PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

श्रीलंकाका लागि २२ टेष्ट र १०९ वान डे खेलेका फरविज महारुफले इपीएलमा काठमाडौं किंग्सको कप्तानी सम्हाल्ने



गोविन्दराज नेपाल

श्रीलंकाका लागि २२ टेष्ट र १०९ वान डे खेलेका फरविज महारुफले इपीएलमा काठमाडौं किंग्सको कप्तानी सम्हाल्ने
फोटो : स्काई स्पोर्ट्स

काठमाडौं : श्रीलंकाका लागि २२ टेष्ट र १०९ वान डे क्रिकेट खेलिसकेका मोहम्मद फरविज महारुफले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा काठमाडौं किंग्स एलेभेनको कप्तानी सम्हाल्ने भएका छन्।

शुक्रबार काठमाडौं किंग्सले आफ्ना ३ विदेशी खेलाडीको नाम घोषणा गर्ने क्रममा महारुफलाई कप्तान नियुक्त गरेको जानकारी गराएको हो। साथै महारफसँगै अर्का श्रीलंका खेलाडी अक्षय फर्नान्डेज र भारतका सागर कुमार काठमाडौं किंग्सको विदेशी खेलाडीका रुपमा रहने टोलीका मालिक रोहित गुप्ताले जानकारी दिए।

आगामी सोमबार देखि सुरु हुने इपीएलमा सहभागि प्रत्येक टोलीले ३ विदेशी खेलाडी राख्नुनैपर्ने प्रावधान अनुसार काठमाडौं किंग्सले पनि ३ विदेशी खेलाडी शुक्रबार सोल्टी होटलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

नेपालका फास्ट बलर सोमपाल कामी काठमाडौं किंग्सका मार्क्यु प्लेअर हुन्।

महारुफले नेपालमा आएर खेल्न लाग्दा आफू एकदमै उत्साहित भएको र प्रतियोगिताअघि खेलाडीहरुसँग घुलिमल हुने र टीमको बारेमा जान्ने बताए। ‘हामीसँगै धेरै राम्रो युवा टोली छ। कप्तानको रुपमा टिमलाई अगाडी बढाउन म सक्दो मेहनत गर्नेछु।‘

महारुफसँगै ३ खेलाडीलाई यस सिजनका लागि मात्र अनुबन्ध गरिएको गुप्ताले बताए। तर उनले कति रकममा अनुबन्ध गरेको भने खुलाउन चाहेनन्। 'हामी नन डिस्क्लोजर एग्रीमेन्टको आधारमा उनीहरुलाई अनुबन्ध गरेका छौँ।'

महारुफ इपीएलमा कुनै पनि टोलीको कप्तान नियुक्त हुने पहिलो विदेशी खेलाडी समेत हुन्।

महारुफ जस्ता अनुभवी विदेशी खेलाडी टोलीमा राख्न सफल भएकोमा रोहित गुप्ताले खुशी व्यक्त गर्दै इपीएलमा राम्रो क्रिकेट खेल्ने र सकेसम्म च्याम्पियन बन्ने लक्ष्य रहेको बताए।

यस्तै मार्क्यु प्लेअर सोमपाल कामीले सबैभन्दा राम्रो ओपनिङ जोडी रहेको, टी-२० को उत्कृष्ट फास्ट बलर जितेन्द्र मुखिया साथै युवा स्पीनर सुशील कँडेल जस्ता खेला८हरुको समिश्रण रहेकोले टोली सन्तुलित रहेको प्रतिक्रिया दिए।  

को हुन् महारुफ?

सन् २००५ मा श्रीलंकन क्रिकेट टिमको लागी डेब्यु गरेका महारुफले २२ टेस्ट, १०९ एकदिवसीय र ८ वटा टी-२० मा श्रीलंकाको लागि खेलीसकेका छन्। उनले आइपीएलमा सन् २००८ देखि २०१० सम्म दिल्ली डेयर डेभिल्सको लागि समेत खेलिसकेका छन्।

फास्ट बलिङ गर्ने महारुफ राम्रो अलराउण्डर समेत हुन्।

उनले श्रीलंकाका लागि टेष्टमा १४ सय ४, वान डे मा १२ सय ९४ रन बनाएका छन्। टेष्टमा ७२ तथा वान डेमा नटआउट ६९ उनको व्यक्तिगत उच्च स्कोर हो।

३३ वर्षिय महारुफले पछिल्लो पटक सन् २०१६ मा इंगल्याण्ड विरुद्व श्रीलंकाका लागि वान डे खेलेका थिए।

उनले श्रीलंकाका लागि टेष्टमा २५ तथा वान डे १३५ विकेट समेत लइसकेका छन्। उनले पछिल्लो पटक २०११ मा टेष्ट खेलेका थिए।

८ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले जम्मा ३३ रन बनाएका छन् भने ७ विकेट लिएका छन्।

३ विदेशी खेलाडी र मार्क्यु प्लेअरसँगै काठमाडौं किंग्सले शुक्रबार आफ्ना सबै खेलाडी सार्वजनिक गरेको थियो। जसमा राष्ट्रिय टिमबाट खेलिसकेका र यू-१९ राष्ट्रिय टिमबाट समेत खेलेका खेलाडीहरुको बाहुल्य छ।

काठमाडौं किंग्सले इपीएलको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्ससँग खेल्नेछ।


काठमाडौं किंग्सको टिम

सोमपाल कामी, नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सशील कँडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम कुमार भुसाल, अमर सिंह राउटेला,फरविज महारुफ, अक्षय फर्नान्डेज, सागर कुमार

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell