कठोर देखिदै आएका छन् र उनले ल्याएको नीति पास भएमा धेरै आप्रवासीहरु प्रभावित हुनेछन्।

यसैगरी मेक्सिकोमा पर्खाल लगाउने विषयलाई पनि यसमा जोडिएको छ। डेमोक्रेट्सहरु आप्रबासीप्रति उदार छन् भने पर्खालको विरोधमा पनि छन्।

यसपटक अब सोमबारबाट सरकारी कार्यालयहरु प्रभावित हुन सुरु हुनेछन् र कति दिन बन्द रहने भन्ने कुराको निश्चित भएको छैन। यसअघि सन् २०१३ को अक्टोबरमा १६ दिनसम्म कामकाज ठप्प भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell