PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मिथिला चित्रकलाकी 'विद्रोही' सुनैना



स्वेच्छा राउत

मिथिला चित्रकलाकी 'विद्रोही' सुनैना

काठमाडौं: महोत्तरीकी सुनैना ठाकुरलाई आमा हजुरआमाले घरको भित्तामा कोर्ने मान्छे, हात्ती, चरा, फूल आदिको चित्रले सँधै आकर्षित गर्थ्यो। त्यसैले उनले पनि मिथिला संस्कृतिसँग जोडिएको चित्रकला कोर्न थालिन्। उनले खेलाउने रङ्ग, कलम र औंलाहरु भित्ताहरुमा मात्र सीमित भएनन्। टिसर्ट, रुमाल र नेपाली कागजहरुमा मिथिला चित्र बनाउन थालिन्। जुन प्रयासलाई सुनैनाको परिवार, समुदाय वा समाजले सहजै अपनाउन सकेको थिएन।

समुदायले तोकेको घेरा बाहिर सांस्कृतिक महत्व बोकेको चित्रकला कोर्ने साहसले अहिले सुनैनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारको हकदार बनाएको छ। जुन पुरस्कारले दिएको चर्चा, सम्मान, हौसला भने सबैलाई स्वीकार्य छ। उनले 'एन पिस अवार्ड २०१२', अमेरिकाको 'कमन ग्राउन्ड अवार्ड २०१६', 'सफल महिला उद्धमी अवार्ड २०७३' र 'ललितकला विशेष पुरस्कार २०१७' हात पारिसकिन्।

यसबीचमा उनले मिथिला चित्रकला चिनाउँन र चित्रकलामार्फत् चिनिन गरेको मेहनत सानो छैन।

कक्षा १० को पाठ्यक्रममा 'मिथिला चित्रकला' शीर्षकको पाठ पढेपछि उनलाई आफ्नो संस्कृतिसँग जोडिएको मिथिला चित्रकलाबारे अझ जान्ने र बुझ्ने रहर भयो। एसएलसीपछि उक्त चित्रकलाबारे पढ्ने वा ट्रेनिङ लिने केही संघ, संस्था वा कलेज छ कि भनेर खोजिन्। तर अभिभावकका लागि छोरीको रहर र पढाइभन्दा महत्वपूर्ण जिम्मेवारी थियो विवाह।

'मधेशमा छोरीका लागि देखिने सपना अवार्डहरु होइन राम्रो जमाई र परिवार हो। मेरो परिवारमा पनि त्यस्तो हुनु स्वभाविक थियो।' पढाइदेखि अन्य सामाजिक कार्यबाट छोरी र अन्य महिलालाई पर राखिने भए पनि सुनैनाले पढ्न पाएकी थिइन्। जसका कारण उनले मधेशी समुदायमा आजसम्म पनि व्याप्त लैङ्गिक असमानता र महिला हिंसाविरुद्ध र आफ्नो हक, अधिकारका लागि बोल्नुपर्छ भन्ने सिकेकी थिइन्।

'मैले मेरो रहर पूरा गर्ने अधिकारका लागि बोल्न सकेँ। मेरा बाबाआमा मात्र नभएर विवाह गरेर गएको परिवारमा पनि राम्रो साथ र सहयोग मिल्यो', उनले आफ्नो हकमा विवाहले घरेलु काममा बाँधेर नराखेको प्रष्ट पारिन्। महिलाको लागि लागू हुने नियममा उनी चलिनन्। उनले आफ्नो लागि आफैं बाटो बनाइन्। समाजले बनाएको इज्जत र प्रतिष्ठाको परिभाषालाई बदल्ने अठोट राखिन्। भन्छिन्,'आफ्नो लागि परिवार फकाउन सक्नु आफ्नै दायित्व हो। परिवारको साथ मिलेपछि अन्य कुराको डर हुँदैन।'

सन् २००७ बाट चित्रकला सुरु गरेकी उनले मिथिला चित्रकलाको अध्ययन चाहिन्। जसका लागि रङ्गहरुको समीश्रण, चित्रले दिने सन्देश, चित्रमा प्रयोग हुने प्राकृतिक रङ्गबारे बुझ्न आवश्यक थियो। उनी केही नरमाइलो लागेको कुरा यसरी सुनाउँछिन्, 'नेपालमा मिथिला संस्कृति र चित्रकलाको उत्थानबारे जति कुरा भए पनि यसको बजारीकरण त परको कुरा सिकाउने संस्थाहरु समेत रहेनछन्।' त्यसैले उनी सन् २०१० मा श्रीमान शम्भु ठाकुरको सहयोगमा भारतको जितवारपुर पुगिन्। त्यहाँकी मिथिला चित्रकार कल्पना सिंहसँग सिकाइ मागिन्। 'सुरुमा त नेपालबाट आएको भनेर उहाँले मेरो अनुरोधलाई चासो दिइनन्। तर पछि मेरो काम देखेर खुशी भइन् र केही ज्ञान दिइन्।' कल्पना सिंहसँग सुनैनाले प्राकृतिक रङ्गहरुको बनाउने र प्रयोग गर्ने तरिका सिकिन्।

भन्छिन्,'चित्र त आफैले बनाउने कुरा हो। पहिला दिमागमा चित्र सिर्जना गर्न र त्यसैलाई क्यानभासमा उतार्न सक्नु चित्रकारको विशेषता हो। त्यसैलाई निखार्न र सही रङ्ग र ढङ्ग प्रयोग गर्न भारतसम्मको १५ महिने यात्रा धेरै काम लाग्यो।'

मिथिला चित्रकलाप्रतिको लगाव र सिकाइप्रतिको झुकावका कारण आझ सुनैना ठाकुर महोत्तरीकै छोरी बनेकी छिन्। उनी उदाहरण हुन् धेरै आमाबुवाका लागि। 'पहिले मेरो काम गर्ने उत्साह र चित्रकलालाई व्यवसायिक बनाउने जोसलाई गलत व्याख्या गर्नेहरु पनि आज आफ्ना छोरीलाई चित्रकार बनाउन चाहन्छन्। म ती आमाबुवा देखेर निकै खुशी हुन्छु।'

संस्कृतिको उत्थान र प्रवर्द्धन, चित्रकलामार्फत नयाँ पुस्तालाई लोप हुँदै गएको संस्कृतिको ज्ञान हस्तान्तर, मिथिला चित्रकलामार्फत् महिला सशक्तिकरण र लैङ्गिक समानताको संदेश उनका मुख्य उदेश्यहरु हुन्। उनी चाहन्छिन् आफ्नो समुदाय, समाजको महिलाहरुले सांकृतिक प्रवर्द्धनका लागि भूमिका खेलुन्। जसको लागि मिथिला चित्रकला बलियो माध्यम बन्ने उनको बुझाई छ। साथै मिथिला चित्रकलालाई माध्यम बनाएर महिला मात्र नभएर कुनै पुरुषले पनि व्यक्ति, परिवार, समाज र देशमा आर्थिक, सामाजिक परिवर्तनको लागि भूमिका निर्वाह गर्न सक्ने विश्वास राख्छिन्।

सन् २०१६ मा न्युयोर्कमा उनमो पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी भयो। उनले पहिलोपटक आफूले गर्दै आएको कामप्रति सर्वाधिक गर्व महसुस गरिन्। 'यो चित्रकला कसले बुझ्ला र भन्ने लागेको थियो। तर नेपाली तथा मिथिला संस्कृति झल्काउने चित्रकलाको सम्मान र ती चित्रकलाले बोक्ने गम्भीर संदेशको खोजी देखेर म खुशी भएँ।'

सुनैना थोरै खिन्न नेपालमा मिथिला चित्रकलाले नपाएको बजारसँग छिन्। क्यानडा, फिलिपिन्स, अमेरिका, क्यानडा, युरोपमा उनको चित्रहरुको बजार राम्रो छ। तर नेपालमा ठीकै मात्र। 'म एकजना र मसँग काम गर्ने ६, ७ जना महिला त मिथिला चित्रकलाले दिएको आम्दानीसँग खुशी होलान्। तर सयौँ महिला छन् जसको चित्र बजारसम्म पुग्न सकेको छैन', उनी यसको प्रचार र उत्थानको लागि सरकारी निकाय र अन्य समुदायको पनि साथ र सहयोग आवश्यक रहेको संकेत गर्छिन्। ग्रामीण महिला बिकास र सशक्तिकरणको लागि काम गर्न चाहने सुनैना ठाकुर आफूले चित्रकला सिकाएका सयौँ महिलाले मिथिला चित्रकलाको लागि बजार र हौसला पाएको हेर्न चाहन्छिन्। उनी आफू सफल हुनुलाई समुदाय सफल भएको मान्न तयार छैनन्। 'मैले पाएको पुरस्कार, सम्मान त्यस समय गरेको कामको लागि हो। जसलाई म निरन्तर अघि बढाउँन चाहन्छु।'

सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी 'समानता' माघ १ गतेबाट सुरु भएको छ। नेपाल आर्ट काउन्सिलमा ५ गतेसम्म जारी रहने प्रदर्शनीमा उनले महिलाको जीवनशैली, परिवर्तित रुप र भूमिका, मातृ स्नेह, प्रकृति र महिला सशक्तिकरण सम्बन्धित चित्रहरु प्रदर्शनमा राखेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell