PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कथा : द किलर



कथा : द किलर

  • लिलाराज खतिवडा -

एक

कठेत काईंलो एक कन्ट्राक्ट किलर हो। पैसा लिएर मान्छे मार्नु उसको पेशा हो। र, सायद नियती पनि। नत्र किन कोही पैसाको लागि कसैको ज्यानै लिन ताम्सिन्छ?

मान्छे मार्न लिइने कन्ट्राक्ट र पैसालाई भारतमा सुपारी भनिए पनि नेपालीमा यसको कुनै खास शब्द भेटिएन। त्यसैले उक्त जरुरतलाई यस कथामा सुपारी शब्दले नै काम चलाइएको छ।  

बताउनेले उसको गुँड ठमेल बताए पनि कठेत काईंलो आफ्नो अड्डा बदलिरहन्छ। भेष बदल्न ऊ खप्पिस छ। अहिलेसम्म दर्जन बढी हत्या उसले गरिसकेको छ। तर पक्राउ परेको छैन। यस मामिलामा ऊ आफ्नै चतुर, चुस्त र चलाख दिमागलाई सेल्युट गर्छ। अब त पुलिस पनि ऊसँग डराउन थालेको छ। पछिल्लो पटक उसले पुलिसको एक बरिष्ठ अधिकारीको अज्ञात ब्यक्तिबाट सुपारी लिएर हत्या गरेको थियो। पुलिसले उक्त हत्या कठेत काईंलाले नै गरेको हो भन्ने पत्ता लगाए पनि कसैगरी उसलाई समात्न भने सकेको छैन। कठेत काईंलो अब मस्ट वान्टेड सूचीमा परेको छ।
मस्ट वान्टेड सूचीमा आफू परेको थाहा पाएर ऊ हललल्ल हाँसेको थियो। अनि आफ्नो केटालाई सोधेको थियो, “ए बिर्खे, भन् त पुलिसले मेरो टाउकाको दाम कति राखेको छ ?”

“पूरै पच्चिस लाख हुजुर,” उसको सिकुटे बिर्खेले फुर्के आवाजमा बताएको थियो। 

यो सुनेर कठेत काईंलो पुनः जोडजोडले हाँसेको थियो, “पूरै पच्चिस लाख ... हा.. हा... हा... ।”


दुई

जस्तै महँगो सुपारी दिनका लागि नै भए पनि कठेत काईंलालाई भेट्नु चानचुने काम थिएन। अब ऊ उपल्लो स्तरको क्रिमिनल कहलिसकेको थियो। भरपर्दो सुत्रबाट आएको सुपारी मात्रै धेरै बिचार गरेर ऊ लिने गर्थ्यो। त्यसो त आफ्नो अगाडि बसेको ग्राहकको अनुहार, भावभंगी र मन एकै झट्कामा पढ्न माहिर पनि थियो ऊ।

यसै क्रममा एक दिन,

निकै पापड बेलेपछि एउटी महिला कठेत काईंलालाई भेट्न सक्षम हुन्छे। एउटा विशेष सुत्रको मद्दतले ऊ किलरसम्म पुग्न सफल भएकी हुन्छे।
अत्यन्तै सुन्दर त्यस महिलालाई माथिदेखि तलसम्म नियालेर हेरेपछि कठेत काईंलो सोध्छ, “कसलाई ठोक्‍नु छ?”

नर्भस हुँदै महिला बोल्छे, “म..मेरी सौतालाई।”

“म आइमाई ठोक्दिनँ।”

“मतलब? हेर्दा त हट्टाकट्टा हुनुहुन्छ तपाईं?”

“कुरो उतापट्टि नबुझेर यतै बुझेको राम्रो, म्याडम्। यो मेरो पेशाको असुल हो। म बच्चा र आइमाईको हत्या गर्दिनँ।”

“त्यसो भए मेरो लोग्नेलाई ठोकिदिनुहोस्।” 

“किन? साह्रै दुःख दियो कि क्या हो कान्छी ल्याएर?”

“हो, साह्रै दुःख दियो। बरु मारेको चार्ज कति हो?”

“के पेशा गर्छ?”

“ब्यापारी हो।”

“ब्यापारी ठोकेको त महँगो पर्छ।”

“कति?”

“पचास पेटी।”

“हुन्छ। म दिन तयार छु।”

“कहिले ठोकिदिउँ?”

“भरे राति। शुभकाममा केको देरी?”

“लोग्ने मार्ने हो कि कुखुराको भाले? कम्तिमा बहत्तर घण्टा लाग्छ। पूरै पैसा सुरुमै दिनु पर्छ। ल्याको छ?”

“चेक चल्छ?”

“आफैँ साटेर दिने भए चल्छ। मस्ट वान्टेड हुँ, बैंकसैंकको लफडामा पर्न चाहन्न।”

“हुन्छ। म नै साटेर ल्याउँला।”

“ल्याउने होइन। मेरो केटाको हातमा पठाउने।”

“हुन्छ,” भनेर महिला आफ्नो पर्सबाट एउटा फोटो झिक्छे। फोटोको पछाडि केही लेख्छे। अनि उसलाई दिँदै भन्छे, “मेरो लोग्नेको नाम र ठेगाना लेखिदिएकी छु।” 

कठेत काईंलो त्यसलाई मनमनै पढ्छ, नामः श्याम थापा। ठेगानाः हिमालय अपार्टमेण्ट, चौथो तल्ला। फ्ल्याट नम्बरः १३। अनि सोध्छ, “फ्ल्याटमा अरु को को बस्छन्?”

“ऊ एक्लै बस्छ। उसकी कान्छी आजकल माइत गएकी छे, सिक्किम। म ऊसँग नबसेको हप्तौं भइसक्यो। काम राति गर्दा राम्रो हुन्छ। किनभने ऊ राति अबेरसम्म कम्प्युटर चलाएर बसेको हुन्छ। एउटा कुरा अझै सोध्न मन छ।”

“के हो, सोधिहाल्नुस्।”

“सुरुमै पैसा दिएपछि...काम हुने के ग्यारेण्टी?”

“उशूल। धन्दाको उशूल। शंका लागे अर्कै किलर खोजे हुन्छ।”

“होइन। होइन। त्यस्तो केही पनि होइन। तपाईंमाथि पूरा भरोसा छ, मलाई।”

सुनेर कठेत हल्का मुस्कुराउँछ। 

महिला जान्छे। किलरको केटो उसको पछिपछि लाग्छ। बैंक पुगेर ऊ पैसा निकाल्छे र बाहिर आएर केटालाई दिन्छे।
 

तीन

तीन दिनपछि,

हिमालय अपार्टमेण्ट, बुढानिलकण्ठ। रातको साढे दश बजिसकेको छ।

कठेत काईंलो ज्याकेटभित्रको लोडेड् पेस्तोललाई एकपटक छामेर बिल्डिङको पछाडि पुग्छ। उसले छालाको एउटा सानो झोला पनि भिरेको छ। सारा कुरा उसले पहिल्यै रेकी गरिसकेको हुन्छ। कुशल तरिकाले ऊ पर्खाल चढ्छ र चौथो तल्लामा पुग्छ। झ्यालबाट भित्र चियाउँछ। ट्यूबलाइटको दूधिया प्रकाशमा एउटा मान्छे कम्प्युटरमा घोत्लिएको प्रष्ट देखिन्छ। भित्र सुमधुर संगीत पनि बजिरहेको छ। रातको निःशब्दतामा उक्त संगीत उसको कानमा प्रष्टै ठोक्किन्छः आजै र राति के देखें सपना ... मै मरी गएको ...

कठेत काईंलो झ्यालबाहिर आफ्नो पोजिसन मिलाउँछ। एउटा डटपेन आकारको लीडकटर झिकेर झ्यालको सिसा काट्न थाल्छ। पेस्तोलको नाल छिराउन मिल्ने जति काटेर अबेर नगरी भित्र कम्प्युटरमा घोत्लिएको टाउकोमा निशाना साँध्छ।

डम्म लुगा लगाएको, टाउकोमा टोपी लगाएको मान्छे भित्र कम्प्युटरमा टाइप गरिरहेको छ। ऊ भित्तातिर फर्किएको छ।

अबेर नगरी कठेत काईंलो ट्रिगर दवाउँछ। पेस्तोलमा साइलेन्सर हालिएको हुँदा गोली मौनमा नै छुट्छ।

तर, भित्रको मान्छे ठीक त्यसैबेला दाँया हातले एउटा ब्रिफकेस टिपेर उठ्छ। टाउकोमा ताकिएको गोली ढाडमा लाग्न पुग्छ। ऊ अलिकति उछिटिएर ढल्छ र छटपटाउन थाल्छ। कठेत पुनः गोली वर्षाउँछ। यसपाली गोली उसको छातीमा लाग्छ। केही बेर छटपटाएर ऊ निस्तेज हुन्छ। भुइँमा रगतको भेल बग्छ।

दोस्रो गोली लाग्दा उसको टोपी एकातिर हुत्तिएको हुन्छ र टाउकोमा लामो कपाल फिँजिएको हुन्छ। उसको हातबाट ब्रिफकेस पनि उछिटिएको हुन्छ। यस क्रममा ब्रिफकेस खुलेको हुन्छ र त्यहाँबाट थुप्रै नोटहरु हावामा उडेका हुन्छन्। नोटहरुका बीचबाट एउटा कागज उड्दै आएर झ्यालनिर खसेको हुन्छ।

त्यहाँ केही लेखिएको पनि हुन्छ। अक्षरहरुले उसलाई तान्न खोजेको आभाष पनि हुन्छ।

कठेत छक्क पर्छ। उसलाई केही गडबडीको आशंका पनि हुन्छ। अनि झ्याल फोरेर भित्र घुस्छ। 

अरे? अचम्म? यो के हुन पुग्यो? 

माघको जाडोमा पनि उसको अनुहारमा पसिनाका दाना टप्किन्छन्।

आफैंले ढालेको पंछीको अनुहार देखेर कठेतको सास रोकिएला जस्तो हुन्छ। यो त्यही महिला थिई जसले उसलाई आफ्नो लोग्नेको हत्या गर्ने सुपारी दिएकी थिई। 

गल्ती मबाट हुन पुग्यो कि यो आइमाईबा? मनमनै यस्तो सोच्दै ऊ त्यो कागज उठाउँछ, जो अघि ब्रिफकेसबाट नोटहरुसँगै उछिटिएको हुन्छ।
त्यो पढेर कठेतको सास रोकिएला झैं हुन्छ। 

कागजमा लेखिएको छः “डियर किलर, अस्ति तिमीलाई लोग्ने मार्न सुपारी दिने म नै थिएँ। कृपया माफ गर, मलाई लोग्ने होइन, आफ्नै हत्या गराउनु थियो। र यदि, मैले यस्तो किन गरेँ भनेर जान्न मन लागे यो कम्प्युटरमा पढ्नू।”

कागज एकातिर हुत्याएर कठेत भुईंमा ढलेको पंछीको नाडी छाम्छ। तर त्यो रहस्यमय महिला निस्तेज भइसकेकी हुन्छे। कम्प्युटरमा बज्दै गरेको गीत पनि ठीक त्यसैबेला समाप्त हुन्छ।

जीवनमा हत्या त निकै गरेको हो कठेतले। तर, अहिले भने ऊ लुगलुग कामिरहेको छ। पसिनाले निथ्रुक्कै भिजेको पनि छ। त्यही हालतमा अब ऊ कम्प्युटरमा घोत्लिएको छ। जहाँ नेपालीमा यस्तो टाइप गरिएको छ :

“डियर किलर,
मेरो नाम श्यामा थापा हो। सर्वप्रथम त मैले तिमीसँग झूठ बोलेकोमा क्षमा चाहन्छु। के गर्नु, मान्छे विवश भएपछि उसले जे पनि सोच्न र गर्न सक्दो रहेछ। सायद यो नै नियती हो र यसलाई चुपचाप स्वीकार गर्नुबाहेक मेरो हकमा अरु कुनै उपाय नै थिएन।

म एक सम्पन्न परिवारमा जन्मे हुर्केकी हुँ। तर, हमेशा मेरो रुपले मलाई धोखा दियो। अति नै राम्री हुनु नै बारम्बार मेरो कसुर रह्यो। जब म सत्र वर्षकी थिएँ, मलाई मेरो राजनीतिज्ञ बुबाको साथीले बलात्कार गर्‍यो। डरत्रासले गर्दा त्यो घटना मैले कसैलाई पनि बताइन। पछि मेरो बिहे बुबाआमाले नै खोजेको केटासँग भयो। ऊ हामीभन्दा धेरै सम्पन्न थियो। साथीभाइ बोलाएर रातदिन रक्सी खानुपर्ने उसलाई। एकरात उसको एउटा साथीले मेरै बेडरुममा मलाई बलात्कार गर्न खोज्यो। त्यो थाहा पाएर पनि मेरो लोग्ने भनाउँदो दानवले प्रतिकार गरेन। 

बरु उल्टै उसको साथीलाई भन्यो, ‘मजाले गर्। धित मरुन्जेल गर्। तर मेरो त्यो दश मिलियन डलरको डिल स्यांक्सन गराइदे। कुरो बुझिस् नि?’
उसको साथीले मलाई ओल्टाइपल्टाई रातभर बलात्कार गर्यो। म लाश जस्ती हुन पुगेँ।

अर्को दिन म घरबाट भागेँ र चिनेजानेको एउटा उच्चपदस्थ पुलिस अफिसरकहाँ पुगेँ। अनि अघिल्लो रातको सबै कुरा बताएँ। 

तर, त्यस दानवले पनि मलाई बलात्कार गर्यो। मलाई नराम्रोसँग ब्लीडिङ भइरहेको थियो। अब म बहुलाही जस्ती हुन पुगेँ। चारैतिर अन्धकार बाहेक केही देख्न छोडेँ। मलाई आत्महत्या गर्ने सोचहरु वर्षाको भेल झैं उर्लिन थाले। त्यसै बेला मैले अखबारमा तिम्रो बारेमा पढ्न पुगेँ। अनि मनमनै एउटा खुंखार योजना बनाएँ। र, अनेक प्रयास गरेर तिमीसमक्ष पुगेँ।

अहिले म मरिसकेकी छु तिम्रो गोली खाएर। तर, डियर किलर, यदि तिमीलाई ममाथि अलिकति मात्रै पनि दया जागेको भए मेरो एउटा काम गरिदेउ...

त्यो के भने, मलाई बलात्कार गर्ने सबैलाई मारिदेउ। अनि मेरो लोग्नेलाई पनि। म यहाँ ती राक्षसहरुको डिटेल दिइरहेकी छुः

१, राघव यादव, जसले मलाई सत्र वर्षकी हुँदा बलात्कार गरेर मेरो निधारमा अपशकुन र दुर्भाग्यको दाग पोतेको थियो। नाम सुनेर थाहा भयो होला यो राक्षस अहिले गृह मन्त्री छ।

२, सुवास राणा, मेरो लोग्नेको साथी। जसले मलाई मेरै बेडरुममा रातभर बलात्कार गरेको थियो। यो शैतान अहिले चन्द्रमा बैंकको म्यानेजर छ।

३, रामकुमार ओझा, पुलिसको एसपी जसले म जस्ती घायल र विक्षिप्त अवलालाई न्याय दिनुको सट्टा बलात्कार गरेर ज्यूँदो लाश बनाएको थियो। 

४, मेरो लोग्ने शोभित थापा। जो कि एउटा श्वेतपोश अपराधी हो।

डियर किलर,
तिमीलाई यी हत्याहरु गर्न मनग्ये पैसाको जरुरत पर्नेछ भनेर मैले यहाँ ब्ल्याङ्क चेक पनि छाडेकी छु। यो अपार्टमेण्ट मैले पछिल्लो समय मेरो लोग्ने र उसका गुण्डाहरुबाट बच्नको लागि लिएकी थिएँ। यसको बारेमा मलाई चिन्ने कसैलाई पनि थाहा छैन। ती दानवहरुको हत्या गर्ने शिलशिलामा तिमीले यसलाई उपयोग पनि गर्न सक्नेछौ।

अन्त्यमा कृपया मेरो एउटा अन्तिम इच्छा स्वीकारी देउ। यी चारै जना राक्षसहरुलाई नमारुन्जेल मेरो लाशलाई यहाँ बाथरुममा नै राखिदेउ। मैले बाथटवमा लाश सड्न नदिने केमिकल भरेर राखेकी छु। मेरो लाशलाई त्यहाँ डुवाएर राखिदेउ। सबैलाई मारेपछि, सक्छौ भने आर्यघाट लगेर आफ्नै हातले मेरो लाशलाई दागबत्ती दिनू। अनि मेरो आत्मा मुक्त हुनेछ। तिम्रो लाखलाख कल्याण हुने छ। अलबिदा डियर किलर।”

चिठी पढिसकेपछि कठेत काईंलाका आँखा टिलपिलाउँछन्। एउटा किलरका आँखामा आँशु टिलपिलाएको दृश्य हेर्न लायक हुन्छ।

लाशतिर हेरेर कठेत बड्बडाउँछ, “मूर्ख आइमाई, पहिल्यै यो सब भनेको भए पनि त हुन्थ्यो नि। आँफैलाई किन ठोकाउनु परेको थियो? म यी सबैलाई छानीछानी मारिहाल्थें नि। अब मैले यिनलाई मारेको तैंले कसरी देख्छेस्?”

कठेत कोठामा चारैतिर हेर्छ। अनि लाश बोकेर बाथरुम छिर्छ। नभन्दै बाथटवमा हरियो रंगको झोल भरिएको हुन्छ। ऊ बिस्तारै लाशलाई त्यहाँ डुबाइदिन्छ।

अनि लाशको अनुहारमा हेर्दै मुठी कसेर शपथ खाएको शैलीमा भावुक भएर भन्छ, “तिमीमाथि ठूलो अन्याय भएको रहेछ। म तिमीलाई न्याय
दिलाएरै छाड्ने छु बहिनी। तिमीलाई यो मेरो बचन भयो।”
 

चार 

एक हप्ताभित्रमा नै कठेत काईंलाले पालैपालो रामकुमार, सुवास र राघवको हत्या गरिभ्याउँछ। यसबीच ऊ भित्र एउटा जुनुन सवार भए जस्तो लाग्छ। र, उसको चेहराको नूर पनि निकै तेज भएको हुन्छ।

गृह मन्त्री लगायत अन्य भिआइपीहरुको हत्या भएकोमा शहरको सुरक्षा ब्यवस्था लठारामा गाँठा कसिएसरह भएको हुन्छ।

कठेतलाई अब चौथो मान्छे फेला पार्नु पर्ने हुन्छ : श्यामाको लोग्ने अर्थात शोभित थापा। तर कसै गरी यो नामको मान्छे फेला परेको हुँदैन। श्यामाले दिएको डिटेलका आधारमा खोज्दा त्यस्तो मान्छे कुनै हालतमा पनि फेला पर्दैन। ऊ तिलमिलाइरहेको हुन्छ।

दिनभरीको खोजतलाश सकेर ऊ श्यामाको अपार्टमेण्टमा पुग्छ। बाथरुम छिर्छ। वाथटवमा श्यामाको लाश उसै गरी सुतिरहेको छ। लाशमा तब्दिल भएपनि हरियो झोलभित्र श्यामाको अनुहार उस्तै सुन्दर देखिन्छ। 

कठेत श्यामाको अनुहार नियाल्दै भन्छ, “म खोजेरै छाड्ने छु बहिनी त्यस पापीलाई। तिमी चिन्ता नगर। म त्यसलाई तड्पाइ तड्पाइ मारिदिने छु।”

“सक्ने छैनस् तैंले,” अचानक त्यहाँ पुरुष स्वरको यो आवाज सुनेर कठेत झस्किन पुग्छ। 

कठेत बिजुलीको रफ्तारमा ज्याकेटको खल्तीबाट पेस्तोल झिकेर सम्हालिन खोज्छ। तर त्यसै बेला उसको टाउकोमा पछाडिबाट एउटा जोडदार प्रहार हुन्छ। ढुन्मुनिँदै ऊ श्यामाको लाशमाथि पछारिन्छ। बाथटवको हरियो झोल छप्ल्यांग यत्रतत्र छचल्किन पुग्छ।
 

पाँच

सुस्तरी आँखा खोल्छ कठेत। उसको टाउकाको पछिल्तिर तिखो दर्द भइरहेको छ। घिच्चुकमा रगत बगिरहेको छ। उसका हात खुट्टा बाँधिएका छन्। र, आँखा खोल्दा त्यहाँ ऊ जे देख्छ, देखेपछि उसलाई लाग्छ कि उसको दुनियाँ बिस्तारै जमिन मुनि खस्किरहेको छ।

उसको सामुन्ने हुन्छे, त्यही श्यामा। र श्यामाका साथमा हुन्छ, शुक्रे। उनीहरु कुटिल नजरले आफ्ना ओठहरुमा कटाक्षपूर्ण हल्का मुस्कान फिँजाएर घायल पंछी जस्तै छट्पटाइरहेको कठेत काईंलालाई हेरिरहेका हुन्छन्। 

शुक्रेले श्यामाको हात स्नेहपूर्वक समाउँदै कठेतलाई भन्छ, “कस्तो लागिरहेको छ, तँ धोखेबाजलाई अहिले ?”

कठेत फड्फडाउँदै प्रश्नवाचक भावमा भन्छ, “नराम्रोसँग फँसाइस्, घामड् तैंले मलाई?” 

शुक्रेको शुष्क तर कठोर आवाज आउँछ, “याद गर त्यो रात, जहाँ तैँले मलाई फँसाएको थिइस्। तैंले त निकै आसानीसँग मलाई खल्लास् गरेको थिइस्। तर, मैले बहुत दिमाग र पैसा खर्च गर्नु पर्यो तँ अनपढ्लाई खल्लास् गर्न। मेरा हर कदमहरु वेल प्लान्ड थिए। र, साला, तँलाई मैले आखिर यस्तरी खल्लास् गरिदिएँ कि उठ्दा उठ्दै तेरो जिन्दगी नै खल्लास् भइसक्नेछ। याद छ होइन तँलाई त्यो रात ...? कि बिर्सिस् हँ, कठेत?”

पन्ध्र वर्षअघि।
कठेत काईंलो र शुक्रे मिझार गाउँबाट राजधानी आउँछन्। उनीहरु बालसखा हुन्। यसअघि इटहरीमा उनीहरु दुवै पाकेट मार्थे। राजधानीमा पनि उनीहरुले पाकेटमार्ने र चोर्ने जस्ता कामहरुलाई निरन्तरता दिए। क्रमसँगै उनीहरुले अन्जाम दिने अपराधको स्वरुप बदलिँदै र आकार बढ्दै गएको थियो। अब उनीहरु लुटपाट र हिंसाको सहारा पनि लिन थालिसकेका थिए। 

बालसखा भए पनि अपराधको दुनियामा काम गर्ने भएकाले उनीहरु भित्रभित्रै एक अर्कासँग जल्थे। चिढिन्थे। भरिसक्य धन्दा एक्लै गर्न पाए हुन्थ्यो भन्ने सोच हुन्थ्यो दुवैको। तर पनि कतिपय बाध्यता, परिस्थिति र असुरक्षाको मारले गर्दा उनीहरु छुट्टिन पनि सकिरहेका थिएनन्।

एकरात, एउटा निकै धनाड्य मान्छेलाई पोख्ता योजना बनाएर उनीहरु लुट्न गए। लूटपाटको शिलशिलामा शुक्रेको हातबाट उक्त मान्छेको हत्या हुन पुग्यो। पलभरमा नै अथाह सम्पत्ति लिएर उनीहरु फरार भए। हत्या गर्दा शुक्रेको जीउभरी रगत लागेको थियो। सोनाचाँदी र नगदको बोरा कठेतले बोकेको थियो। एउटा सार्वजनिक धारोमा शुक्रेले रगत पखाल्ने बिचार गरयो। त्यही मौकामा कठेत सारा लुटको माल लिएर फरार हुन पुग्यो। फरार मात्रै होइन, उसले पुलिसलाई फोन गरेर शुक्रेको गोप्य ठेगाना पनि बताइदियो। 

खासमा शुक्रेलाई फसाउने मनासय उसले पहिल्यै तय गरेको थियो। त्यसैले कठेतले शुक्रेको नागरिकता घटनास्थलमा खुसुक्क खसालिदिएको थियो।

फलस्वरुप, शुक्रे पक्राउ पर्यो। र, अपराध सावित भएपछि उसलाई जन्म कैद भयो। कठेतलाई आफ्नो अंगमा चुभेको एउटा काँडो हमेसाका लागि झिकेर मिल्काए जस्तै भयो।

शुक्रे जेल परेपछि अन्य केटाहरुलाई भाडामा लिएर कठेतले आपराधिक कृयाकलापलाई निरन्तरता दिँदै गयो। 

जेलमा शुक्रेको अन्य खुंखार अपराधीहरुसँग भेट भयो। उसले आफ्नो साथीले नै आफूलाई फसाएको बतायो। सबैले ऊमाथि सहानुभुति देखाए। एक दिन जेलका केही कैदीले भाग्ने योजना बनाए। त्यसमा शुक्रेले पनि मौका पायो। जेल परेको दुई वर्षपछि शुक्रे झन् खुंखार अपराधी भएर बाहिर आयो। तर नेपालमा बस्नु खतरनाक हुने हुँदा जेलबाट भागेका सबै भारतको मुम्बई पुगे र त्यहीँ अपराध गर्न थाले। 

हेर्दाहेर्दै शुक्रेले अथाह पैसा कमायो। समयको रफ्तारसँगै ग्यांङमा अब ऊ शोभित थापाका नामले कुख्यात हुन पुग्यो। यसैबीच एकदिन उसले अखबारमा कठेत काईंलाको बारेमा पढ्न पुग्यो। नेपालको प्रहरीले उसलाई मस्ट वान्टेड लिस्टमा राखेको पनि उसले थाहा पायो।

एक दिन शुक्रेको ग्याङलाई नेपालका तीनजना भिआइपीहरुको छुट्टाछुट्टै हत्या गर्ने सुपारी आयो। अचानक उसको दिमागमा एउटा खतरनाक योजना सल्बलाउन थाल्यो। अनि उसले तिनै जनालाई टप्काउने सुपारी आफ्नो पोल्टामा पार्यो। 

र, उनीहरुकै ग्याङमा काम गर्ने श्यामा नामकी युवतीलाई लिएर नेपाल फर्कियो। श्यामा खासमा नायिका बन्न चितवनबाट पाँच वर्षअघि मुम्बई पुगेकी थिई। तर, बलिउडमा काम पाउन त्यति सजिलो थिएन। अनि मल्टिपल सेक्स पार्टनर र ड्रगको चपेटामा पर्दै ऊ अपराधीहरुको चंगुलमा फँस्न पुगी र त्यसै दुनियाँमा रमाउन समेत थाली। यी सब कुराहरुका बावजूद, श्यामा आफ्नो नाम जस्तै कालो वर्णकी सुन्दरी थिई।

यता, शुक्रेले उसले मुम्बईबाट श्यामा जस्तै मस्कुलिन रोबोट पनि मगायो। अपराधको दुनियाँमा निकै माथि पुगिसकेको उसले विज्ञान, प्रविधि र पैसाको सटिक प्रयोग गर्न भ्याएको थियो। 

शुक्रेले कठेतको तत्कालीन अड्डा पत्ता लगायो र श्यामालाई आफ्नो बल्छीको गड्यौंला बनाएर त्यहाँ पठायो। श्यामाले कठेतलाई त्यहाँ आफ्नी सौताको हत्या गराउन चाहेको बताएकी थिई। अनि जब उसले आइमाई नमार्ने आफ्नो उशूल बतायो, श्यामाले तत्काल आफ्नो योजना बदलेकी थिई र लोग्नेको हत्याको सुपारी थमाएर फर्किएकी थिई। 

हत्या हुने रात डम्म लुगा लगाएर कम्प्युटर चलाइरहने त्यही रोबोट थियो। र, रोबोटमा रेडार सेन्सर जडित एउटा निश्चित प्रोग्राम हालिएको थियो।
 

“यसरी मैले योजनाबद्ध तरिकाले एउटै गोलीबाट कैयौं शिकार भ्याएँ। तेरो हातबाट कलात्मक ढंगले ती तिन जनाको हत्या पनि गराएँ जसको महँगो सुपारी मैले लिएको थिएँ। अनि मैले निकै कम खर्चमा तेरो हातबाट ती हत्याहरु फत्ते गराएँ,” शुक्रे आफ्नो अगाडि निरिह बनेर छट्पटाइरहेको कठेतका आँखामा गढेर हेर्दै भन्छ, “तँलाई श्यामाको झूठो कहानीको भावनामा जाकेँ। श्यामाको डमी रोबोटको पोल खुल्छ भनेर त्यसलाई बाथटवमा राख्न लगाएँ। अनि तँ फँस्दै गइस् ... फँस्दै गइस् .... हा... हा...हा...।”

बन्धनभित्र कठेत एकपटक छट्पटाउँछ। र दाह्रा किट्दै केवल एउटा शब्द ओकल्छ, “शैतान।”

“यस खेलको शुरुआत त तैँले गरेको थिइस्। मैले त केवल त्यस घिनलाग्दो खेलको पटापेक्ष मात्रै गरेको हुँ। शैतान चाहिँ को हो त्यसको निर्णय परमात्माकै पोल्टामा छाडिदिउँ। अबको केही बेरमा नै यहाँ पुलिस आइपुग्नेछ र काठमाडौंको मोस्ट वान्टेड कन्ट्राक्ट किलरलाई गिरफ्तार गरेर लैजाने छ। गुड बाइ, मिस्टर कठेत काईंला। अब जेलमा सड्ने पालो तेरो।” शुक्रे अट्टहास लगाउँदै भन्छ। 

उसको भनाई सकिँदा श्यामाका ओठहरुमा सफलतामिश्रित ब्यंग्यले भरपूर मुस्कान नाच्छ।

अनि उनीहरु बाथरुमको रोबोट फोल्ड गरेर झोलामा कोच्दै बाहिरिन्छन्। जाँदाजाँदै श्यामाले कम्प्युटरको हार्डडिस्क समेत झिक्न भ्याउँछे। 
कठेत चिच्याउँछ। छटपटाउँछ। तर बन्धन खोल्न सक्दैन। 

केही बेरमा नै पुलिसहरु आउँछन् र कठेतलाई समातेर लैजान्छन्। सारा मिडियामा खबर छाउँछ : प्रहरीको अथक प्रयासले कुख्यात कन्ट्राक्ट किलर कठेत काईंलो गिरफ्तार।

उसलाई गिरफ्तार गर्ने पुलिसहरुको बढुवा हुन्छ। शुक्रे मिझार उर्फ शोभित थापा र श्यामा रातारात भारत पुग्छन् र पुनः आफ्नो ग्याङमा सामेल हुन्छन्। 
समाप्त।

* (डिस्क्लेमर : घटना र पात्रहरु काल्पनिक हुन्।) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell