PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भूकम्प आएमा खाटमुनि लुक्नु कि नलुक्नु?



भूकम्प आएमा खाटमुनि लुक्नु कि नलुक्नु?
फोटो : www2.humboldt.edu

काठमाडौं : भूकम्प आउँदा टेबुल वा खाटमुनि लुक्नु तर नभाग्नु भन्ने संदेश सधैँ झै अहिले पनि मिडियामा आउने गर्छ। पछिल्ला भूकम्पपछि उद्धारमा खटिएका नेपाल प्रहरीका उच्च अधिकारीले ट्विटरबाट यो संदेशमाथि नै शंका व्यक्त गरे।

उनको ट्विटलाई आधार मान्ने हो भने भूकम्पमा परी मर्नेहरु धेरैले टाउको हातमा राखेर घोप्टिएकै अवस्थामा टेबुलमुनि र खाटमुनि ज्यान गुमाए।
 

मिडियाबाट सिकाइएको कुरो गलत भएछ भन्ने टिप्पणीका कारण यो ट्विट बहुप्रचारित पनि भयो। अनि यसको असर सिंहदरबारसम्मै पुग्यो। दलका नेताले जनताले नै 'मिडियामा आएका कुराले गर्दा ज्यान गुमाउन परेको' सुनाएको बताए।
   
आज एमाओवादी सभासद टोपबहादुर रायमाझीले धादिङका जनताले भूकम्प आएमा खाटमुनि लुक्नु भन्ने रेडियो सन्देश रोक्नुपर्ने माग गरेको दावी गरे। राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बैठकमा बोल्दै रायमाझीले भूकम्पबाट बच्न के के गर्ने भन्नेबारेको सन्देश अपूरो र गलत सन्देश दिने खालको भएको बताए।
 
निर्देशन समितिले बनाएको उपसमिति जिल्लामा जाँदा रेडियो सन्देश अनुसरण गर्दा बालबालिकाको ज्यान गएको पीडितहरुले सुनाएका थिए। भूकम्पले घर भत्किँदा खाटमुनि लुकेर बसेकाको ज्यान गएको उनीहरुको गुनासो थियो।
 
'यो सन्देश रेडियोमा बिहान-बिहान बज्थ्यो रे,' रायमाझीले भने, 'जनताहरुले यो सन्देश बन्द गर्न माग गरेका छन्।' उनले सन्देशकै कारण घर बाहिर भएका केटाकेटी पनि घरभित्र पसेर खाटमुनि लुक्दा क्षति बढी भएको बताए।

टेबुलमुनि लुक्न गलत हो त ?

भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का उप कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठका अनुसार भूकम्प आउँदा सुरक्षित र खुला स्थानमा जान सकिने अवस्था छैन भने बलिया टेबुलमुनि समातेर बस्नु भन्ने विश्वव्यापी मान्यता नै हो।

'धेरै ठाउँमा भूकम्प आउँदा यो विधि प्रभावकारी पनि मानिएको छ,' श्रेष्ठले भने। तर यो विधि नेपालमा उपयोगी भए नभएको अध्ययनबाटमात्र निष्कर्षमा पुग्न सकिने उनले जनाए। 'यो विधिको प्रभावकारिता नेपालको सन्दर्भमा छ कि छैन भन्ने अध्ययनको विषय पनि हो,' उनले भने।

वैशाख २९ गते आएको दोस्रो पटकको भूकम्पमा भागदौडका कारण धेरै मानिस घाइते भएका थिए। घर भत्किँदा टाँड परेका कारण एक सातासम्म जीवितै रहेकाको उद्धार पनि भएको थियो। त्यसो बनाइएको घर कुन स्तरमा बनाइएको छ र लुक्ने खाट वा टेबुल कति बलियो छ भन्नेले पनि मानिस सुरक्षित हुने या नहुने टुंगो लाग्ला। तर, प्रहरीको ट्विट र नेताको मागले प्रश्न भने उठाएको छ : भुइँचालो गएको बेलामा टेबुलमुनि लुक्नु कि नलुक्नु ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell