PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेत्रहीन एकदिवसीय विश्वकप : अष्ट्रेलियामाथि नेपालको शानदार जित



पहिलोपोस्ट

नेत्रहीन एकदिवसीय विश्वकप : अष्ट्रेलियामाथि नेपालको शानदार जित
फोटो : एनएसजेएफ

काठमाडौं : नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपाली टोलीले अष्ट्रेलियामाथि शानदार जित हासिल गर्दै प्रतियोगितामा सुखत अन्त्य गरेको छ।

पाँचौ नेत्रहीन एकदिवसीय विश्वकपअन्तर्गत सोमबार युएईको दुबईस्थित अजमानमा भएको अन्तिम लिग खेलमा नेपालले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्‍यो।

६ टिम सम्मिलित प्रतियोगितामा लगातार चार खेल हारेपछि नेपाल यसअघि नै सेमिफाइनल होडबाट बाहिरिसकेको छ। नेपाल पाकिस्तान, बंगलादेश, श्रीलंका र भारतसँग पराजित भएको थियो।

दुबईको अजमानस्थित एमसिसी क्रिकेट ग्राउन्डमा नेपाललले अन्तिम खेलमा जित हात पार्दा बलिङ र ब्याटिङ दुवै उत्कृष्ट प्रदर्शन गर्‍यो।नेपाललाई पहिलो जित दिलाउन पदम बडेलाले बलियो शतकीय पारी खेले।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया २ सय ९६ रन बनाएको थियो। २९७ रनको लक्ष्य नेपालले २२ बल अगावै २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा पदमले नटआउट रहदै १२५ रन बनाए। ७६ बल खेलेका पदमले १४ चौका प्रहार गरे। यस्तै बद्री चौलागाईँले ३५ रनमा नटआउट रहे।

तेस्रो विकेटका लागि बद्री र पदमले १ सय ३७ रनको साझेदारी गरेका थिए। त्यसअघि ओपनरद्वय रमेश बानियाँले ४७ तथा खिमानन्द गैरी १७ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङ गरेका नरेश थारु ३६ रनमा रिटायर्ट हर्ट भए।

अष्ट्रेलियाले निकै तिब्र गतिमा बलिङ गरे पनि नेपाली ब्याट्सम्यानले सबै चुनौती निस्तेज पारे। अस्ट्रेलियाको बलिङमा किफायती साबित भएका ४.२ ओभर बलिङ गर्दै २२ रन खर्चिए पनि विकेट निकाल्न सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ३६.२ ओभरमा २९६ रनमा अलआउट भएको थियो। अष्ट्रेलियाको लागि स्टेफन नेरोले ६३ र म्याट क्यामरुनले ६२ रन बनाए। यस्तै ड्यानिएल प्रिचार्टले ४० तथा लिन्ड्से हेभनले ३८ रन जोडे।

बलिङमा नेपालका दुर्गादत्तले ३ विकेट लिँदा विक्रमबहादुर र भरत थापाले समान १-१ विकेट लिए। १० अष्ट्रेलियाका ५ खेलाडीलाई नेपाली खेलाडीले रनआउट गरे।  

नेपालको जितमा शतकीय पारी खेलेका पदम बडेला म्यान अफ दी म्याच घोषित भए। उनले नगद ५ सय दिराम र ट्रफी हात पारे। 

 

कप्तान कृतन र उपकप्तान विक्रमद्वारा सन्यास

विश्वकपको अन्तिम खेलमा अष्ट्रेलिया विरुद्ध शानदार जित हात पारेपछि नेपाली टिमका कप्तान कृतन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानाले सन्यासको घोषणा गरेका छन्। उनीहरुले संघका अध्यक्ष पवन घिमिरे र प्रशिक्षक रिजन प्रजुको रोहबरमा सन्यासको घोषणा गरेका हुन्।

नेपालमा नेत्रहीन क्रिकेट सुरु हुँदा नै नेपाली टोलीमा रहेका विक्रम र कृतनले नयाँ युवा खेलाडीलाई अवसर दिन आफूहरुले सन्यास लिएको बताए।

विस २०६३ सालमा नेपालमा नेत्रहीन क्रिकेट स्थापना हुँदा खेल्न सुरु गरेका विक्रमले दुई टी-२० विश्वकप क्रिकेट र एकदिवसीय विश्वकपमा खेलेका छन्। कृतनले एक टि-२० विश्वकप र एकदिवसीय विश्वकप क्रिकेट खेले।

उनीहरु दुबै नेपाली नेत्रहीन क्रिकेटका महत्वपुर्ण सदस्य रहेकाले दुवैको अभाव खड्किने संघका अध्यक्ष घिमिरेले बताए। विक्रमबहादुर र कृतनले आगामी दिन आफूहरु खेलाडी उत्पादनमा लागि पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell