PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भित्री सडकमा सवारी निषेध गर्ने निर्णय कार्यान्वयनमा आएन



पहिलोपोस्ट

भित्री सडकमा सवारी निषेध गर्ने निर्णय कार्यान्वयनमा आएन

काठमाडौंः काठमाडौंका भित्री सडकमा आजदेखि लागू हुने भनिएको चारपाङ्ग्रे सवारी प्रवेश निषेध कार्यान्वयनमा आउन अझै केही दिन लाग्ने भएको छ। काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा भित्री सडकमा सवारी निषेध अभियान सुरु गर्न लागिएको हो।  

धार्मिक सम्पदाको संरक्षण र पैदलयात्रु तथा पर्यटकहरुलाई समस्या परेको भन्दै सवारी प्रवेशमा रोक लगाउने निर्णय भएको थियो। मंगलबारदेखि निर्णय कार्यान्वयन गर्ने भनिए पनि तयारी नपुगेको भन्दै स्थगन गरिएको हो।

सडकमा आवश्यक पर्ने ट्राफिक संकेत व्यवस्थापन नभएका कारण निर्णय कार्यान्वयनमा नआएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रञ्जितकारले बताए।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, १८, १९, २२, २४, २५ र २७ मा पर्ने भित्री सडकमा चारपाङ्ग्रे सवारी रोक लगाउन लागेको हो। दिनको समयमा रोक लगाए पनि रातिको समयमा भने सवारी चलाउन पाइने छ।

यस्तै, नयाँ व्यवस्था अनुसार नरदेवीबाट भेडासिङ हुँदै इन्द्रचोकसम्म तथा बाङ्गेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटी हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाइने छ। अहिले यस क्षेत्रमा ट्राफिक संकेत राख्ने काम भइरहेको छ।

त्यसैगरी इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंङ, ठहिटी, असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बटुसम्म चारपाङ्ग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell