PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

तन्त्र कथाः तोङ्बा कुटी


पहिलोपोस्ट /पहिलोपोस्ट

तन्त्र कथाः तोङ्बा कुटी
  • लिलाराज खतिवडा -
एउटा केटालाई तन्त्र विद्या सिक्ने इच्छा भयो। कैयन वर्ष भौतारिँदा पनि उसले सही गुरु भेट्टाएन। गुरु बेगर तन्त्र सिद्धि हुँदैन भन्ने पनि खोजकै शिलशिलामा उसले थाहा पाएको थियो। भाग्यवश, एकदिन कसैले उसलाई बतायो कि हिमालयको किमाथांका क्षेत्रमा एक जना तिब्बती तन्त्र गुरु बस्तछन्।

तर, खबर दिनेकै लागि यो चार वर्ष पहिलेको जानकारी थियो। गुरु त्यतिबेला नै अठासी वर्षका थिए। 

के उनी अझै जिवित होलान् त ? केटाले आँखीभुइँमा जोड दिएर आफैंलाई प्रश्न गर्यो। फेरि, बताउनेले किमाथांका क्षेत्र मात्रै भनेको छ। ठ्याक्कै ठेगाना भन्न सकेको होइन। कसरी पत्ता लगाउने हिमालयको त्यस अनकण्टारमा उनको कुटी ? उसको घरबाट किमाथांका प्रवेशद्वार पुग्नै कम्तीमा तीन हप्ता पैदल यात्रा अनिवार्य थियो। तर उसले जाने निर्णय गर्नुअघि के कुरामा ज्यादा जोर दिएर सोच्यो भने, एघार वर्ष त खोजेर भौंतारिएँ भने अब अरु तीन हप्ता त केही पनि होइन। 

अनि ऊ बिना कुम्लोकुटुरो किमाथांका उक्लियो। बाटामा उसले कताकता सुसेली हाल्यो, किमाथांका जाउँ न आज तन्त्र सिक्नलाई।

तीन हप्ता होइन उसलाई पूरै एक महिना लाग्यो किमाथांका टेक्न। ऊ फटेहाल भएको थियो। हाड्छाला मात्रै बाँकी थिए। अनि बाँकी थियो एक मुठी लखतरान सास। 

“यहाँबाट दुई दिनको बाटो हिँडेपछि तोङ्बा गुरुको कुटी भेट्छ,” एकजना बृद्धले उसलाई बाटामा बताए, “तर बाबै मरे या छन् त्यो त थाहा छैन। पोहोरसम्म ज्युँदै थिए।”

“तोङ्बा गुरु, याने तन्त्र गुरु ?” केटाले मलिन आवाजमा सोध्यो।
“ज्यु ज्यु, तन्त्र गुरु भए पनि उहाँ तोङ्बा गुरुका नामले प्रख्यात पर्नुभो,” जानकारी दिने बाबैले हल्का मुस्कानसाथ बताए।

अरु दुई दिन ? एउटा रुखमुनि आरामसँग बसेर उसले सोच्यो, एक महिना त हिँडेर आएँ भने दुई दिन त युँ पुगिदिन्छु। अनि ऊ लगभग शरीर घिसारेर पहाड उक्लिन थाल्यो।

दुइदिनपछि एउटा गाउँमा उसले सोधपुछ गर्यो। 

अब छ घण्टा लगातार हिँडेपछि तोङ्बा कुटी पुगिन्छ भन्ने मूल्यवान जवाफले उसलाई आफ्नो ज्यान बचे झै लाग्यो। तर गुरुको अवस्था बारे कुनै ठोस जानकारी अझै फेला परेको थिएन। बाटो तताउनुको बिकल्प थिएन। धुकधुकीलाई बतासको झोंकाबाट टुकी बचाए जसरी ऊ अगाडि बढिरह्यो। खै कुन अज्ञात शक्तिको बलले ऊसले अरु पाँच घण्टाको यात्रा पनि जिवितै तय गर्यो। हिँड्दै गर्दा एउटा विद्यालय आयो। अनि उसले आफूलाई सरासर भित्र लग्यो र त्यहाँ भेटिएकाहरुसँग गुरुको बारेमा सोध्यो। 

अस्तिका दिनसम्म बाबै लठ्ठी टेकेर हिँड्दै थिए भन्ने खबरले उसका भुँईमा खुट्टा भएनन्। अनि ऊ लगभग कुदेरै तोङ्बा कुटी पुग्यो। 
साँझ परिसकेको थियो। कुटीको ढोका भित्रबाट ढप्काइएको थियो। 

भित्रबाट चियाइरहेको मन्द प्रकाशले केटाको थकित हालतलाई हल्का बढारिदियो। डरलाई काबूमा लिएर उसले ढोका ढक्ढक्यायो। केही बेरको स्तब्धता चिर्दै ढोका खुल्यो। दियालोको उज्यालो फ्याँक्दै एकजना बृद्ध देखा परे। केटालाई आफ्नो अगाडि साक्षात घाम झुल्केको अनुभूति भयो। उसले बाबैलाई लगभग सास्टाङ्ग दन्डवत नै पेश गर्यो। अनि आफ्नो तन्त्र सिक्ने इच्छा र कसरी यहाँसम्म आइपुगियो भन्ने कुरा दुई तीन सासमै भनिभ्यायो।

“भित्रै आऊ,” बाबैले भने र पछाडि सरे। 

आँखाबाट आँशु छचल्क्याउँदै ऊ भित्र पस्यो।

लामो यात्राले जति नै लखतरान भए पनि ऊ ज्युँदै थियो र उसको ज्यानमा गुरुसँग आँखा जुधेपछि त चार सय चालीस भोल्टको करेन्टको असर नै देखा परिसकेको थियो।

“केही शर्तहरु छन्,” उसलाई बस्ने एउटा चकटी दिँदै गुरु शुरु भए, “हुन त आजकल म तन्त्र सिकाउँदिन। बूढो पनि भएँ। कोही आउँदैनन् पनि अचेल त। जमाना जो फेरियो। अब तिमी त्यति टाढाबाट यस्तो हालतमा आइपुगेछौ। नाई भन्न सकेको छुइन।”

“म जस्तो सुकै शर्त मान्न पनि तयार छु,” केटाको मुखबाट सहजै फुत्कियो।

“एक वर्ष यो कुटी छोडेर अन्त जान पाइने छैन। मैले दिएको खाना मात्रै खानुपर्नेछ। जे दिए पनि खानुपर्नेछ। अनावश्यक सवाल गर्न पाइने छैन।
अनि मात्रै म तन्त्र सिकाउँछु। बोलो, मन्जुर ?” बाबैले सहजभावमा सोधे।

ज्यान मागे दिन तयार छु, उसले मनमनै आफैंलाई भन्यो, बाबै त खाना खानु पर्ने शर्त पो राख्छन् गाँठे।

“मन्जुर छ गुरु,” उसले दृढ आवाजमा भन्यो।

गुरु मुसुक्क मुस्कुराए। अनि भने, “भोकाएका होलाऊ। म खाना लगाइदिन्छु। खाना खाएर कुरा गरौंला।” 

गुरु उठे। अनि केही बेरमा एक थाल खानेकुरा र एक गिलास पानी ल्याएर उसको अगाडि राखिदिए। बाहिर धारामा हात धोएर ऊ शुरु भयो। अलिकती खाना खाएपछि पिएको एक घुट्की पानीले उसलाई उफ् गरायो। त्यो पानी नभएर शराब थियो। चुपचाप उसले दिइएको खाना र एक गिलास शराब सफाचट गर्यो। गुरुले छेउमा बसेर चुपचाप उसले खाना खाएको हेरिरहे। खाना खाएपछि के को गफ ? ऊ त एकातिर लुढ्कियो। 
रात छिप्पिसकेको थियो। गुरुले उसलाई सजिलोसँग सुताइदिए र आफू पनि सुते। 

भोलिपल्ट बिहान उठेर उसले धारामा नुहायो। गुरुले खाजा बनाए। उसलाई दिए र आफूले पनि हल्का लिए। आज गिलास हवात्तै प्यूँनू भन्दा पहिले उसले गिलासको त्यो पारदर्शी झोललाई एकफेरा सुँघ्यो। त्यो झोल शराब नै थियो। आक्कलझुक्कल शराब उसले पिएकै थियो। तर यो निकै कडा मिजाजको थियो। आरामसँग उसले गिलास सिनित्तै पार्यो। गुरुले अरु एक गिलास थपिदिए। नाक थुनेरै उसले दोस्रो गिलास पनि रित्यायो। 

केही बेरमा शौचालयमा उसले वाकेको सुनियो। गुरु केवल मुस्कुराए। दिनहरु एवमरितले बित्दै गए। हरेक खानासँगै शराबको प्यालाको आकार बढ्दै थियो। शुरुको महिना त केटाको छाद्नु र छेर्नुमा नै बित्यो। दोस्रो महिनाबाट केटो अलिक तङ्ग्रिन थाल्यो। गुरुले धूनमा बाल्ने आगो पनि क्रमशः ठूलोठूलो हुँदै गयो। 

६ महिनामा त केटो बोतलका बोतल खाली गर्न थाल्यो। एघार महिना बितेपछि एक मध्यरात कुटीको ढोका अचानक ढक्ढकियो। त्यसअघि त्यहाँ कोही पनि टप्किएको थिएन। शिष्यले ढोका उघार्यो। बाहिर एउटा घोड्सवार थियो। गुरु पनि ढोकामा आएर घोड्सवारलाई चिन्ने यत्नमा नियालेर हेर्न थाले। आगन्तुक तत्कालीन तिब्बती सम्राट थियो।

“धेरै पछि आज अचानक कसरी मेरो कुटीमा हजुरको सवारी भयो?” सम्राटलाई बस्ने ठाउँ सजिलो गराउँदै गुरुले सोधे।

“युद्ध सकेर शिकारमा निस्किएको नै भनुम् न अब,” बडा अनौठो लवजमा सम्राट बोल्यो र ठहाका लगाएर हाँस्यो। 
गुरुले पनि सम्राटलाई हाँसोमा साथ दिए। 

“यी युवक को हुन्? परार साल म आउँदा त यहाँ देखेको थिइँन नि?” सम्राटले चुपचाप बसिरहेको युवकतर्फ इशारा गरेर सोध्यो।

“यी मेरा अन्तिम शिष्य हुन्,” गुरुले बताए।

“अन्तिम शिष्य? कुनै खासियत्?” सम्राटले सोध्यो। 

“यिनी तन्त्र साधनाभ्यासको तयारी गर्दैछन्। अन्तिम भन्नाले अब म बूढो पनि भएकाले यिनीभन्दा पछि म कुनै शिष्य स्वीकार्दिन। अहिले भोरमा यिनले अग्नि प्रज्वलन गरेर आफ्नो साधना गर्नेछ्न्। जस अन्तर्गत एक घण्टामा दुई घैला शराब प्युँनेछन्। त्यसपछि एउटा खुट्टा टेकेर मूर्तिवत् एक घण्टा उभिनेछन्,” गुरुले भने। 

अनि उनले सम्राटलाई केही फलफूल टक्र्याए। साथमा थियो एउटा प्याला, जसमा उनले एउटा विशेष घ्याम्पोबाट आफैंले तयार गरेको औषधीय पारदर्शी शराब खन्याए। अनि आफूलाई पनि। 

“कुरा धेरै चाखलाग्दो नजर आयो। मलाई यिनको उक्त तन्त्रकला हेर्ने प्रबल इच्छा पनि जाग्यो,” सम्राटले प्याला उठाउँदै भन्यो।
केटो धूनमा आगो बाल्न थाल्यो। 

उसले दाउराहरुलाई बृत्ताकार मिलायो र लामो फू गरेर ज्वाला दन्कायो। अनि उठेर केही घैलाको सरसफाइ गर्न थाल्यो। अनि एउटा ठूलो ड्रमबाट उसले दुईवटा घ्याम्पामा शराब खन्यायो। एउटा घ्याम्पोमा अन्दाजी ५ माना शराब। धूना छेउमा सबै सामान ठीक गरेर ऊ ठिङ्ग उभियो र एक पटक गुरु र सम्राटलाई पालैपालो हेर्यो। 

सम्राट मानौं यस युवा तन्त्र साधकको अनौठो खेल हेर्न बडो उत्साहित भएको थियो। 

“मलाई माफ गर्नुहोला। म छिनभरमै आइहालेँ,” युवकले यसो भन्यो र फटाफट कुटीको अर्को कक्षमा दाखिला भयो। 

आफ्नो अन्तिम शिष्यले धून अगाडि बसेर शराब प्यूँन थाल्ने अपेक्षा गरिरहेका गुरु उसको यो ब्यवहारले चकित परे। उसले यस्तो त कहिल्यै गरेको थिएन। आज के भयो यसलाई? उनले मनमनै सोचे। अनि उनी चुपै बसे र उसलाई कुरिरहे।

एकछिनपछि केटो शान्त भावमा फर्कियो र धूनको दाउरा ठेलेर ज्वाला तेज गर्यो। हातमा एउटा घ्याम्पा बोकेर केही मन्त्र पढ्यो। र, लगातार घैलाको शराब तबसम्म पिइरह्यो जबसम्म त्यो रित्तिएन। अनि केही बेरको अन्तरालमा उसले दोस्रो घैला पनि उसैगरी सिनित्तै पार्यो। 

त्यसपछि बिना कुनै लड्खड् ऊ उठ्यो र एउटा खुट्टा मात्रै टेकेर सूर्य नमस्कार मुद्रामा उभियो। ऊ उभिरह्यो। सम्राट हेरेको हेर्यै भयो। त्यसरी उभिएर पनि बात चाहिँ मार्ने हुँदा गुरुले उसलाई एउटा कुरा नसोधिरहन सकेनन्।

“अघि हवन लग्न छोडेर किन एकछिन गायव भयौ तिमी ? यस्तो त तिमीले कहिल्यै गरेका थिएनौ,” गुरुले प्रेमपूर्वक सोधे।

“अहिलेसम्म मैले यो साधना केवल तपाईंको उपस्थितमा गरेको थिएँ। आज, तेस्रो ब्यक्तिको अगाडि शराब उसैगरी प्यूँन सक्दिन कि जस्तो लाग्यो। अनि भित्र गएर पहिले दुई घ्याम्पा सिनित्त पारेँ। सकिने रहेछ भन्ने भयो। मैले यहाँ अहिले पिएको त तेस्रो र चौथो घ्याम्पा पो थिए,” उसको नलर्बरिएको तर ओजपूर्ण यो जवाफ सुनेर सम्राट र गुरु दुवै चकित भए। अनि म पनि। 

तपाइँ नि ? 

(नोटः धेरैअघि ओशो प्रवचनमा सुनेको यो कथाको छाप मेरो अवचेतनमा गहिरो छ। आफ्ना दूरदराजका यात्राहरुमा मैले धेरैलाई यो कथा न्यारेट गरेको थिएँ। यो कथालाई यहाँ मैले अनुवाद होइन, पुनर्लेखन गरेको हुँ।) 

वैधानिक प्रावधान : शराब सेवन स्वास्थ्यको लागि हानिकारक छ।


तन्त्र कथाः तोङ्बा कुटी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट