PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बजाजको डिस्कभर नेपालमै उत्पादन, पल्सर बाइक पनि बन्ने



पहिलोपोस्ट

बजाजको डिस्कभर नेपालमै उत्पादन, पल्सर बाइक पनि बन्ने

काठमाडौं : गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा स्थापना गरेको मोटरसाइकलको एसेम्बल्ड प्लान्टबाट ‘बाइक’ उत्पादन सुरु भएको छ।

यस प्लान्टबाट १ सय २५ सीसीको बजाज डिस्कभरको उत्पादन सुरु भएको हो। अहिले बिक्री भइरहेको बजाज डिस्कभर बाइक नेपालमै उत्पादन भएको हो। ‘हामीले नेपालमै मोटरसाइकल उत्पादन सुरु गरिसकेका छौं। अहिले नेपालमा बिक्री भइरहेको डिस्कभर बाइक यही एसेम्बल्ड भएको बाइक हो,’ समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, 'अहिले दैनिक २५ देखि ३० वटा डिस्कभर बाइक उत्पादन भइरहेको छ।‘

७५ करोडको लागतमा स्थापना भएको यो प्लान्टबाट नेपालमा धेरै बिक्री हुने पल्सर बाइक समेत उत्पादनको लक्ष्य रहेको छ। यो प्लान्टबाट प्लाटिना र १ सय ५० सीसीको पल्सर मोटरसाइकल उत्पादन गरिने समूहले जनायो। नेपालमा बढी बिक्री हुने पल्सर भने केही पछि मात्रै उत्पादन हुने उनले बताए। ‘पल्सर बाइकको उत्पादन सुरु गर्नुअघि धेरै कुरा सिक्न बाँकी छ,’ गोल्छाले भने, 'अहिले हामीले नेपालमै एसेम्बल्ड प्लान्टलार्इ दिगो बनाउन आवश्यक छ।‘

उनका अनुसार बाइक उत्पादनकै लागि नयाँ प्लान्टका लागि मेशिनरी आउँदैछ। ‘हामी एसेम्बल्ड प्लान्टलार्इ विस्तार गर्दैछौ र त्यसका लागि नयाँ प्लान्ट लाग्नेछ,’ गोल्छाले भने। उनले अटोमोबाइल उद्योगमा ठूलो लगानी हुने भएकोले प्रतिफल समेत तत्कालै आउने सम्भावना कम हुने भएकोले सरकारले समेत नीतिगत रुपमा केही सहुलियत दिन आवश्यक रहेको बताए।

उनले नेपालमै एसेम्बल्ड प्लान्ट राख्नुको अर्थ बाइक बिक्री मात्रै नभएर रोजगारी र अर्थतन्त्रलार्इ समेत फराकिलो बनाउनका लागि भएको बताए। ‘हामीले बाइकको एसेम्बल्ड प्लान्ट राख्नुको अर्थ बिक्रीको मात्रै उद्देश्य राखेका होइनौं। यसले दिने रोजगारी र अर्थतन्त्रलार्इ पार्ने होलिस्टिक एप्रोजलार्इ हेरेर प्लान्ट राखेका हौ,’ गोल्छाले भने, 'हाम्रो उद्देश्य अनुसार सरकारले नीतिगत तहमा पनि सुधार गर्न आवश्यक छ।‘

बाइकको एसेम्बल्ड प्लान्टसँगै अरु धेरै एनसिलरी (सहायक)उद्योगहरु पनि स्थापना हुन्छन्। बाइकका लागि आवश्यक पर्ने प्लास्टिक मोडलिङ गर्ने उद्योग, टायर उद्योगसँगै अन्य धेरै बाइकलार्इ आवश्यक पर्ने उद्योगहरु स्थापना हुने भएकोले नीतिगत सुधार भने आवश्यक रहेको गोल्छाले बताए। प्लान्टबाट वार्षिक १८ हजार मोटरसाइकल उत्पादनको लक्ष्य राखेको छ। समूहले एसेम्बल्ड प्लान्ट हुँदै मोटरसाइकल उत्पादनसम्मको लक्ष्य राखेको छ। यो प्लान्टमा आवश्यक पर्ने महाप्रवन्धक, उत्पादन प्रबन्धक, मानव संशाधन प्रबन्धक र अदक्ष गरेर झन्डै ६७ जना कर्मचारी छन्। 

प्लान्टमा आवश्यक पर्ने एसेम्ब्ली अपरेशन एन्ड क्वालिटी इन्स्पेक्टर ३, एसेम्बल्ली अपरेटर ४०, लजिस्टिक अफिसर १ र  १९ जना अदक्ष कामदार छन् ।कम्पनीको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ। नेपालमा स्थापना भएको मोटरसाइकलको दोस्रो एसेम्बल्ड प्लान्ट हो। यसअघि चिनियाँ कम्पनी अन्ना लिफानले नेपालमा एसेम्बल्ड प्लान्ट स्थापना गरेको थियो, जुन अहिले बन्द भइसकेको छ।
 
गोल्छा समूहको सवारी साधन एसेम्बल्ड गर्ने दोस्रो प्लान्ट हो। विराटनगरमा रहेको पहिलो प्लान्टबाट मुस्ताङ गाडी उत्पादन हुने गरेको थियो। बजार नपाएपछि मुस्ताङको प्लान्ट बन्द भएको छ। बजाजका पल्सर, एभेन्जर डिस्कभर, प्लाटिना लगायतका मोटरसाइकल बिक्री हुँदै आएका छन्।

मूल्य किन घटेन?

स्वदेशमै डिस्कभर बाइक उत्पादन भएपनि मूल्य किन घटेन्?’
'निश्चय पनि नेपालमै बाइक उत्पादन भएपछि मूल्य घट्नुपर्छ भन्ने मान्यता हो। हामीले सरकारसँग केही सहुलियत मागेका थियौ। तर सरकारले खासै ठूलो सहुलियत दिएन,’ कार्यकारी निर्देशक गोल्छाले भने, 'अन्तशुल्कमा स्वदेशमा उत्पादन हुँदा १५ प्रतिशतको मात्रै सहुलियत दिएको छ। त्यो पनि उत्पादन मूल्यमा मात्रै दिएकोले हामीलार्इ ५ देखि ६ प्रतिशत मात्रै राहत छ।‘

उनका अनुसार कर्मचारी तलब र ठूलो लगानीका कारण पाँचदेखि ६ प्रतिशतको सहुलियतले मूल्य घटाउन नसकिएको हो। गोल्छाले नयाँ सरकार र आगामी आर्थिक वर्षको बजेटमार्फत नीतिगत रुपमा सहुलियत भएमा मूल्य घटाउन सकिने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell