PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किन गरे सर्वोच्चका पूर्व न्यायाधीश उप्रेतीले आत्महत्या? 'सुसाइड नोट'मा छ यस्तो विवरण



किन गरे सर्वोच्चका पूर्व न्यायाधीश उप्रेतीले आत्महत्या? 'सुसाइड नोट'मा छ यस्तो विवरण

  • सरोज काफ्ले -
काठमाडौँ : सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन्। उनको शव आइतबार बिहान सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

'सिलिङ फ्यानमा नाइलनको पासो लगाएर आत्महत्या गरेको देखिन्छ,' महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी निरीक्षक नारायण रञ्जितकारले पहिलोपोस्टलाई भने, 'कतिखेर आत्महत्या गरेको भन्ने पोस्टमार्टमपछि मात्रै थाहा हुन्छ।' 

२०६५ सालमा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश नियुक्त उप्रेतीले ३० वर्षभन्दा लामो अवधि वकालत पेशामा थिए। उनले त्रिभुवन विश्वविद्यालयमा २१ वर्ष अध्यापन पनि गरेका थिए। 

परिवारका सदस्यले प्रहरीलाई खबर गरे लगत्तै बिहान ५:१० मा प्रहरी उनको घर ज्ञानेश्वर पुगेको थियो। सिलिङमा नाइलनको पासो लगाएको अवस्थामा उनको शव भेटियो भने सँगै उनले छाडेको सुसाइड नोट। 

किन गरे आत्महत्या?

उप्रेतीले सुसाइड नोटमा ‘चेम्बर प्राक्टिस’ रोकिएपछि आफूले आत्महत्या गरेको उल्लेख गरेका छन् । उनले सुसाइड नोटमा लेखेका छन्, ‘नेपाल बार एसोसिएसनले राष्ट्रिय सम्मेलन गरेर, चेम्बर प्राक्टिस रोक्यो । चेम्बर प्राक्टिस रोकिनु भनेको मेरा लागि मृत शरीर जस्तै हो । मैले जीवनमा पढाएँ, वकिल पेशा गरे, न्यायाधीश भएँ, अब थप गर्न केही रहेन, चेम्बर प्राक्टिस रोकिएपछि जिवित हुनुको कुनै अर्थ पनि भएन, त्यसैले देह त्याग गर्ने निर्णय गरें।'

अदालतमा उपस्थित नभई निजी रुपमा आफ्नो विचार दिएर कानुनी काउन्सिलिङ गर्ने अभ्यासलाई कानुनी भाषामा 'चेम्बर प्राक्टिस' भनिन्छ।

बार एसोसिएसनको गत चैतमा चितवनमा भएको १३ अौं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनपछिको 'चितवन घोषणापत्र'ले चेम्बर प्राक्टिसबारे यस्तो निर्णय गरेको थियो-

'काजकिरिया नगर्नू, पैसा भूकम्प पीडितलाई दिनू'

उनले सुसाइड नोटमा परिवारलाई तीन काम गर्न लगाएका छन्- पहिलो, आफ्नो बैंक खातामा भएको पाँच लाख रुपैयाँ भएको र त्यो रकम भूकम्प पीडितलाई पुग्ने गरी प्रधानमन्त्री उद्दार कोषमा जम्मा गर्न आग्रह।

दोस्रो, आफ्नो मृत शरीर वाग्मतीमा अन्त्येष्टि नगरी शिक्षण अस्पतालका विद्यार्थीलाई दिन ।

त्यसैगरी रितपूर्वक काजक्रिया नगर्न पनि उनले परिवारलाई भनेको उनका पेशागत साझेदारमध्येका एक शिव रेग्मीले जानकारी दिए। उप्रेतीले पायोनियर ल एसोसिएटमार्फत् वकालती पेशा गर्दै आएका थिए।

उनी सर्वोच्चमा अस्थायी न्यायाधीश नियुक्त भएपछि वकालती पेशा रोकिएको थियो। रेग्मी यही पायोनियर ल एसोसिएटमा साझेदार हुन्।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ पनि यही एसोसिएटमा साझेदार थिए।

उप्रेतीको शव अहिले शिक्षण अस्पताल पुर्या‍इएको छ। त्यहाँ न्यायाधीश र वकिल गरी दुई दर्जनभन्दा बढी पुगेका छन्। उप्रेतीले आत्महत्या गरेको परिवारले बिहान ४ बजे मात्रै थाहा पाएका थिए। उनको पहिलो तलामा बेड थियो। उनी त्यहाँबाट माथिल्लो तल्लामा गएर लिभिङ रुममा आत्महत्या गरेका थिए। उनको खल्तीमा सुसाइड नोट फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell