PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सेलिब्रिटी ब्याङ्कर अनिल शाह अब कुन बैंकको सिइओ?



पहिलोपोस्ट

सेलिब्रिटी ब्याङ्कर अनिल शाह अब कुन बैंकको सिइओ?

काठमाडौं : पुस १७ गतेबाट हाजिर हुनेगरी नियुक्तिपत्र बुझेका अनिल शाह सेञ्चुरी कमर्सियल बैंक जाने विषय अनिश्चित बनेको छ। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार वर्षका लागि करार सम्झौता गरेका थिए।

सञ्चालक समितिले करारपत्रमा तोकेको तलब सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको तलबमा सेञ्चुरी जाने/नजाने अनिश्चित भएको हो। शाह भने सेन्चुरीको विकल्पमा नबिल बैंक जाने बाटो बनाइरहेका छन्।

शशिन जोशीले बैंक छाडेपछि नबिल खाली छ। 'यता तलब नमिलेको र उता पुरानो बैंक खाली भएका कारण शाह सेञ्चुरी नजाने सम्भावना नै बढी छ,' स्रोतले भन्यो, 'नबिलको सञ्चालक समितिले शाहलाई सकारात्मक रुपमै लिएको बुझिएको छ।'

सेञ्चुरीसँग शाहले मासिक १२ लाख बढी तलब सुविधाको सम्झौता गरेका थिए। राष्ट्र बैंकको तलब सुविधा सम्बन्धि निर्देशनले प्रमुख कार्यकारीलाई १२ लाख बढी तलब दिन सेञ्चुरीको वासलातको क्षमताले मिल्दैन। तलब घटेर ८/९ लाख रुपैयाँ हाराहरीमा आउँछ।

राष्ट्र बैंकको तलब सुविधा सम्बन्धि मार्गदर्शन विपरित किन बढी दिएको भन्दै सेञ्चुरी बैंकलाई पत्र लेखेको थियो। बैंकले आगामी वर्षहरुमा हुने नाफा र मर्जरपछि बढ्ने क्षमताका आधारमा तलब १२ लाखमाथि तोकिएको जनाएको छ।

राष्ट्र बैंकले भविष्यलाई हेरेर अहिले निर्णय गर्न नमिल्ने भनेपछि करारमा उल्लेख भएको तलब शाहले नपाउने भएका हुन्। यही कारण शाह सेञ्चुरी जाने बाटो टर्दै गएको हो। शाहले नबिल बैंकका लागि लबिङ गरिरहेको स्रोतको दावी छ।

शाहले नबिलबाटै करियर सुरु गरेका थिए। उनले त्यहाँ इन्टर्न गरेका थिए। त्यसपछि तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा गएका थिए। त्यहाँबाट नबिलमा महाप्रबन्धकका रुपमा भित्रिएका थिए। बैंकमा प्रमुख कार्यकारी हुँदै नेपाल बैंकमा आवेदन दिएका थिए तर त्यो प्रकृया खारेज भएपछि नैतिकताका आधारमा भन्दै उनले नबिल छाडेर मेगा बैंकको संस्थापक सिइओ बनेका थिए। मेगामा ८ वर्ष काम गरेपछि उनले बाहिरिने समयमा सेञ्चुरीमा चार वर्षका लागि करार सम्झौता गरेका हुन्।

शशिनले छाडेपछि नबिलमा अरु चार जनाको नाम पनि चर्चामा छ। तर, पछिल्लो समय बलियो गरी नाम शाहकै आएको छ। नबिल सञ्चालक समितिका सदस्य उपेन्द्र पौडेल, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, बैंकका पूर्व सञ्चालक कृष्ण शर्मा र पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको नाम चर्चामा छ।

यता मेगा बैंकले भने अनुपमा खुँजेलीलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने योजना बनाएको छ। यद्यपि, प्रमुख कार्यकारी अधिकृत छनौटका लागि भन्दै समिति भने बनाइसकेको छ। यसअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नभन्दै पनि समिति बनाएको थियो।

तीन महिना खुँजेलीको काम हेरेर पूर्ण सिइओको जिम्मेवारी दिने योजना सञ्चालक समितिको हो। शाहले छाडेपछि खुँजेली कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell