PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेशको सांसद प्रमाणपत्र बुझ्नेको भिडका ४ रोचक दृश्य



पासाङ ठकुल्ला

प्रदेशको सांसद प्रमाणपत्र बुझ्नेको भिडका ४ रोचक दृश्य

काठमाडौं : निर्वाचन सकिएको डेढ महिनापछि निर्वाचन आयोगले आज प्रदेश सभाका समानुपातिक सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्‍यो। निर्वाचन सकिएको लामो समय भएकाले पनि आज आयोग परिसरमा आयोजित कार्यक्रममा ठूलो उत्साह देखिएन।   
सातै प्रदेशबाट समानुपातिक प्रणालीबाट निर्वाचित २ सय २० जना प्रदेश सभाका सदस्यलाई प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवले प्रमाणपत्र प्रदान गरे। योसँगै उनीहरु प्रदेश सभा सदस्य सुनिश्चत भएका छन्। आजको समारोहका केही दृश्य भने रोचक रहे।

दृश्य १ : प्रमाणपत्र बुझ्न लाइन

प्रदेश सभामा समानुपातिकबाट छानिएका सदस्यहरु प्रमाणपत्र लिन सुरुमै लाइनमा उभिनुपर्ने भयो। एकै पटक २ सय २० जनाले जितको प्रमाणपत्र लिनुपर्ने भएकाले भिड लाग्नु स्वभाविक थियो। सञ्चालकले नाम फरर पढेपछि उनीहरु लाममा उभिए। जुन प्रदेशमा चुनाव लडेको हो त्यहीँ सपथ ग्रहणको कार्यक्रम भएको भए सायद यस्तो भिड देखिन्न थियो। संघीयता लागू भए पनि प्रमाणपत्र वितरणमा भने निर्वाचन आयोगले पुरानै ढर्रा अपनायो। जसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रदेश सभाका समानुपातिक सदस्यले केन्द्रमै उपस्थित भएर भिडभाडमा प्रमाणपत्र बुझ्नुपर्‍यो।

दृश्य २ : प्रमाणपत्र लिँदा फोटो खिच्ने अवसर

तीन प्रमुख निर्वाचन नै सफल रुपमा सम्पन्न गराएका कारण प्रमुख निर्वाचन आयुक्त यादव दङ्ग पर्नु स्वभाविक हो। त्यसको छनक आज उनले फोटो खिचाउँदै प्रकट गरे। प्रमाणपत्र बुझ्न लाममा धेरै भए पनि फुर्सदले उनले फोटो खिचाइरहे। निर्वाचन आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र बुझ्नेमात्र होइन फोटो खिचाउने कार्यक्रम पनि अनिवार्य जस्तै देखियो। प्रमाणपत्र बुझ्दा प्रदेशसभा सदस्यहरु अलमलिए। फोटो खिचाउन पनि समय लाग्यो। प्रमाणपत्र दिँदै प्रमुख आयुक्त यादव क्यामेरा पर्सनलाई इशारा गर्थे – फोटो खिच।

दृश्य ३ : खाम लुछाचुडी

कार्यक्रम त्यति व्यवस्थित भएन जति हुनुपर्थ्यो। प्रमाणपत्र एकातिर खाम अर्कोतिर रहेछ। प्रमाणपत्र प्रदान गर्ने मञ्चको अर्को कुनामा आयोगका कर्मचारी बसेका थिए। उनीहरु बसेको टेबुल प्रमाणपत्र बुझेका सदस्यलाई खाम दिनका लागि राखिएको स्टलजस्तै बनेको थियो। प्रमाणपत्र दिने क्रममा असजिलो भएपछि खाम बाढ्ने ठाउँ खुला ठाउँतिर लगियो। प्रदेश सभा सदस्यहरु हातमा प्रमाणपत्र च्यापेर उक्त टेबलतिर पुग्थे र खाम माग्थे। प्रमाणपत्र सुरक्षित गर्न प्रदेश सभा सदस्यहरु खामका लागि लुछाचुडी गर्न थाले। 

दृश्य ४ : आयुक्तको भाषण सुन्ने कसले?

यसै त समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य जितेको खुशी, त्यसमाथि जितको प्रमाणपत्र हातमा। उनीहरुमा हर्षको सीमा हुने कुरै भएन। अन्तिममा भाषण गर्न पुगेका प्रमुख निर्वाचन आयुक्त यादवको भाषणमा प्रदेश सभा सदस्य बस्ने सिट खाली भइसकेका थिए। आयुक्तको भाषण कसले सुनोस्, उनीहरु धमाधम एक अर्कालाई शुभकामना र बधाई दिनमै व्यस्त रहे। यता यादव बोलिरहेमात्र। थोरैले मात्र उनका कुरा सुने। सँगै भेटेका साथीभाइसँग बधाई लिन व्यस्त उनीहरुले आयुक्तले दिएको बधाई भने सुने कि सुनेनन् भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell