PahiloPost

Feb 24, 2018 | १२ फागुन २०७४

विदेशको पढाइ : सपना छोराछोरीको कि बाबुआमाको?


स्वेच्छा राउत/पहिलोपोस्ट

विदेशको पढाइ : सपना छोराछोरीको कि बाबुआमाको?
बिराटनगरकी सकुन्तला खनालको छोरा सुशान्त अमेरिका गएको ५ महिना भयो। साउथ इलिनोइस युनिभर्सिटी कार्बोनडेलमा इन स्टेट स्कलरसिप भनेर खुशी खुशी पठाएको छोराले युनिभर्सिटी मात्र होइन स्टेट नै परिवर्तन गर्नुपर्‍यो। सुशान्त नेब्रास्का सरे। कलेज ट्रान्सफर गर्दा लाग्ने खर्च भने घरबाट मगाएका छन्।

सकुन्तला भन्छिन्, 'एक सेमेस्टरमात्र होस्टल बस्न पर्ने भनिएको थियो तर २१ वर्षको उमेरसम्म चार्ज तिरेर बस्नुपर्ने रे! मेरो छोरा भर्खर १८ वर्ष भयो।' १८ लाख खर्च गरेर अमेरिका पठाएको छोरालाई ५ महिनापछि ३ लाख पठाउन भौचर भर्दै थिइन् सकुन्तला।

होस्टल बसुन्जेल साताको २० घण्टामात्र काम गर्न पाइने। त्यो पैसाले होस्टल चार्ज तिर्न पनि नपुग्ने ! चार महिनाको साढे पाँच हजार अमेरिकी डलर नेपालबाट पठाउन पनि सकुन्तलाको हकमा सम्भव थिएन। 'त्यसैले उसले स्टेट चेन्ज गरेको हो। अब वर्षको १४ हजार डलरमा पढ्न पाउँछ रे,' सकुन्तलाले भनिन्।

छोरा विदेश पठाउनु उनको सपना थियो। लिटल एन्जल्समा ए लेभल सकेको छोराले ब्याचलर्स यतै पढे पनि भनेजस्तो काम नपाउला भन्ने डरले उनलाई सताएको थियो।

'सर्टिफिकेट बोकेर ढोकाढोका चहार्नुपर्नेको हालत देखेका छौं नि। काम नै गर्नेको पनि आम्दानी उही हो। बरु विदेशमा पढेर फर्किए केही राहत मिल्थ्यो कि भन्ने लाग्यो। फेरि साथीहरु पनि सबै गएको। उ एक्लै किन यता पढ्नु?,' छोरो विदेशिनुको कारण खोलिन् उनले।

अहिले छोराले युनिभर्सिटीमात्र होइन स्टेट नै परिवर्तन गर्दा भने उनलाई राम्रो लागेको छैन। 'सानैमा धेरै कुरा सोच्न पर्ने भयो। बरु ब्याचलर्स पढाएर पठाउन पाएको भए हुने रहेछ। अलि परिपक्व हुन्थ्यो कि,' केही सम्झिन्छिन् र भन्छिन्, 'परेर पनि जान्ने हुँदो रहेछन् क्यारे। अहिले घरमा हामीलाई टेन्सन नहोस् भनेर होला सबैकुरा सजिलो र राम्रो छ भन्छ।'

जोरपाटी नयाँ बस्तीका रबिन अधिकारीको क्यानडाको भिसा इन्टरभ्यु बाँकी छ। नामी कलेजबाट ए लेभल सक्काएका उनलाई आमा बाबाले नै विदेश जान सुझाव दिएका हुन्। 'रिसर्च बेस्ड स्टडी गर्ने वातावरण नै छैन नेपालमा। मेरो घोकेर पढ्ने बानी छैन। त्यसैले ड्याडी ममले बाहिर नै जाउ भन्नु भयो,' उनले भने। रबिन क्यानडामा अर्थशास्त्र पढ्न जाँदैछन्। उनलाई ड्याडीले भनेका छन्, 'विदेशमा पढ्यो भने करियर राम्रो हुन्छ।'
 
केशर महलमा 'नो अब्जेक्सन लेटर' फर्म भर्न व्यस्त पाटनका सनिस महर्जनले होटल म्यानेजमेन्ट लिएर प्लस टु पढेका छन्। एसएलसी लगत्तैको योजना थियो- 'प्लस टु सक्किनासाथ विदेश नै जाने हो।' घरबाट पनि उनलाई नेपालमा बसेर काम छैन भन्ने सिकाइयो। 'बाबा मम्मीले पनि नेपालमा बसेर काम छैन। बाहिर जा भन्नुभयो। त्यसैले पोल्यान्ड जान लागेको,' उनले भने। पोल्यान्डबाट अन्य थुप्रै देश घुम्न जान सजिलो हुने सपना देखेका छन् उनले। 
 
*** 
 
यी प्रतिनिधि हुन् - केशर महलमा नो अब्जेकसन लेटरका लागि उभिएकामध्ये केही। लाइनमा रहेका धेरै भविष्य खोज्न विदेशिन लागेको बताउँछन्। अनि प्राय सबैलाई अमेरिका, अस्ट्रेलिया र युरोप जान घरबाट पूरा साथ र सहयोग छ। 

२०७४ मा वैसाखदेखि पुस २४ गतेसम्म ३९ हजार ५ जनाले नो अब्जेक्सन लेटर लिइसके। 'नो अब्जेक्सन लेटर नेपालमै रहेको तर विदेशी युनिभर्सिटीको सम्बन्धन रहेको कलेज पढ्नका लागि पनि चाहिन्छ। तर यो अनुमति पत्र लिने प्राय विदेशिने होडका नै हुन्,' शिक्षा मन्त्रालयका उप सचिव याम नारायण घिमिरे भन्छन्। उनले दिएको जानकारी अनुसार २०७३ मा मात्र ५० हजार ६ सय ५९ जनाले नो अब्जेक्सन लेटर लिए। नो अब्जेक्सन लेटर लिनेहरु एक वर्षमा २० हजारको हाराहारीमा बढेका छन्। २०७२ मा ३२ हजार चार सय ८९ ले यस्तो लेटर लिएका थिए। जबकि पाँच वर्ष अघि २०६८ मा उक्त अनुमति पत्र लिनेको सङ्ख्या १० हजार ३ सय २४ मात्र थियो। 

छोरीसँगै पत्र लिन लाइनमा रहेकी जोरपाटीकी ङिमाली शेर्पा दोस्रोपटक लाइनमा उभिएकी हुन्। यसअघि जेठी छोरी छोटी शेर्पा अमोरिका पठाउनुअघि उनी यसैगरी पत्र लिन आएकी थिइन्। भन्छिन्, 'एउटा छोरी अमेरिका अर्को छोरी अस्ट्रेलिया। भोलिपर्सि हामी पनि फरक फरक देश घुम्न पाउँछौं नि।' 

ङिमालीको हकमा आफ्नो समुदायका प्राय छोराछोरीको कन्भोकेसनको अवसरमा विदेश जानुले निकै असर गरेको छ। 'छोराछोरीले बोलाएर जानुमा बेग्लै खुशी हुने रहेछ,' उनले भनिन्। 

कलंकीकी शशी बुढाथोकीले त आइएलटिएसको तयारी गरिरहेकी भनेर छोरी नीशालाई घरको सामान्य काम पनि लगाउँदिनन्। शशी चाहन्छिन्, 'छोरीको स्कोर राम्रो आओस् र चाँडै अस्ट्रेलिया जाओस्।'

चक त के भने पहिले उनी छोरीलाई असन-इन्द्रचोकसम्म पनि एक्लै पठाउन डराउँथिन्। तर, छिमेकीका सन्तान विदेशिएपछि आफ्नो छोरी पनि विदेश पठाउनु उनको रहर बन्यो। 
 
***
 
आइइएलटिएस, पिटिइ, टोफेल लगायत अन्य अंग्रेजी भाषा परीक्षणको तयारी गरिरहेका धेरैले आफू विदेशिन खोज्नुको प्रमुख कारण नेपालमा पढाइ राम्रो नहुनु, पढाइ भए पनि रोजगार नहुनु, रोजगार भए पनि तलब राम्रो नहुनु बताए। तर, विदेशिएका र विदेशिने तयारीमा रहेका धेरै युवाको विदेश सपना आमाबुवाले देखिदिएको पाइन्छ। चाहे त्यो सपना छोराछोरीलाई राम्रो शिक्षा दिने, धेरै कमाउने बनाउने, भविष्य राम्रो बनाउने होस् वा आफू पनि युरोप, अस्ट्रेलिया वा अमेरिका घुम्न जान पाउने लोभले नै किन नहोस्। 

समाजशास्त्री डम्बर चेम्जोङ छोराछोरीको लागि देखिदिने विदेश सपनालाई सामाजिक प्रभावको रुपमा व्याख्या गर्छन्। उनी भन्छन्, 'आमाबुबाले आफ्नो सन्तान विदेशिनुलाई आफ्नो सामाजिक प्रतिष्ठा बढ्नु भनेर बुझेका छन्। अझ कतिलाई त लाग्छ छोरा वा छोरी गएको देशको नामले आफ्नो सामाजिक वा आर्थिकस्तर निर्धारण गर्न सहयोग पुर्‍याउँछ।' 

चेम्जोङ समाजमा यसरी विकास भइरहेको विश्वासको पक्षमा छैनन्। 'शिक्षा र रोजगारमा नेपाल राम्रो छैन त्यसैले विदेश जाने भन्ने विश्वास स्थापित भइरहँदा नेपालमै राम्रो गरिरहेकाहरु पनि दोहोर्‍याएर सोच्न थालेका छन्। जुन राम्रो संकेत होइन,' उनले भने। 

'अवसर नहुनु, कमाइ नहुनु जस्ता कारणहरु रेडिमेड बहानाजस्ता सुनिन्छन् किनकि विदेश पठाउन लाखौं ऋण लिन सक्ने अभिभावकले व्यवसाय गर्न चाहने छोराछोरीलाई त्यति नै पैसा दिने रिस्क मोल्न चाहँदैनन्,' उनले तर्क अघि सारे, 'गुणस्तरीय जीवन र धेरै पैसा कमाउने महत्वकांक्षा पूरा गर्न सबै वैध रुपमा विदेशिएका छन् त? यदि छैनन् भने त्यसको लेखाजोखा कसले राख्छ?'

चेम्जोङले सामाजिक मान्यताबाट पर रहेर अन्य केही समस्यालाई पनि उच्च शिक्षाका लागि विदेश लक्ष्य बन्नुको कारण रहेको बताए। 'कमाउँदै पढ्ने वातावरण नेपालमा छैन। विदेशमा छ। फेरि नेपालको आर्थिक नीतिमा जुन किसिमको खाडल छ त्यसले पढाइ सकिएपछि पनि आर्थिक राहत नदिने समस्या धेरै देखिएको छ,'  उनको निचोड।

'सेफ साइड' रोज्दै गर्दा त्यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वर्ग विभाजनमा परेको चेम्जोङको बुझाइ छ। भन्छन्, 'देखासिखी नै सही आर्थिक रुपमा कमजोरहरुलाई पनि ऋण गरेर भए पनि छोराछोरी अमेरिका वा अस्ट्रेलिया पठाउनु पर्छ भन्ने भएको छ। यो गलत प्रवृत्तिको विकास हो।' 

गुणस्तरीय शिक्षा, जीवन र अवसर नेपालको तुलनामा बाहिर राम्रो भए पनि सबै अभिभावकले छोराछोरीको गन्तव्य नै युरोप, अमेरिका बनाइदिनुले सामाजिक मान्यता, वर्ग विभाजन, आर्थिक लगानी, राज्यको जनशक्ति आदिमा त नकारात्मक असर गरेको छ नै। साथै विदेशिनेहरुको मानसिक स्थिति, शैक्षिक योग्यता, करियर रोजाइ लगायतमा कति असर भएको छ भन्ने बारे अध्ययन अनुसन्धान आवश्यक देखिएको छ। 

मनोरोग विशेषज्ञ डाक्टर सञ्जीव गौतमका अनुसार पढाइका लागि भनेर १८/१९ वर्षको उमेरमै विदेशिनेहरुमा एक्लोपन, पढाइ र अन्य प्रेसरका कारण डिप्रेसन र एन्जाइटीको समस्या देखिन्छ। 'नेपालमा छोरा वा छोरी सानै छ भनेर स्कूल, कलेज फिदेखि पकेट खर्चसम्म बावाआमाले दिएको बानी। विदेशमा पढाइसँगै बस्न, खान र यताबाट गएको खर्चबारे पनि सोच्न बाध्य हुन्छन्। त्यस्तोमा कसरी मानसिक स्थिति सामान्य हुन सक्छ?,' डाक्टर गौतमको प्रश्न। 

नयाँ वातावरणमा भिज्न समय लाग्नु, आत्मनिर्भर हुनपर्नु, धेरै किसिमका जिम्मेवारीहरु उठाउन पर्नुसँगै एक्लोपन, हतारको जीवन बाँच्न बाध्य हुनुले मानसिक समस्या ल्याउने गर्छ। 

निराशा, डर र बेचैनी जापान र अस्ट्रेलिया पुगेका धेरै नेपाली विद्यार्थीमा देखिएको मनोचिकित्सक वासु आचार्यको दाबी छ। उनी भन्छन्, 'बाध्यात्मक परिस्थिति र उचित परामर्शको कमीले गर्दा विदेशिएका नेपाली विद्यार्थीमा डिप्रेसन र एन्जाइटीको समस्या बढ्दो छ।' 

उनका अनुसार विदेश पठाउनुअघि नयाँ ठाउँको बारेमा सम्भावित अवस्थाबारे बुझाउन सके बढ्दो मनोरोग तथा अन्य मानसिक बिरामीमा केही कमी आउन सक्छ। अनलाइनबाट उनले यस्ता विद्यार्थीको थेरापी गरिरहेका छन्। उनीहरुको अवस्था कस्तो देखिन्छ त?

उनका अनुसार धेरैमा आर्थिक र शैक्षिक भार, एक्लोपन, नयाँ वातावरणमा भिज्न नसक्नु, लागू औषधको प्रयोगजस्ता समस्या देखिएका छन्। 
'नेपालमा रोकथाम भन्दा पनि समस्या भएपछिमात्र समाधान खोज्न थालिन्छ। कतिपय अवस्थामा त्यो सब ढिला हुन्छ,' आचार्य जानकारी दिन्छन्, 'एक्लोपन, संकाले निम्त्याउने मनोसमस्या पागलपन होइन। हरेक मनोरोगलाई पागलपन बुझ्नुले यसबारे खुलेर बोल्नेहरु निकै कम छन्। जसको नतिजा राम्रो हुँदैन।' 

विदेशमा रहेका धेरैले आफूमा बढेको बेचैनी र दिक्दारी लुकाउने गर्छन्। जसको असर दुर्गामी हुन्छ। छोराछोरीमा मनोरोग भएको थाहा पाउँदा अभिभावकको मानसिक स्वास्थ्यमा के होला त? पक्कै पनि त्यसको असर उनीहरुमा पनि पर्छ। 

आमासँगै अमेरिका रहँदै आएका मैतीदेवीका आकाश पौडेल भन्छन्, 'पैसा हुन्छ। जीवनशैली पनि छ तर जीवन छैन। त्यस्तोमा धेरैले सोचें जसरी बाच्न गाह्रो छ।' 

उनी आफ्नो निराशा पोख्छन्। 'विदेश गएर धेरै गरुँला भन्ने सपना देखेको थिएँ। तर उता त केही सोचेजस्तो नहुने। सपना देख्नको लागि सुत्ने फुर्सद पनि नहुने रहेछ,' उनले बुझेको जीवन बुझाए। 

आकाशले पनि विदेश जानुअघि र गएपछि भोग्न पर्ने समस्या व्यवस्थापनका लागि परामर्श दिन आवश्यक महसुस गरेका छन्। भन्छन्, 'मानसिक रुपमा तयार हुने परामर्श दिनसके म सकिएँ, खतम भएँ, बेक्कार विदेश आएँ भन्नेजस्ता भावनाको विकास नहुन सक्छ। यस्तो भावना रोक्न सके मानसिक बिरामी हुनेहरुको सङ्ख्यामा कमी आउथ्यो कि?' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal