PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नौ दिनदेखि आन्दोलनरत नर्सको माग पूरा गर्ने सहमति, आन्दोलन फिर्ता



नौ दिनदेखि आन्दोलनरत नर्सको माग पूरा गर्ने सहमति, आन्दोलन फिर्ता

काठमाडौँ : ११ बूँदे मागसहित नौ दिनअघिदेखि आन्दोलनमा उत्रेका नर्स र सरकारबीच सहमति भएको छ। 

बिहान ११ बजेदेखि स्वास्थ्य मन्त्रालयमा करिब आठ घन्टा चलेको वार्तामा नर्सका सबै ११ वटै मागमा सहमति भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले बताए। सहमतिसँगै नर्सहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। 

नर्सहरुको ११ बूँदे मागको पहिलो बूँदामा मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सलाई पुनर्बहाली गर्ने भन्ने थियो। निष्कासित दुई जना नर्सलाई ३ महिनासम्मका लागि पुनर्वहाली गर्ने र उनीहरुलाई साउनयता तलबको ७५ प्रतिशत रकम दिने सहमति भएको प्रवक्ता गिरीले बताए। त्यस्तै अर्की एक नर्सलाई करारमा नियुक्ति गर्ने सहमति भएको छ।

पारिश्रमिक वृद्धिका सम्बन्धमा कार्यदल बनाएर त्यसबाट प्राप्त सिफारिशका आधारमा अघि बढ्ने निर्णय भएको छ। 

आन्दोलनरत नर्सहरुको माग पूरा गर्न स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा हिजो बुधबार वार्ता समिति गठन गरेको थियो। समितिका सदस्यमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा थिए। यस्तै नर्सिङ संघबाट उपाध्यक्ष गंगा थापा, महासचिव लक्ष्मी केसी सहितको टोलीले वार्ता गरेको थियो।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell