PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भाइबरबाट चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने ६ जना पुर्पक्षका लागि थुनामा



अनन्तराज न्यौपाने

भाइबरबाट चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

विराटनगर: चिट्ठा परेको भन्दै ठगी गर्ने विराटनगरका अनुपचन्द सेठिया र उनका भतिजा ललित सेठियासमेत ६ जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षमा लागि थुनामा राख्न आदेश दिएको छ । भाइबरबाट चिट्ठाको सूचना दिँदै ठगी गरेको आरोप उनीहरुमाथि छ। 

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले अनुपचन्दसहित ५ मतियारलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

बुधबार न्यायाधीश पोखरेलको एकल इजलासले अनुप र ललितसहित पंकजजकुमार कर्ण, बलराम विश्वास, सनिदेवल विश्वास र श्रवणकुमार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।

न्यायाधीश पोखरेलले अभियुक्तमध्येका एक विमलकुमार चिरानियाँलाई तीन लाख ५० हजार रुपैयाँ धरौटी लिई साधरण तारेखमा राख्न आदेश दिएका छन्।

मोरङ प्रहरीले पर्वत जिल्लाको देउपुर गाउँपालिकाकी संगीताकुमारी गुरुङको जाहेरीका आधारमा मङ्सिर १ गते सेठियासहित ७ जनालाई सेठियाको घरमा बनाइएको हुन्डीको कार्यालयबाट पक्राउ गरेको थियो।

 

सातै जनालाई अर्को पनि मुद्दा

सातै जनाले सम्पत्ति शुद्धीकरणको अर्को मुद्दासमेत खेप्नुपर्ने भएको छ। अदालतले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धानको आदेश गरेको छ।

प्रहरीले सेठियाको कार्यकक्षबाट मङ्सिर १ गते नै ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँसहित भारु १ हजार, चाँदीको टुक्रा ४ थान, चाँदीको सिक्का २ थान, मोबाइल सेट ६ थान र कागजातहरू बरामद गरेको थियो।

एकै स्थानबाट यति ठूलो परिमाणमा रकम भेटिएका कारण सेठिया र उनको समूहले सम्पत्ति शुद्धीकरणको पनि मुद्दा खप्नु पर्ने भएको हो।

 

को हुन् सेठिया ?

विराटनगर महानगरापलिका वडा नं. ७ मेनरोडमा स्थायी बसोबास भएका अनुपचन्दले विगत ३ दशकदेखि आफ्नै घरको एक कोठामा हुन्डीको कारोबार गरिरहेको अनुसन्धानबाट खुलेको छ। विराटनगरमा उनी हुन्डीका ठूला कारोबारी मानिन्थे।

उनको हुन्डीको सञ्जाल भारतका विभित्र मुख्य व्यापारिक शहरदेखि हङकङ, खाडी मुलुक, मलेसिया, सिङ्गापुर लगायतका देशसम्म रहेको स्रोतको दाबी छ।

हुन्डीको कारोबार गर्दागर्दै अन्तर्राष्ट्रिय गिरोहसँग विगत ६ महिनायता संलग्न भएको प्रहरीले अनुमान गरेको छ। बलराम र सनिदेवलजस्ता अनुपका रकम सङ्कलकहरू देशभरिमा ३ सयको सङ्ख्यामा हुन सक्ने प्रहरीको अनुमान छ। ६ महिनायता सेठियाले १ अर्बभन्दा बढी सङ्कलन गसिसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell