PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कथा : आकाश



पहिलोपोस्ट

 कथा : आकाश

  • लिलाराज खतिवडा -
काम विशेषले गोपाल सिंगापुर गएको छ। उसको घर कोटेश्वर पारी जडीबुटीमा पर्छ। घरमा उसका बुबाआमा, पत्नी, भाइ, बहिनी र दुई जना ससाना नानीहरु छन्। काठमाडौंमा उसको आयात निर्यातको व्यापार छ। ऊ कामको शिलशिलामा विदेश गइरहन्छ। सोही क्रममा यसपालीको माघ महिनामा ऊ सिंगापुर पुगेको छ।

दिनभरि काम सकेर गोपाल साँझ होटल फर्किन्छ। खाना अर्डर गरेर आफ्नो कोठामा छिर्छ। अनि सावर लिन्छ। लुगा लगाउँदै गर्दा उसको फोन बज्छ। घरको फोन रहेछ। 

फोनमा ऊ भन्छ, “हेल्लो।”

“अँ हेल्लो। के छ हजुरको हालखबर?” आवाज उसकी पत्नी ताराको हुन्छ।

“ठीकै छ। त्यता कस्तो छ नि?”

“यता पनि ठीक छ। अनि कहिलेको टिकट फिक्स भयो त?”

“भोलि रातिको टिकट फिक्स भयो। नेपालको टाइम अनुसार राति साढे एघार बजेको अराइभल छ।”
“लिन आउँला नि हामी।”

“पर्दैन पर्दैन। म आइहाल्छु नि ट्याक्सी लिएर।”

“अनि मैले भनेको सामान किनेको? छोराछोरीको सामान नि? बुबाको औषधि नबिर्सिस्यो है, यता पाईँदैन।”

“सबै थोक किनिसकेँ। केही नयाँ सामान पनि किनेको छु।”

“के हो भनिस्यो न?”

“सरप्राइज। ल ल अहिले राखेँ। खाना खान जान लागेको। बाइ।”

“बाइ।” 

फोन राखेर खाना खान ठिक्क परेका घरका सबैलाई गोपालकी पत्नी ताराले खुशी भएर भन्छिन्, “भोलि आइसिन्छ रे बाबा।”
सबै खुशी हुन्छन्। खासगरी बच्चाहरु औधि रमाउँछन्।

भोलिपल्ट, 

जहाज चढ्नुअघि गोपालले एक पटक फेरि घरमा फोन गर्छ। 

पत्नीको सवाल : “एयरपोर्ट लिन आउनुपर्छ?”

गोपालको जवाफ : “आउनु पर्दैन, म ट्याक्सी लिएर आइहाल्छु नि।”

पत्नी : “नत्र भाइलाई पठाइदिन्छु, गाडि लिएर।”

गोपाल : “पर्दैन भन्या। पहिलो चोटी हो र मेरो विदेश यात्रा?”

पत्नी : “राम्रोसँग आइस्यो है। शुभ यात्रा।”
***
भोलिपल्ट। मध्यरात। नाइट लाइफ बाहेक काठमाडौं लगभग मस्त निदाएको छ। सेभेन ओसन एयरवेजको जहाजले काठमाडौं उपत्यकाको पहाड छिचोल्नासाथ पाइलटले एयरपोर्टको टावरसँग अवतरणको लागि अनुमति माग्छ। टावरबाट उसले अवतरणको अनुमति पाउँछ। पाइलटले जहाजको गति कम गर्दै ल्यान्डिङ गियर दवाउँछ। अनि जहाज जमिनको नजिक नजिक हुन थाल्छ। 

तर अचानक,

टावरबाट अत्तालिएको आवाज आउँछ : “तपाईँले अहिले जहाँ अवतरण गर्ने तरखर गरिरहनुभएको छ, त्यो एयरपोर्ट नभएर वीरेन्द्र अन्तर्राष्ट्रिय सभा भवन हो। कृपया जहाज ओभरसुट गर्नुहोस्।”

पाइलटले बिजुलीको रफ्तारमा जहाज ओभरसुट गर्छ र गति बढाउँछ। अनि लामो सास फेर्छ। ठूलो दुर्घटनाबाट बाँचेकोमा पलभर आँखा बन्द गरेर आफ्नो ईश्वरको स्मरण गर्छ। कोपाइलटको धड्कन रोकिएला झैं हुन पुग्छ। पाइलटले काठमाडौंको आकाशमा एक फन्को लगाउँछ। तल काठमाडौं शहरमा कुहिरोको बादल बिच्छ्याइए झैं लाग्छ। 

“भिजिविलिटी एकदम कमजोर छ,” ऊ तल टावरलाई खबर गर्छ। 

उताबाट आवाज आउँछ, “फलो दि इन्स्ट्रक्सन्स्...,”

तर, टावरको इन्स्ट्रक्सन्स् सुन्दै गर्दा, पाइलटले जहाजमा केही गडबडी भएको महसुस गर्छ र कोपाइलटलाई बताउँछ। अघि जहाज ओभरसुट गर्दा इन्जिनमा अचानक कुनै खराबी भएको हो कि भन्ने अनुमान उनीहरु गर्छन् र त्यसको समाधानतिर लाग्छन्। कोपाइलटले प्रमुख एयरहोस्टेसलाई केही आपतकालीन निर्देशन दिन्छ। एयरहोस्टेसले इन्जिनमा सामान्य समस्या आएको र जहाज हल्लिन सक्ने एनाउन्स् गर्छे। ऊ सबैलाई पुनः एक पटक आआफ्नो सिट बेल्ट बाँध्न अनुरोध गर्छे। साथै, यो पनि बताउँछे कि पाइलटहरु समस्या समाधान गर्न लागिपरेका छन्, नआत्तिनुहोला।

जहाज अत्याधिक हल्लिन थाल्छ। यात्रुहरु आत्तिन्छन्। आआफ्नो समझको ईश्वरलाई स्मरण र प्रार्थना गर्न थाल्छन्। पाइलटहरुले एयरपोर्टको कन्ट्रोल टावरमा यो पछिल्लो समस्या पनि अवगत गराइसकेका हुन्छन्। 

अचानक,

जहाज तल खस्न थाल्छ। पाइलटहरुले नियन्त्रणमा लिन खोज्छन्। तर, न जहाज नियन्त्रणमा आउँछ न त उसको गति नै घट्छ। पलभरमा नै जहाज आगाका मुस्ला फ्याल्दै जमिनमा जोतिन पुग्छ। दर्जनौं घरहरु जोतेर आगो लगाउँदै जहाज छियाछिया हुन पुग्छ। रेस्क्यू टोली अबेर नगरी आफ्नो काममा जुट्छ।

नेपालमा पुनः एउटा जहाज दर्दनाकरुपमा दुर्घटना भएर मानव बस्तीमा खसेको समाचारले विश्व हल्लिन्छ।

तर, यो दुर्घटना अन्य भन्दा भयावह सावित हुन्छ। जहाज जमिनमा जोतिएर घिस्रिँदा दर्जनौं घरहरु आगो लागेर ध्वस्त हुनपुग्छन्। जहाजका यात्रुसहित आआफ्नो घरमा सुतिरहेका सयौं अन्य मानिसहरुको मृत्यु हुन पुग्छ। काठमाडौं शहर ठूलो र भयावह दहशतको शिकार हुनपुग्छ।
अस्पतालहरु घाइते र मृतकले भरिन्छन्। जलेका, आधा जलेका घाइतेहरुको चित्कार दर्दनाक हुन्छ। आफन्तहरुको रुवावासीले अस्पतालका प्राङ्गणमा आँशुका भेल बग्छन्।

जहाजका सम्पूर्ण यात्रुहरु मध्ये भाग्यवश भनौं वा चमत्कार, एकजना बाँच्न सफल हुन्छ। उसको शरिर आधाभन्दा बढी जलेको हुन्छ। उसलाई होश आएपछि ऊ आफ्नो नाम र ठेगाना बताउन सक्षम हुन्छ। उसको नाम गोपाल हुन्छ र घर जडिबुटी।

तर, दुर्भाग्य नै भनौं, त्यसरी जहाज ठूलाठूला आगाका लप्का फ्याल्दै जमिनमा जोतिँदा उसको घर पनि ध्वस्त भएको हुन्छ। र, उसका लालाबाला लगायत सम्पूर्ण परिवार र छिमेकीहरुको जलेर मृत्यु भैसकेको हुन्छ।
यो कस्तो नीयति? 

सम्पूर्ण कुरा थाहा पाएपछि, गोपाल मूर्छा पर्छ। सघन उपचार पछि ऊ फेरि होशमा आउँछ। तर, ऊ चारैतिर अन्धकार शिवाय केही पनि देख्दैन। ऊ क्वाँक्वाँ रुन्छ। रोइरहन्छ।

डाक्टरहरुले अब उसको ज्यान जोखिमरहित भएको खबर दिन्छन्। गोपालले मनग्ये क्षतिपूर्ति पाउँछ। तर, ऊ लिन मान्दैन। सरकारसँग इच्छामृत्युको याचना गर्छ। अब उसलाई कसैगरी बाँच्न मन लाग्दैन। उसका आँशु थामिँदैनन्।

भोलिपल्ट सारा अखबारमा उक्त खबर छापिन्छ : जहाज दुर्घटनामा बाँचेका एकमात्र यात्रु गोपालद्वारा सरकारसमक्ष इच्छामृत्युको याचिका।
तर, नेपालमा इच्छामृत्युको कानून नभएको हुँदा उसलाई यो सुविधा उपलब्ध हुँदैन। आत्महत्या गरी पो हाल्छ कि भनेर उसलाई कडा सुरक्षाबीच राखिएको छ।

केही दिनपछि,

एउटी चौंतिस, पैंतिस वर्षकी महिला अस्पतालमा गोपाललाई भेट्न पुग्छे। उसले आफू गोपालको कलेज पढ्दाकी साथी भएको बताउँछे। उसलाई गोपालसँग भेट्न दिइन्छ।

ऊ गोपालको सामुन्ने पुग्छे। गोपालको अनुहारको धेरै जसो भाग जलेको छ। ऊ कुरुप देखिन्छ। उसका हातहरु जलेर काला भएका छन्। औंलाहरु जलेर खाक भएका छन्।

“मलाई चिन्यौ गोपाल?” सुस्तरी गोपालको हात समाउँदै महिलाले भन्छे, “अखबारमा तिम्रो समाचार पढेर आएकी हुँ।”

गोपालले नियालेर युवतीलाई हेर्छ। उसको अनुहारको आभामा तत्क्षण अनौठो भाव तरंगित हुन्छ। उसको मुटुको धडकन तेज हुन्छ। अनि उसको मुखबाट अनायासै फुत्किन्छ, “सरला...?”

फ्ल्यासब्याक। दश वर्षअघि,

कलेज लाइफ। एउटै कक्षामा पढ्ने सरलाले गोपाललाई निकै मन पराएकी हुन्छे। स्त्रीचित्त भनौं, धैरै समय उसले यो कुरा खोल्न सकेकी हुँदिन। एक दिन, गोपालसामु उसले उक्त कुरा खोलेरै छाड्छे। तर, धेरै ढिलो भैसकेको हुन्छ। तारासँग गोपालको मागी बिहे सुनिश्चित भैसकेको हुन्छ। सरलाका लागि परिवारले तारासँग तय गरिसकेको मागी बिहे तोड्न सक्दैन, गोपाल। 

कलेज सकेर सरला मन बुझाउँदै एउटा अनाथ आश्रम खोलेर टुहुरा बालबालिकाहरुको हेरचाह गरेर बसेकी हुन्छे। बिहे गरे पनि एउटी छोरी जन्मेपछि अनेक बहाना र आरोपमा उसको श्रीमानले उसलाई डिभोर्स दिइसकेको हुन्छ।
***
सरलाले गोपालको जिम्मा लिन्छे र अनाथ आश्रम लिएर जान्छे। गोपालका शारीरिक घाउहरु बिस्तारै निको हुन्छन्। तर उसको मनको घाउ ठीक हुन सकिरहेको हुँदैन। सरलाको अगाध र निश्कलंक प्रेमका कारण ऊ क्रमशः पीडाहरुबाट मुक्त हुँदै जान्छ।

क्षतिपूर्ति बापत पाएको ठूलो रकम गोपालले सरलाको अनाथ आश्रमलाई डोनेट गर्छ। आफ्नै पैसाले कस्मेटिक सर्जरी गरेपछि उसको अनुहार र हातहरु दुरुस्त हुन्छन्। पछि सरला र गोपालले बिहे गर्छन्। गोपालले सरलाकी सानी छोरीलाई सहर्ष स्वीकार गर्छ। उनीहरुको बिहे अखबारमा शीर्ष समाचार बन्छ। अनि सरला र गोपाल मिलेर अनाथ आश्रमको लागि काभ्रेमा मनग्ये जग्गा किन्छन्। कार्यक्षेत्र फराकिलो बनाउँछन्। र अरुको सेवा गर्दै नयाँ जिन्दगीको शुरुवात गर्छन्।

समाप्त।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell