PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

भारतीय विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेलको नेपाल भ्रमण किन राखियो गोप्य? यस्तो छ भित्री कारण



पहिलोपोस्ट

भारतीय विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेलको नेपाल भ्रमण किन राखियो गोप्य? यस्तो छ भित्री कारण

काठमाडौं : एक साताअघि भारतको विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेल नेपाल आएर फर्किएका छन्। उनले नेपालमा रहँदा परराष्ट्र सचिव शंकर बैरागी दाहाल र बाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेलार्इ भेट गरेका छन्। उनी विदेश मन्त्रालयअन्तर्गत नेपाल हेर्छन्। दलेल नेपाल आउनुको उद्देश्यलाई परराष्ट्र र बाणिज्य मन्त्रालयले गोप्य राखेको छ। उसले भ्रमणलाई नियमित मात्र बताइरहेको छ।

‘उहाँ नियमित भ्रमणमा नेपाल आउनुभएको हो’ परराष्ट्र मन्त्रालयका सहसचिव भृर्गु ढुंगानाले भने, ’कुनै एजेण्डा लिएर नेपाल आउनु भएको होइन।’

उनीसँगको भेटका बारेमा परराष्ट्र सचिव दाहाल र वाणिज्य सचिव घिमिरेले धेरै कुरा गर्न चाहेनन्। सचिव दाहालले आफूसँग कर्ट्सी भेटघाट मात्रै भएको बताए भने वाणिज्य सचिव घिमिरेले भेट भएको बारेमा बोल्नै चाहेनन्।

स्रोतका अनुसार दलेलले नेपालमा बसेर व्यापार गरिरहेका भारतीयको एजेण्डा लिएर नेपाल आएका हुन्। नेपालले साउन १ गतेदेखि एक्जिम कोड लिएकाले मात्रै आयात/निर्यात गर्न पाउने व्यवस्था गर्यो।

यो व्यवस्थापछि वर्षौदेखि नेपालमा बसेर व्यापार गरिरहेका भारतीय व्यापारी समस्यामा परे। आयात/निर्यात गर्नका लागि वाणिज्य विभागमा दर्ता हुनुपर्छ। विभागमा दर्ता गर्दा नागरिकता चाहिन्छ। पूरानो प्यान कार्ड र भ्याटका आधारमा आयात/निर्यात भइरहेको थियो। एक्जिम कोड लिँन वाणिज्य विभागमा दर्ता भएको हुनुपर्छ। केही भारतीय नागरिकले स्थानीय निकायमा दर्ता गरेर व्यवसाय गरिरहेका छन्। उनीहरुको आयात/निर्यातको दर्ता देखिदैन।यही कारण भारतीय नागरिकले एक्जिम कोड पाएका छैनन्।

स्रोतका अनुसार झण्डै चार हजार भारतीय व्यापारीले एक्जिम कोड लिन नपाएका कारण व्यापार गर्न अफ्ठ्यारो परेको छ। यही मुद्दा संबोधनका लागि दलेल नेपाल आएका थिए। तर परराष्ट्र मन्त्रालयले नियमित भ्रमण भनेपछि हामीले सोध्यौं- एक्जिम कोडको समस्या समाधानका लागि दलले आएका होइनन्?

ढुंगानाले जवाफ दिए-‘त्यो मुद्दामा पनि छलफल भएको हो। अरु नेपाल भारतका इस्युहरु पनि छन्।‘ दलेलले भारतबाट बोकेर आएको एजेण्डाका बारेमा परराष्ट्र र वाणिज्य मन्त्रालयबीच धारणा बाझिएको छ।

वाणिज्य मन्त्रालयले भने एक्जिम कोडको बारेमा कुनै कुरा नभएको र क्लिंकर आयातमा भएको कठिनार्इ सहजीकरण गर्ने एजेण्डा लिएर दलले आएको दाबी गरेको छ।

‘भारतीय भूमीमा क्लिंकर झार्न नदिएर समस्या भएको बारेमा मात्रै दलेलसँग छलफल भयो’ वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भने, हामीसँग एक्जिम कोडका बारेमा कुनै छलफल भएन।‘ तर एक्जिम कोडको मुद्दा अर्थमन्त्रालय र वाणिज्य मन्त्रालयसँग सम्वन्धित विषय हो। कुनै पनि व्यापार गर्नेले वाणिज्य विभागबाट कारोबारको अनुमति लिनुपर्छ।

एक्जिम अनुमति लिएपछि मात्रै त्यो फर्मले कारोबार गर्न पाउँछ। नेपाल आएका भारतीय सहसचिव दलेलले परराष्ट्रसँग एक्जिम कोडका बारेमा छलफल गर्ने तर वाणिज्यसँग किन गरेनन् ? अझ अर्थमन्त्रालयका अधिकारीसँग दलेलले भेटै गरेका छैनन्।

‘हामीसँग कुनै पनि भारतीय सहसचिवले भेटेका छैनन्। एक्जिम कोडको समस्याका कारण भारतीय व्यापारी समस्यामा परेको हो। यो धेरै वाणिज्यसँग सम्वन्धित विषय भएकाले उतै भेटेर फर्किएका हुन सक्छन्’ राजस्व सचिव शिशिर ढुंगानाले भने, भारतीय व्यापारीका लागि केही नीतिगत परिवर्तन आवश्यक देखिएको छ। त्यसका लागि हामीले छलफल गरिरहेका छौं।‘

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell