PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पोखरामा लागूऔषध कारोबारको डरलाग्दो अवस्था, टिनेजरदेखि पाकासम्म र विद्यार्थीदेखि उच्चघरानासम्म प्रयोगकर्ता



पहिलोपोस्ट

पोखरामा लागूऔषध कारोबारको डरलाग्दो अवस्था, टिनेजरदेखि पाकासम्म र विद्यार्थीदेखि उच्चघरानासम्म प्रयोगकर्ता

  • दिपक के श्रेष्ठ

पोखरा : पूर्वको काँकडभिट्टा, दक्षिणको रक्सौल र सुनौलीमात्र हैन पश्चिमको कृष्णनगरदेखि पोखरामा लागुऔषध भित्रिने गरेको छ। यतिमात्र हैन, उत्तरी भेगबाटसमेत ज्यानमारा ‘कालो’ पदार्थ महानगरमा आइपुग्छ।

पोखरामा भित्रिने यस्ता ड्रग्स लगभग सबै प्रकारका छन्। पोखरामा गाँजा, चरेस, ब्राउन सुगर, सुइजन्य लागुऔषध र औषधिजन्य ट्याब्लेटहरु बढी प्रयोग भएको पाइएको छ। गाँजा, चरेसजस्ता लागुपदार्थ उत्तरी क्षेत्र बागलुङ, म्याग्दी, पर्वतबाट आउने गरेको छ भने धादिङ र मकवानपुरको ग्रामीण भेगबाट समेत भित्रिने गरेको छ। यसभन्दा महँगा लागुपदार्थहरु नेपाल भारतबीचको दक्षिणी सीमाबाट पोखरा आइपुग्छ।

तीन प्रमुख राजमार्गसँग जोडिएको महानगर लागुऔषधका धन्दा गर्नेलाई स्वर्ग भएको छ। यसैपनि, नेपाल लागुपदार्थ उत्पादन र ओसारपसार गर्ने गोल्डेन ट्रयांगलको नजिक हुँदा कारोबारीहरुले यहाँको सहज उपयोग गरिरहेका छन्। पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्गलगायत अन्य भित्री बाटाहरु तस्करका रुट हुन्। विभिन्न मार्गबाट पोखरा भित्रिनेमात्र हैन, यहाँबाट राजधानी हुँदै बाह्य देसमा समेत लागुऔषध पुग्ने गरेको छ।

केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणअनुसार राजधानी र सुनसरीपछि कास्कीमा लागुऔषध दुर्व्यसनीको संख्या बढी छ। पछिल्लो समय महंगो मूल्य र विदेशीहरुले प्रयोग गर्ने एलएसडी नामक लागुऔषधसमेत पोखरामा पाइने गरेको छ। महिलाले लगाउने ठूलो टीकाको आकारमा पाइने एलएसडीलाई चार भागमा विभाजन गरी बेचबिखन गरिन्छ। यसको प्रयोग रेभ पार्टीमा हुने भएकाले यसको असर ३६ घण्टासम्म पर्न सक्छ।

पोखराका दुर्व्यसनीहरुले बढी प्रयोग गर्ने लागुऔषध सिरिञ्जमार्फत लिने गरेका छन्। फेनरागन, डाइजेपाम र नर्फिन मिसाएर बनाइने लागुऔषधमा दुर्व्यसनीकोहरुको आकर्षण छ। र, पोखराको समस्या नै यही हो। टिनेजर्सदेखि पाकासम्म र विद्यार्थीदेखि उच्चघरानाका व्यक्तिसमेत यसको प्रयोगकर्ता भएको पाइएको छ।

विभागको पछिल्लो तथ्यांकले नेपालमा ९१ हजार ५३४ जना दुर्व्यसनी रहेको जनाएको छ। जसमध्ये कास्कीमा ६ हजार ४१४ पुरुष र ५ सय महिला रहेका छन्। सर्वेक्षणलाई नै आधार मान्ने हो भने यसको वार्षिक वृद्धि दर ११ प्रतिशत छ। यो आंकडाले हालसम्म जिल्लामा ९ हजार बढी दुर्व्यसनी भएको देखाउँछ।

विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी पनि दुर्व्यसनी छन्। कास्कीमा कूल लागुऔषध प्रयोकर्तामध्ये ८२ प्रतिशत १३ देखि १९ वर्षका रहेको लागुऔषध नियन्त्रण ब्यूरो पोखराको रेकर्ड छ। कास्कीमा विद्यालय तहसम्म सरकारी र निजी गरी ६ सय ११ शिक्षण संस्था छन्। जहाँ १ लाख ४३ हजारको हाराहारीमा विद्यार्थी छन्। प्रतिशतलाई आधार मान्ने हो भने करिब ३६ हजार बढी विद्यार्थी लागुपदार्थको जोखिम समूहमा रहेको मान्न सकिन्छ।

कास्कीकै लागुऔषधको आपराधिक तथ्यांकलाई हेर्ने हो भने लगभग ६० प्रतिशत मुद्दा लागुऔषधसँग सम्बन्धित छ। त्यस्तै, जिल्ला कारागार कास्कीका थुनुवामध्ये ३० प्रतिशत लागुऔषध मुद्दामा सजाय काटिरहेका छन्।

पोखरा आफैमा पर्यटकीय नगरी भएको र बढ्दो शहरीकरणसँगै पश्चिमी संस्कृतिको प्रभावले दुर्व्यसनीको संख्यामा कमी नआएको ब्यूरोको ठहर छ। त्यस्तै, आर्थिक अवस्था, आवश्यक शिक्षाको कमी र लागुऔषधप्रतिको दृष्टिकोणले प्रयोगकर्ताको संख्यामा कमी आउन नसकेको बताउँछन् ब्यूरोका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ।

लागुऔषध प्रयोगकर्तामध्ये १३ प्रतिशतले सिरिञ्ज साटासाट गर्ने पाइएको छ। असुरक्षित सुई प्रयोगबाट एचआइभी, हेपाटाइटिस बी-सी तथा अन्य रगतजन्य रोग सर्ने सम्भावना रहन्छ। त्यस्तै, लागुऔषध प्रयोगकर्ताबाट हुने असुरक्षित यौनसम्पर्कले अन्य प्राणघातक रोग सर्न सक्ने ब्यूरोको अनुन्धानमा उल्लेख छ।

लागुऔषधको प्रयोगलाई एकैपटक नियन्त्रण गर्न नसकिने र प्रयोकर्तालाई तुरुन्तै सुधार्न नसकिने बाध्यता सरकार र सम्बन्धित निकाय दुबैलाई छ। शरिरमा लागुऔषधको मात्रा परेपछि एकैपटक छुटाउन खोज्दा त्यसको नकारात्मक असर पर्न सक्छ। यसको उपचार भनेको प्रयोकर्तालाई लागुऔषधको मात्रा कम दिँदै जानु हो।

‘लागुऔषध प्रयोग दुर्व्यसन नभइ रोग हो’ भन्ने मान्यता सरकारको छ। यही पक्षलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले प्रयोगकर्ताको पहिचान गरी मेथाडोन उपलब्ध गराउँदै आएको छ। पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले हरेक बिहान प्रयोगकर्तालाई मेथाडोन खुवाउँछ। यद्यपि, यो कार्यक्रम सफल हुन सकेको छैन। कतिपय दुर्व्यसनीहरु सहजरुपमा मेथाडोन उपलब्ध हुने भएपछि झनै नियमित सेवनकर्ता भएका छन्।

 

पार्सलमा ड्रग्स

लागुऔषध नियन्त्रणमा प्रहरी जति सक्रिय हुन्छ तस्करहरुको दिमाग उत्तिनै चल्छ। प्रहरी सक्रियतामा जति लागुऔषध समातिए त्यो संख्या पोखरा भित्रिएको तुलनामा अत्यन्तै न्यून हो। भारतीय सीमादेखि पोखरा ओसारपसार गर्नेहरु गाडी फेर्दै यात्रा गर्छन्। भने एउटा नाका कटेपछि अर्को नाका कटाउन मोटरसाइकल प्रयोग गर्छन्। ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्दा कतिले निजी सवारी साधन र कतिपयले ट्याक्सी प्रयोग गरी अघिपछि मोटरसाइकलले स्कर्टिङ गरेको प्रहरी अनुभव छ।

सार्वजनिक सवारीका चालक र सहयोगीसमेत ओसारपसारमा संलग्न हुँदा नियन्त्रण र पक्राउमा सम्बन्धित निकाय हायलकायल भएको छ। चरेस र ब्राउन सुगरको मूल्य धेरै हुने र यो सहजै लुकाएर ल्याउन सकिन्छ। प्रहरीले चेकजाँच गर्दा लागुऔषध कतै फालेर सुरक्षित हुन सजिलो भएकाले पनि यसको नियन्त्रणमा कमी आउन सकेको छैन।

चेकजाँचकोक्रममा बसको डिक्कीमा लागुऔषध भेटिने तर तस्करको पहिचान गर्न नसकिने समस्या प्रहरीको लागि सामान्यप्रायः भएको छ। भारतीय डिलरसँग सामान लिएर ओसारपसार र बिक्रीमा संलग्नहरुले हाल मनी ट्रान्सफरबाट पैसा पठाउने र पोखरामै पार्सलमार्फत सामान बुझ्ने नौलो शैली अपनाउने गरेका छन्। हालै विशेष सुराकीको सहयोगमा लागुऔषध र तस्कलाई पक्राउ गरेपछि यस्तो शैली अपनाएको भेट्दा ब्यूरो चकित परेको छ।

लागुऔषधका सेवनकर्ता कारोबारमासमेत संलग्न छ। केहिअघि पोखराका एक चिकित्सक यहि आरोपमा पक्राउ परेका थिए भने पोखराका एक व्यवसायी एवं राजनीतिज्ञका छोरासमेत कारोबारी र सेवनकर्ताको आरोपमा हाल प्रहरी हिरासतमा छन्। बालकदेखि अधवैशै र सडक बालबालिकादेखि समाजमा शान, मान भएकासम्म लागुऔषधको कारोबारमा छन्।

 

अविश्वसनीय तथ्यांक : निरीक्षक गुरुङ

केन्द्रीय तथ्यांक विभागले देसभर ८९ हजार दुर्व्यसनी भएको संख्या सार्वजनिक गर्दा पोखरा ६ हजार ९ सय भएको हिसाब निकाल्यो। २०६९ को सर्वेक्षण अनुसार निकालिएको यस तथ्यांकमा दुर्व्यसनीको संख्या वार्षिक ११.३६ प्रतिशतले बढ्दै गएको उल्लेख छ।

सो प्रतिशतको आधारमा हाल कास्कीमा ९ हजारको हाराहारीमा दुर्व्यसनी हुनुपर्छ। तर, यो सर्वेक्षण र प्रक्षेपणमाथि शंका गर्छन्, लागुऔषध नियन्त्रण ब्यूरो पोखराका निरीक्षक रविन्द्रमान गुरुङ।

निरीक्षक गुरुङले ब्यूरो सम्हालेको ३ वर्ष भइसक्यो। यसअघि उनी पोखराकै रामबजार वडा कार्यालयका प्रमुख थिए। यसक्षेत्रमा ५ वर्ष बिताइसकेको उनको अनुभवले पोखरामा दुर्व्यसनीको संख्या यतिबिघ्न पक्कै छैन। गुरुङ दाबीका साथ भन्छन्, ‘कि दुव्र्यसनीको संख्या ह्वात्तै घट्यो, कि त सर्वेक्षणको तथ्यांक नै गलत छ।’

सर्वेक्षणमा उल्लेखित संख्या हेर्ने हो भने पोखराका ३३ वडामा २ सय ५० को अनुपातमा दुर्व्यसनी हुनुपर्छ। तथ्यांक विभागले सर्वेक्षण गर्ने जिम्मा एनजीओलाई दिएकाले गुरुङको विश्लेषणमा यो संख्या ‘अविश्वसनीय’ छ। प्रहरी अपरेशन, निरन्तरको निगरानी, टोलटोलमा गठित आमा समूह र सामुदायिक प्रहरीको सक्रियताले पोखरामा हाल दुव्र्यसनीको संख्या मुस्किलले १ हजार ५ सय रहेको उनको अनुमान छ।

तर, पूनस्थापना केन्द्र गेटवे फाउण्डेसन कास्कीका कार्यक्रम संयोजक इश्वर गुरुङको भनाइलाई विश्वास गर्ने हो भने तथ्यांक विभागको संख्या मान्न करै लाग्छ। गुरुङका अनुसार कास्कीका दर्जन पूनस्थापना केन्द्रमा हाल ६ सयको हाराहारीमा लागुऔषध प्रयोगकर्ता सुधारिने बाटोमा छन्। यद्यपि, प्रयोकर्ताहरु सुध्रिने सम्भावना न्यून नै छ।

हालसम्म पूनस्थापनामा समय बिताएकामध्ये पचास प्रतिशत पूनः सोही धन्दामा लागेका छन्। केही समय उनीहरु सुध्रिएपनि अन्ततः लत छाड्न नसकेकाहरुको संख्यामा कमी छैन। यसर्थ, कास्कीमा तथ्यांक विभागको आँकडाअनुरुप ९ हजारकै हाराहारीमा दुव्र्यसनी छन्।

 

दैनिक कारोबार कति होला ?

०६९ कै तथ्यांकलाई हेर्दा पोखरामा ६ हजार ९ सय दुर्व्यसनी छन्। उनीहरुमध्ये प्रायः सिरिञ्जबाट लागुऔषध लिन्छन्। जसमा फेनरागन, डाइजेपाम र नर्फिनको सम्मिश्रण हुन्छ।

भारतीय बजारमा बढीमा ३ सय रुपैयाँ पर्ने सिंगल सटको मूल्य पोखरामा २ हजार रुपैयाँ छ। उल्लेखित सेवनकर्ताको ३० प्रतिशतले मात्रै प्रयोग गरे भने पनि त्यो संख्या २ हजार हुन्छ।

यसलाई हिसाब गर्दा दैनिक ४० लाख रुपैयाँको कारोबार हुने तथ्याँक निस्कन्छ। त्यस्तै, सेवनकोरुपमा लिइने गाँजा, चरेस र विभिन्न ट्याब्लेटको मूल्य सोही अनुसार कम र बढी हुने गरेको छ। उत्तरी भेगबाट आउने गाँजाको धुलो एक पुडियाको मूल्य ५ सय रुपैयाँमा बिक्री हुने गरेको पाइएको छ।

यसैगरी, ब्राउन सुगर पोखराका धनाढ्यले प्रयोग गर्ने र म्याजिक मसरुम र एलएसडीजस्ता लागुपदार्थका प्रयोगकर्ता बढी विदेसी छन्। यसरी लेखाजोखा गर्दा पोखरामा प्रतिदिन ठूलो धनराशी लागुपदार्थमा खर्च भइरहेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell