PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेत्रहीन विश्वकप क्रिकेट टोली : जाँदा रेलमा फर्कदा प्लेनमा



गोविन्दराज नेपाल

नेत्रहीन विश्वकप क्रिकेट टोली : जाँदा रेलमा फर्कदा प्लेनमा
फोटो : एनएसजेएफ

काठमाडौं: पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलिरहेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीले आज डिफेण्डिङ च्याम्पियन भारतसँग खेलिरहेको छ।

यसअघि दुई पटक टी-२० विश्वकप क्रिकेट खेलेपछि एकदिवसीयमा नेपालको यो पहिलो सहभागिता हो। पाकिस्तान र युएईमा संयुक्त रुपमा सञ्चालन भइरहेको पाँचौँ संस्करणको यस विश्वकपमा कूल ६ टोलीको सहभागिता छ र बाँकी ५ टोली नेपालभन्दा अनुभवी समेत छन्।

यसअघि पाकिस्तानमा भएको आफ्नो सुरुवाती दुई खेल हारेको नेपालले हिजो युएईमा तेस्रों खेल पनि हार्‍यो। श्रीलंकासँग फराकिलो रन अन्तरले पराजित भएपछि नेपालको शीर्ष चारमा रहेर सेमिफाइनल पुग्ने सम्भावना समाप्त भयो।

नेपालले लगातार ३ खेल हार्दा जति गाह्रो भए त्यो भन्दा गाह्रो नेपाललाई आयोजना स्थल पुग्न भएको थयो। फ्लाइटमा जान नपाएपछि नेपाली टोली बस र ट्रेनबाट यात्रा गरेर पाकिस्तान पुगेको थियो।

सरकारले नेपाली टिमलाई सहयोग नगरेको भन्दै व्यापक आलोचना समेत भयो। कसैले सहयोग गर्न तत्परता देखाएनन्।

तर यसबीचमै सहयोगी हात देखा परे। नेपाली टोलीले भोगेको दु:ख पछि नेपाली क्रिकेटलाई माया गर्ने नेपाली क्रिकेट विकासमा लागेका र आफ्नो खेलाडीका लागि सँधै सहयोग गर्न तत्पर रहेको नेपाली क्रिकेट सपोर्टस् सोसाइटी एनसीएसएस लाग्यो।

उनीहरुले 'स्वाभिमानको एनसिएसएस अभियान : जाँदा रेलमा फर्कँदा प्लेन' मा भन्ने अभियान चलाए। यसबाट नेपाली टोलीको लागि सहयोग हातहरु अगाडी बढ्न थालेर राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले समेत यसलाई दु:खद भन्दै ५० हजार नगद सहयोग गर्ने घोषणा गरेर त्यसपछि नेपालका राष्ट्रिय खेलाडीहरु, क्रिकेटप्रेमीहरु सबैले आफूले सक्दो रकम सहयोग गर्न थाले।

एनसिएसएसका अध्यक्ष भानु सिग्देल लगायत टिमले यस अभियानको सुरु गरे। सिग्देलका अनुसार कसैले सहयोग नगरेपछि आफूहरु अगाडि बढेको बताए। उनका अनुसार अहिलेसम्म ५ लाख ४६ हजार ८६९ रुपैयाँ रकम संकलन भएको छ।

'हामीले नेपालको नेत्रहीन टोलीलाई प्लेनमा फर्काउन पहल गरिरहेका छौँ। अझै केही रकम अपुग छ। २२ जनालाई कम्तीमा पनि ७/८ लाख लाग्छ'। सिग्देलले अभियानबारे भने 'करिब ७० हजार जति घोषणा भएर पनि उठेन। तर हामी अन्तिम चरणसम्म लागिरहने छौँ।'

'एनसीएसएसको लगाव, एनसिएसएसप्रति आम समर्थक, खेलाडी र अन्य व्यक्तिले देखाएको विश्वासका कारण नै यो अभियान सफल हुँदै गएको छ' सिग्देलले भने 'कलेक्टिभ इफ्फोर्ट र आत्मविश्वास भएमा एनसिएसएसले आगामी दिनमा पनि ठोस कदमहरु चाल्दै नेपाली क्रिकेटलाई योगदान दिन सक्छ भन्ने उदाहरण हो यो। नेपाली क्रिकेट टुहुरो छैन भन्ने सन्देश एनसिएसएसले दिएको छ भन्ने लागेको छ।'

सिग्देलले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), जिल्ला खेलकुद विकास समितिहरुमा कुरा राखेको र सहयोग गर्ने आश्वासन मात्र आएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell