PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भेट्रान एट ए साइड फुटबल : सिएमजी, बुटवल, कलकत्ता भेट्रान, फोर्टी फाउन्डेशन र जोरपाटी विजयी



नरहरि पौड्याल

भेट्रान एट ए साइड फुटबल : सिएमजी, बुटवल, कलकत्ता भेट्रान, फोर्टी फाउन्डेशन र जोरपाटी विजयी

पोखरा : पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा संचालित ‘सातौँ स्व रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौँ, बुटवल भेट्रान, कलकत्ता भेट्रान भारत, फोर्टी फाउन्डेशन काठमाडौँ र जोरपाटी काठमाडौँ बिहीबार विजयी भएका छन्।

प्रतिस्पर्धात्मक बनेको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको सिएमजी काठमाडौँले फ्रिडम फाइटर नख्खिपोटलाई खेलमा ३–२ गोलले पराजित गर्‍यो। सिएमजीका लागि खेलका म्यान अफ दि म्याच समेत बनेका अनिल राज भण्डारी, कृष्ण मालाकार र चेतनारायण श्रेष्ठले एक-एक गोल गरे भने फ्रिडमका लागि बिजय गुरुङ र नरेन्द्र लामाले गोल गरे।

यसैगरि दोश्रो खेलमा बुटवल भेट्रानले हेटौँडा भेट्रानलाई २–१ गोल अन्तरले हरायो। बुटवलका लागि भिमकाजी गुरुङ र शेर बहादुर गुरुङले गोल गरे भने हेटौँडाका लागि एक मात्र सान्त्वना गोल बल बहादुर गुरुङले फर्काए। तेश्रो खेलमा कतकत्ता भेट्रानले पोखराको टिम एबिसीलाई १–० ले पराजित गर्‍यो। कलकत्ताका लागि समिर कुमार नन्दीले गोल गरे।

बिहीवार भएका अन्य दुई खेल भने टाइब्रेकरमा सम्पन्न भए। चौथो खेलमा फोर्टी फाउन्डेशन नेपाल काठमाडौले कंचनजंघा सिलिगुडी दार्जिलिङको टिमलाई ४–३ गोल अन्तरले पराजित गर्‍यो। निर्धारित समयमा दुवै टिमकोतर्फ बाट गोल हुन नसकेपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो।

अन्तिम खेलमा राष्ट्रिय टिमका पूर्व टिम कप्तानसमेत सम्मिलित टिम जोरपाटी काठमाडौँले पोखराको स्थानिय क्लब इन्द्रेणी एकिकृत विकास केन्द्र पोखरालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्‍यो। निर्धारित समयमा १–१ गोलमा खेल सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र पाउनेछन्। यस्तै दोस्रो हुनेले ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलका अध्यक्ष दिल बहादुर गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell