PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एमाले माओवादी एकता कार्यदलले काम थाल्यो: राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी प्राथमिकतामा



पहिलोपोस्ट

एमाले माओवादी एकता कार्यदलले काम थाल्यो: राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी प्राथमिकतामा

पासाङ ठकुल्ला-

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले आजदेखि काम थालेको छ। 

पार्टी एकता र राष्ट्रियसभा सदस्य निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार सिंहदरवारमा कार्यदलको पहिलो बैठक बसेको हो। 

नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुभाष नेम्वाङले कार्यदलले आजदेखि आफ्नो काम थालेको प्रतिक्रिया दिए। 

एमाले माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको पुस २५ गते बसेको बैठकले पार्टी एकता,  सरकार गठन र राष्ट्रियसभा सदस्य निर्वाचनको गृहकार्य गर्न कार्यदल गठन गरेको थियो। भोलिपल्ट बिहान दुई दलका पार्टी अध्यक्षहरुले तत्काल काम सुरु गर्न कार्यदललाई निर्देशन दिएको थियो। 

'दुई पार्टीका अध्यक्षले गर्नुभएको ब्रिफिङलाई ध्यानमा राखेर कसरी अघि बढ्नेबारे छलफल गरेको छौँ,' उनले भने, 'त्यस सम्बन्धी सम्बद्ध कागजातको अध्ययन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छौँ।' 

उनले तत्काल गर्नुपर्ने कामहरुको आवश्यकता अनुसार कार्यदलले २४ घण्टा काम गरेर पनि  प्रतिवेदन बुझाउने तयारी गरेको बताए। नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकाले पहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा कार्यदल जुट्ने जानकारी दिए। 

कार्यदलमा एमालेबाट सुभाष नेम्वाङ,  शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादव सहभागी छन्।

सिंहदरवारमा आज बसेको कार्यदलको पहिलो बैठकमा भने नेकपा एमालेका शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell