PahiloPost

Dec 15, 2018 | २९ मंसिर २०७५


काठमाडौँको ‘केटो’ डोल्पाको ‘हिरो’


सागर बुढाथोकी

काठमाडौँको ‘केटो’ डोल्पाको ‘हिरो’

फिक्सन डिजाइनर कुमार नगरकोटीले उनको पुस्तक ‘दोचामा’ लेखेका छन्, ‘डोल्पाजस्तो विकट ठाउँमा गएर त्यहाँका बच्चाहरुलाई पढाउनु अत्यन्तै चूनौती हो। विनोद शाही १ दशकदेखि त्यहाँ आफै खर्च जुटाएर पढाइरहेका छन्। उनले काम धेरै गरे तर गुमनाम छन्।’

को हुन त यिनी र किन छन् गुमनाम?

चर्चाका लागि भन्दा आत्मसन्तुष्टिका लागि काम गर्ने बताउने उनी आफ्नो स्वाभाव नै 'गुमनाम' खाले भएको बताउँछन्। दोचामा लेखिएका विनोद १ महिनादेखि काठमाडौँमा छन्।




काठमाडौं बखुण्डोलस्थित एउटा साँघुरो गल्ली छिरेपछि विनोदको घर पुगिन्छ। भूकम्पले चर्किएको पुरानो शैलीको घर। भित्र छिरेर साँघुरो काठको भर्याङ चढेर दोस्रो तल्लामा प्रवेश गरेपछि आउँछ उनी बस्ने रुम।
 
रुममा कुनै  टेवल कुर्सी छैनन्। न त  सुत्ने पलङ नै। बस्न चकटी बिच्याइएको छ। भित्ताभरी विनोद आफैले बनाएका पेन्टिङहरु टाँगिएका छन्। विनोदले त्यही रुमलाई बेडरुम र अफिस बनाएका छन्। किनकि, उनको घरमा पर्याप्त कोठा छैनन्।

ढाका टोपीमा सजिएका विनोदलाई नगरकोटीले उनको बारेमा लेखेको थाहा रहेनछ। 

सुनाएपछि उनले भने, ‘दाइसँग भेट भएको थियो। दोचाको बारेमा कुरा भएको थियो। मैलै डोल्पाबाट फर्किदाँ दोचा ल्याइदिएको थिएँ।’

विनोद शाहीलाई चिन्नेहरु ‘हिमालयन हिरो’ भन्छन्। उनको कामले पाएको उपनाम हो त्यो। तर, उनी आफूले आफैलाई हिरो मान्दैनन्।

काठमाडौंको जन्म र डोल्पाको कर्म विनोदको परिचय। डोल्पाको संघर्ष र विकास नै विनोदले पाएको उपलब्धी हो। 

‘अमेरिका जान तयार भएको केटो डोल्पा कसरी पुग्यो? काठमाडौंजस्तो सुविधा सम्पन्न ठाउँमा जन्मिएको केटो कसरी डोल्पाको विकट ठाउँमा टिक्यो?’

विनोदको कथा रोचक मात्रै हैन प्रेरणादायी पनि छ।

विनोद आफ्नो कथा सुनाँदा आफैँ ‘नोस्टाल्जिक’ हुन्छन्। आफ्नो संघर्ष सुनाउँदै गर्दा भावुक पनि। आँखा रसिलो। 

ललितकला क्याम्पसमा पढेका विनोद राम्रा चित्र बनाउँथे। अमेरिका अष्ट्रेलियाबाट धेरै अवसरहरु आएका थिए उनीसामु। तर, विदेशमोहले छोएन।

एसएलसी पास गरेपछि विनोद ललितकला क्याम्पसमा फाइन आर्टमा भर्ना भए। फाइन आर्टसँगै कमर्शमा पनि नाम लेखाए। आर्ट सौखको विषय थियो भने कर्मश साथीहरुसँगको लहलहै।

विनोदको संगत राम्रै थियो। तर, काम गर्ने अवसर भने मिलेको थिएन। चित्रकला, म्युजिक र  ड्रामामा रुची भएकाले साथी सर्कल ठूलो थियो। रमाइलोमै दिनचर्या बितिरहेको थियो।

उनी त्यसमा खुसी र सन्तुष्ट थिएनन्।

उनले सन्तुष्ट हुने तरिका खोजिरहेका थिए। ‘के गर्ने, कसरी खुसी हुने?’ उनको मनमा यस्तै कुराहरुले डेरा जमाइरहेको थियो।

नभन्दै उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो।

उनले डोल्पाका बालबालिका पढाउन ल्याएको संस्थामा 'भोलेन्टियर' गर्न थाले। अनि भए डोल्पाली बच्चा पढाउने टिचर।

त्यहाँबाट उनी डोल्पाली बालबालिकाहरुसँग नजिकिए।

डोल्पाली बच्चाहरु गाडी देख्दा पनि अचम्म मानेर हेर्थे। पसलको सामान उनीहरुलाई अनौठो लाग्थ्यो। हरेक चिज नौलो मानेको देख्दा विनोद चकित पर्थे। 

‘नेपाली भाषा राम्रोसँग बुझ्दैनन्। यहाँ आउने बच्चाहरु यस्ता छन्, उही डोल्पामै बसेकाको अवस्था कस्तो होला?’ विनोदको सोचाई त्यतातिर जान्थ्यो।

हिउँदमा डोल्पामा अत्यधिक हिउँ पर्ने। स्कुल ६ महिना मात्र पढाइ हुने। सोही कारण काठमाडौं पढ्न आएका बालबालिकहरुसँग विनोदको भेट जुर्यो। 

त्यही भेट नै विनोदलाई डोल्पा पुर्याउने माध्यम बन्यो।

विनोदले ती विद्यार्थीहरुलाई नेपाली पढाए। चित्रकला सिकाए। ६ महिना त्यतिकै सकियो। डोल्पाली विद्यार्थीको प्रिय भइसकेका विनोदलाई विद्यार्थीहरुले सँगै जान कर गरे।

विद्यार्थीहरुले धेरै नै आग्रह गरेपछि विनोदले नाइ भन्न सकेनन्। उनी डोल्पा जान तयार भए। तर यात्रा सोचेजस्तो सहज थिएन्।


विनोदले अमेरिका जान छोडेर डोल्पा जाने निर्णय बुबालाई सुनाए। बुबाले नजा भन्न नसके पनि जा भन्न पनि सकिरहेका थिएनन्।

उनको निर्णयमा सहमत हुन कोही तयार तयार थिएनन्। आफन्तहरु, ‘काठमाडौं छोडेर किन जान्छस् डोल्पा? यहीँ पढ्, आफ्नो भविष्य बना’ भन्थे। विगत सम्झिँदै विनोद भन्छन्, ‘म डोल्पा जान खोजेको हैन, डोल्पाले मलाई खोजेको हो भनेर म डोल्पा गएँ।'

उनको ढिपीका अगाडि कसैको केही लागेन। उनी डोल्पा हानिए।

काठमाडौंबाट कहिल्लै ननिस्केका विनोदलाई यात्रा गर्न सहज थिएन्। डोल्पाका अग्ला हिमाली बाटो पार गरेर हिड्नु सहज थिएन। त्यसमाथि हिउँले ढाकेको बाटो। अत्यधिक जाडो। 

‘जतिमाथि बड्दै गयो, त्यति नै रिगंटा लाग्ने। जताततै हिउँ नै हिउँ। माइनसमा तापक्रम। शरीरको सबै अंग चिसोले चलाउन नसक्ने,’ विनोदले डोल्पाको पहिलो यात्रा सम्झिए, ‘सास फेर्न गाह्रो। अत्यन्तै गाह्हो। स-साना भए पनि खोला तर्दा चिसोले खुट्टा खाइसकेको।’

हिउँको बाटो हिँड्दै गर्दा विनोद धेरैपटक हिउँमा भाँसिए। आफू पनि भासिने डरले साथीहरु नजिक परेनन्। हातमा बोकेको क्यासेटले ज्यान बचाएको विनोद सम्झिन्छन्।

डोल्पा पुग्नुअघि धेरै ठाउँमा बास बस्नु पर्थ्यो। कहिले जंगलमा, कहिले ओडारमा र कहिले गुफामा बास बस्दै यात्रा अघि बढिरहेको थियो। एकदिन उनीहरु हिउँ नै हिउँ भएको ठाउँमा सुत्नु पर्यो।

रातभरी हिउ पर्यो। विनोदसँग स्लिपिङ ब्याग गतिलो थिएन्। चिसो हावाले उनी शिथिल भए। सास फेर्न, हातहरु चलाउन र बोल्न सक्ने अवस्था थिएन्।
 
तर, उनले सोचेजस्तो जीवनको त्यो अन्तिम रात भने भएन्। बिहानको मिर्मिरे घामको उज्यालोले बाच्ने आस बढायो। शरीर चल्न थाल्यो। उनी बाँच्न सफल भए।

‘अलिकति ढिलो घाम लागेको भए म चिसाले कठ्याङिग्रएर मर्ने थिएँ,’ विनोदले सम्झिए, ‘धन्न चाँडो घाम लाग्यो र बचेँ।’

डोल्पा पुग्दा विनोद अचम्ममा परे। गाउँमा मान्छेहरु थिएनन्। रुख विरुवा केही नदेखिने। खेतीपाती नभएकाले गाउँ उजाड मरुभूमि जस्तै। घरबाट धुँवा निस्किरहेको।  डोल्पा भर्खर युद्ध सकिएर शान्त हुन लागेको ठाउँजस्तै देखिन्थ्यो। गाउँमा मान्छेभन्दा भेडाच्याड्ग्रा बढी थिए।

गाउँमा स्वागत त भयो। तर, उनी गएको नराम्रो मान्ने धेरै थिए। पढाउन आएको भन्ने भन्दा हाम्रा छोराछोरी किन पढाउनु? भन्दै उल्टो प्रश्न गर्ने अभिभावक धेरै थिए।

गाउँमा स्कुल थियो, राम्रोसँग पढाइ भएको थिएन्। धेरै गाउँहरुमा त स्कुल पनि थिएन। भाषा तिब्बतीयन मूलको। सरकारी स्कुलमा तलब खाने र घरमा बस्ने शिक्षकहरु धेरै थिए।




विनोदको काम सुरु भयो। तर, सजिलो थिएन्। त्यहीँको नेताहरुले उनको काम देखिसकेनन्। गाउँलेलाई भड्काएको भनेर दिनहुँजसो गाली गर्थे उनलाई।

‘मेरो हरेक गतिवधि उनीहरुलाई मन पर्दैन थियो,’ विनोदले भने, ‘उनीहरुको सोचाइमा विकास र गाउँको उन्नति–प्रगति केही थिएन। उनीहरु शिक्षाका विरोधी थिए।’


शेर्ले दुकर्डा स्कुलमा पढाउँथे उनी। त्यो गाउँबाहेक अन्य गाउँका बालबालिकाहरुले पढ्न पाएकै थिएनन्। 

आफू बसेको ठाउँमा शुक्रबारसम्म पढाउँथे। त्यसपछि, ५ घण्टा भन्दा बढी हिँडेर शुक्रबार र शनिबार अरुतिर पढाएर फर्कन्थे। सधै त्यसरी सम्भव थिएन्। 

२०३२ सालमा सुरु भएका स्कुलहरु सञ्चालन भएको थिएन। पछि ती गाउँमा आफैँले हिमालयन दरलाराङ स्कुल खोले। 

उनले विस्तारै सबै ठाउँका बालबालिकाहरुलाई पढ्ने वातावरण मिलाउँदै लगे।

काठमाडौंबाट शिक्षक लगेर विभिन्न गाउँमा स्कुल खोल्दै पढाउन सुरु गरे। छोराछोरी किन पढाउने? भन्ने अभिभावहरुले उनलाई पढाइदिन आग्रह गर्न थाले।

त्यसरी एक्लै काम गर्न सम्भव थिएन्। सन् २०१४ मा उनी आफैले स्नो याक फाउन्डेसन खोले। नेपालीहरुकै सहयोगबाट बालबालिकाहरु पढाउन थाले।

बालबालिकालाई कापी कलम आफै जुटाउनुपर्ने थियो उनले। शिक्षकको लागि तलब, लत्ताकपडा र कापी कलमको व्यवस्था नगरी हुँदैन थियो। सहयोग जुट्न मुस्किल। विदेशी सहयोगबिना काम गर्ने उनको चाहना।

त्यसैले उनले काठमाडौंका स्कुले बालबालिकाबाट रकम उठाएर सहयोग गर्ने योजना बनाए। उनको योजना सफल हुँदै गयो।

‘नेपालीहरुले चाहने हो भने धेरै गर्न सक्छन्,’ उनी भन्छन्, ‘विदेशी डोनेसन होइन हामी आफैमा विश्वास गर्छौं। अहिलेसम्म धेरथोर बालबालिका तथा गृहणीहरुबाट सहयोग पाइरहेका छन्।’


६ महिना डोल्पामा पढाएपछि विनोद ६ महिना काठमाडौं बस्छन्। काठमाडौंमा डोल्पाली बालबालिकाको लागि कापीकलम जम्मा गर्छन। विभिन्न स्कूल बालबालिका तथा गृहणीहरुसँग सहयोग माग्छन्। ६ महिनासम्ममा प्राप्त भएका सम्पूर्ण समानहरु लत्ताकपडादेखि अन्य कुरा जम्मा गरेर ६ महिनापछि फेरि जान्छन्।

यसरी नै उनले डोल्पाको बालबालिकाका लागि १३ वर्ष बिताइसकेका छन्।

डोल्पाको १० वटा गाउँको ८ सय १३ जनाभन्दा बढी बालबालिकालाई कापी कलम सहयोग गर्छन। पढाउन राखेका १७ जना शिक्षकहरुलाई तलब दिन्छन्। डोल्पामा खाद्यान्न अपूग हुने भएकाले खानेकुरा काठमाडौंबाट लैजान्छन्। 

अहिले उनले १३ वटा स्कुलका बालबालिकालाई पढाइरहेका छन्। वर्षेनी यो क्रम बढ्दै छ। उनको जस्तै अन्य ठाउँको युवाहरुले पढेर आफैले स्कुल पढाउने पनि छन्। यसले उनलाई खुशी मिलेको छ। भन्छन्, ‘सानो कामले पनि खुशी मिल्छ।’

विनोदलाई सहयोग गर्न धेरै डोल्पाली युवाहरु लागिपरेका छन्। छोराछोरीको भविष्य बनाउन आफ्नो जिम्मा लगाउने अभिभावहरु देख्दा काम गर्न धेरै प्रेरणा मिल्ने उनको कथन छ।

गएका १३ वर्षमा जीवनभरि नसिकेका कुराहरु डोल्पा गएर सिकेको उनको अनुभव छ। प्रकृतिसँग दिनरात संघर्ष गरेर पनि डोल्पालीहरुलाई उनले खुशी देखेका छन्। भारी बोक्नुपरे पनि बच्चाहरु रमाएकै छन्। खानको लागि धेरै संर्घष गरे पनि काठमाडौंका मानिसभन्दा त्यहाँका खुशी छन्।

विनोद पनि काठमाडौंले भन्दा डोल्पाले खुशी दिएको सुनाउँछन्। आफू को हुँ? डोल्पा पुगेर नै चिन्न सकेको उनको तर्क छ। ‘काठमाडौंको मान्छेको जीवन जटिल र बुझ्न नसकिने छ। कोही कहिल्लै पनि सन्तुष्ट र खुशी देखिँदैन,’ उनले भने, ‘डोल्पालीहरु साधारण तर संसारकै खुशी छन्। जीवनदेखि सन्तुष्ट पनि।’

आफ्नो परिवार र करिअर छोडेर डोल्पा बसेकोमा पछुतो छैन् उनलाई। धेरै अवसर गुमाएर घरपरिवार हेर्न नसक्दा कहीलेकाहीँ दु:ख लाग्ने गरेको अनुभव गरेका छन्।

‘म बुबाआमालाई वुद्धपछिको पापी मान्छे हुँ भन्छु। मेरो कारणले उहाँहरुलाई धेरै दुःख भयो,’ उनले भने, ‘भूकम्पले घर भत्कियो, ऋण गरेर बनाउनुपर्यो। म एक्लो छोरा भएर साधारण खर्चसमेत दिन सकिन।’

विनोदलाई हिमालयन हिरो भनेर चिन्नेहरु धेरै छन्। ‘अरुले भनेजस्तै म हिरो होइन। साधारण मान्छे हुँ,’ उनी भन्छन् – ‘सबै डोल्पालीहरु हिरो हुन्। हामीलाई सहयोग गर्ने सहयोग दाताहरु हिरो हुन्। उहाँहरुको सहयोगबिना म केही हैन।’


विनोदलाई संस्था चलाउन कष्ट थियो। काम गर्ने शिक्षकको लागि आमाको सुन बेचेर तलब दिएका थिए। भोको पेट र खाली खल्ती दिनभर काम गर्थे। रातभर नसुतिकन त्यसको प्रतिवेदन तयार पार्थे। तर, उनी आफ्नो लक्ष्यमा सफल हुन सकेका थिएनन्। 
आमा बिरामी थिइन्। उपचार गर्न पैसा थिएन्। उनलाई तनावले डिप्रेसन गराइसकेको थियो।


किनकि, उनले सर्वस्व डोल्पामा लगाएका थिए। तर, न सफल हुन सकेका थिए न कतैबाट हौसला नै। डोल्पाको त्यो बस्तीमा उनको कुरा सुन्ने कोही थिएनन्। जंगलमा गएर रुनुबाहेक अरु विकल्प थिएन। 

‘म पूरै फ्रस्टेसनमा पुगिसकेको थिएँ,’ उनले भावुक हुँदै विगत कोट्याए, ‘म आत्महत्याको नजिक पुगिसकेको थिएँ। तर, राम्रो काम गर्नेले विनोद जस्तै आत्महत्या गर्न पुग्छन् भन्ने सन्देश नजाओस् भन्ने विचार आयो।’

विनोद निराश थिए। जीवनबाट मृत्यु टाढा भागेको थियो भने सोचेको काम बनेको थिएन। गलत प्रचारको सिकार भएका थिए उनी।

त्यति नै बेला विवेकशील नेपाली दलका कार्यपालिका प्रमुख पुकार बमको फोन आयो।

‘चिन्ता नगर विनोद विस्तारै तिम्ले सुरु गरेका काम पूरा हुन्छ। म हाम्रो कलेजमा सोसल वर्क पढ्ने स्टुडेन्टलाई तिम्रो फाउन्डेसनमा इन्टर्नसीपमा पठाउँछु।’ पुकारको यो शब्दले उनको घाउमा मलम लगायो।
 
‘त्यसपछि मेरो काममा स्वयसेवक बढ्दै गए। सहयोग उठ्यो। शिक्षकहरु थपिए। कामले राम्रो गति लियो,’ विनोद विगतमा फर्किए, ‘मलाई त्यतीबेला हौसला प्रदान गर्ने र सहयोग गर्नै सबैको कारणले गर्दा म आत्महत्याबाट बच्न सफल भएँ।’



विनोदको सस्थामा अहिले धेरै विद्यार्थीहरु स्वयंसेवक भएर काम गर्दैछन्। उनीजस्तै अमेरिका त्यागेर काम गर्ने युवाहरु पनि छन्। 

डोल्पाको विकास र समृद्धिको लागि विनोदसँग योजनाहरु धेरै छ। योजना पूरा गर्न धेरै युवाहरुले साथ दिएका पनि छन्। विनोदको अबको मिसन डोल्पालीलाई शिक्षा दिने मात्र हैन् स्थानीय स्रोत साधनबाट समृद्ध बनाउने छ। त्यही अनुरुप काम सुरु भइसकेको विनोद बताउँछन्।

शिक्षा फाउन्डेसन, आस्क फाउन्डेसन, गोमा एयर र विदेशमा बस्ने नेपालीको सहयोगले डोल्पाली बच्चाहरुले शिक्षा पाउन महत्वपूर्ण भूमिका खेलेको विनोदको कथन छ। भन्छन्, ‘डोल्पाली बालबालिकाले उहाँहरु सबैलाई कहिल्लै बिर्सदैनन्।’

यो आलेख तयार गरिरहँदा विनोद बेलायतको ग्लोबल टिचर फाउन्डेसनले आयोजना गर्ने वर्ल्ड बेस्ट टिचर अवार्डको टप ५० मा परेका छन्। उक्त अवार्ड जित्नेले १० लाख अमेरिकी डलर पुरस्कार पाउँछ। यो अवार्ड पाएमा के गर्लान् त? तपाईँले ठीक सोच्नुभयो। भन्छन्,  ‘मेहनतको कारण विश्वभरका टिचरहरुबाट टप फिफ्टी टिचरमा छानिएको छु। जिते भने डोल्पाली बच्चाहरुको लागि धेरै गर्छु।’
 



काठमाडौँको ‘केटो’ डोल्पाको ‘हिरो’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट