PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लेखनाथ साहित्य पुरस्कार डा. जगमान गुरुङलाई



पहिलोपोस्ट

लेखनाथ साहित्य पुरस्कार डा. जगमान गुरुङलाई

पोखरा: लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कार—२०७४ संस्कृतिकर्मी एवं साहित्यकार डा. जगमान गुरुङलाई प्रदान गरिने भएको छ।

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारद्वारा स्थापित पुरस्कारको राशि रु ५० हजार, ताम्रपत्र र दोसल्ला रहेको छ। नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत डा. गुरुङलाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिए।

कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका छवटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन्। प्रतिष्ठानका सल्लाहकार तथा पुरस्कार अक्षयकोषका अध्यक्ष डा. शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङको नाम सिफारिस गरेको हो। समितिमा प्रा. डा. रविलाल अधिकारी, डा. प्रतिभा पाण्डे, रमा शर्मा र सदस्य–सचिवमा कृष्णप्रसाद पौडेल रहेका थिए।

प्रतिष्ठानका अध्यक्ष ढकालले कवि शिरोमणि लेखनाथ पौडेलको १३४ औँ जन्मजयन्तीको अवसरमा पुस १५ गते कविको जन्मस्थल पोखरा लेखनाथ महानगरपालिका–७ अर्घौं अर्चलेमा आयोजना हुने बृहत् साहित्यिक समारोहमा प्रदान गरिने बताए।  

उक्त पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद्, प्रा. डा. वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डा. मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र प्रा. बालकृष्ण पोखरेल सम्मानित भइसकेका छन्। समारोहमा कवि शिरोमणिको जन्मजयन्तीको मूल समारोहमा विभिन्न शैक्षिक पुरस्कार र छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम छ।

कार्यक्रममा कवि शिरोमणिकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको नाममा स्थापना गरेको रु १० हजारको कुन्तीदेवी शिक्षा पुरस्कार र प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको रु पाँच हजारको चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयकी शिक्षिका ज्योत्सना जोशीलाई प्रदान गरिनेछ।

त्यसैगरी, रु पाँच हजारकै चन्द्रकान्त ढकाल पुरस्कार लिटिल स्टेप माविका टेकप्रसाद शर्मा काफ्लेलाई प्रदान गरिनेछ। यस्तै, जनही रु पाँच/पाँच हजारका मधुमाया ढकाल छात्रवृत्ति जनज्योति माविकी छात्रा मञ्जु गुरुङ र फणीन्द्रकुमारी ढकाल छात्रवृत्ति लक्ष्मी आदर्श माविका छात्र सन्तोष ढकाललाई प्रदान गरिनेछ। कवि शिरोमणि आधारभूत विद्यालयका जेहन्दार विद्यार्थीलाई रु १० हजार बराबरको छात्रवृत्ति पनि प्रदान गरिने भएको छ।

लेखनाथ साहित्य पुरस्कार, कुन्तीदेवी छात्रवृत्ति तथा शिक्षा पुरस्कारका लागि कवि शिरोमणि पौडेलको परिवारजनले रु १२ लाख एक हजार र पदमराज ढकालले रु एक लाख ७७७ गरी रु १३ लाख एक हजार ७७७ अक्षयकोषमा प्राप्त भएको अध्यक्ष डा. अधिकारीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell