PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दाँतको उपचारका क्रममा विरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले शव बुझेनन्



चन्द्रकान्त खनाल

दाँतको उपचारका क्रममा विरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले शव बुझेनन्

रुपन्देही: गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यु  भएपछि तनाव भएको छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन्।

मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिजाको पिप निकाल्ने क्रममा मृत्यु भएको हो।  अस्पतालले पहिले पनि यस्ता लापरबाही गरेको भन्दै दोषीलाई कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन्।

सामान्य दाँत दुखेर अस्पताल पुगेका अर्याललाई डाक्टरले पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेशन गरेको तर अप्रेशनपछि होस नखुलेको मृतकका आफन्त बुद्धि गौतमले बताए।

‘दाँत दुखेर दिउँसो २ बजे अस्पताल पुगेका थियौँ। अप्रेशन गरेर पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेशन गरेको हो।’ उनले भने, ‘तर अप्रेशनपछि उहाँको होस खुलेन।’

डक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप छ। ‘तपाईँहरुले सक्नु हुन्न भने हामी बाहिर लैजान्छौँ भनेको हो, तर यहाँ हुन्छ भनेर उपचार गरेका हुन’ गौतमले भने, ‘इन्फेक्सन भएकोलाई कम्तीमा २४ घण्टा एण्टीबायोटिक दिएपछि मात्र चिरफार गर्नु पर्नेमा त्यो नगरेर डाक्टरले लापरबाही गरे।’

अर्यालको मृत्युपछि उनका २१ वर्षीय छोरा अस्पतालमै बेहोस छन्। लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन्।

अस्पत्तालका डाक्टर याम भुजेलले अर्यालको मृत्यु भएको बताए पनि घटनाका कारणबारे थप बोल्न मानेनन्।

 

यसअघि नै उजुरी

केही समय पहिले गुल्मी हस्तीचौरका एक विरामीको मृत्यु भएपछि आफन्तले अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका थिए। तर, उजुरी छानविनको कुनै पनि प्रक्रिया अघि बढेको थिएन।

तत्कालीन प्रमुख जिल्ला अधिकारी समेतको मिलेमतोमा घटना गुपचुपमै मिलाइएको आरोप अस्पतालमाथि लाग्दै आएको थियो। अर्खलेकी एक गर्भवती महिलाको पनि चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाइए पनि घटना राजनीतिक दबावका कारण गुपचुप राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell