PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता, उत्तर कोरियाका विषयमा कुराकानी



पहिलोपोस्ट

अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता, उत्तर कोरियाका विषयमा कुराकानी

मस्को :  उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ। 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उनीहरुबीच फोनवार्ता भएको समाचार सार्वजनिक गरेको छ। क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ,‘अमेरिकी पक्षको चाहनामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जरुरी विषयमा छलफल भएको छ।’ 

छलफलमा तत्कालका लागि जरुरी विषयका साथै विशेषगरी कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ। छलफलमा कोरियाका विषयमा मिलेर कामगर्ने बारेमा सहमति भएको थियो। 

क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– कुराकानीको सुरुमा रुसी राष्ट्रपति पुटिनले अमेरिकाको अर्थतन्त्र र अमेरिकी राष्ट्रपतिका विषयमा सार्वजनिक गरेको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई धन्यवाद दिएका थिए। 

त्यसपछि उनीहरुबीच कोरियाको अवस्था प्रतिदिन झन खतरनाक हुदै गएकोले यस विषयलाई साझा चासोका रुपमा लिएर समस्या समाधानमा आपसमा मिलेर लाग्ने विषयमा उनीहरुबीच सहमति भएको पनि विज्ञप्तिमा जनाइएको छ। 

कोरियाको विषयमा पछिल्लो समयमा विश्वमा निकै ठूलो चासो बढेको देखिएको छ। उत्तर कोरिया वार्तामा बस्न तयार हुने सङ्केतहरु पनि मिलेका भन्दै यस विषयमा विभिन्न देशमा कुराकानी पनि भएको छ। 

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले पनि हालैमात्र उत्तर कोरियाको भ्रमण गरेका थिए। 

उनले भ्रमणका अवसरमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र अन्य उत्तर कोरियाली उच्च अधिकारीसँग भेट वार्ता पनि गरेका थिए। त्यस भ्रमणलाई उत्तर कोरिया र राष्ट्रसंघले पनि महत्वपूर्ण र आवश्यक पनि भनेको छ। 

यदि उत्तर कोरिया शान्ति वार्ताका लागि तयार भए संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको पनि हालैमात्र संयुक्त राष्ट्रसंघले जनाएको थियो। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell