PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चिकित्सक भन्छन् 'सामाजिक सञ्जालमा आएका सुझाव गलत हुन्, खोकेर हृदयघातबाट बच्न सकिँदैन'



सागर बुढाथोकी

चिकित्सक भन्छन् 'सामाजिक सञ्जालमा आएका सुझाव गलत हुन्, खोकेर हृदयघातबाट बच्न सकिँदैन'

काठमाडौं: ‘सावधान! हृदयघातबाट आफू पनि बाँच्न सिकौँ र अरूलाई पनि बाँच्न सिकाऔँ! ’
 

त्यसपछि लेखिएको हुन्छ 'हृदयघात हुँदैछ भन्ने जानकारी पाउनसाथ थुचुक्क बसिहाल्नुस् र विस्तारै दुबै नाकका प्वाल (नासिका)बाट लामो र गहिरो सास फेर्नुहोस्। अनि जोड-जोडले आवाज निकालेर भुँडी हल्लिने गरी खोक्नुस्। कफ आए पनि थुक्दै नथुकी खोकिरहनुस्।'
 

यस्तै-यस्तै बुँदाहरु भएको म्यासेज केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। कतिले यस्ता म्यासेज वास्ता गर्दैनन्। कतिपयले साच्चिकै विश्वास गर्छन्। कतिपय मानिसहरु यथार्थ बुझ्ने कोशिस गर्छन्।
 

त्योभन्दा बढी यस्तो म्यासेजले धेरै मानिसलाई कन्फ्युज बनाएको छ।
 

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ यादवदेव भट्ट  म्यासेजमा लेखिएका सबै बुँदा गलत रहेको बताउँछन्। यस्ता म्यासेजको विश्वास नगर्न उनको आग्रह छ। मानिसलाई आतंक फैलाउन पठाएका त्यस्ता म्यासेजमा अलिकति पनि सत्यता नहुने उनको तर्क छ।
 

‘कोही मानिसले हृदयघात भएको थाहा पाउनासाथ त्यति धेरै क्रियाकलाप गर्न भ्याउँदैनन्। त्यति गर्न त के सोच्न पनि सक्दैनन्।’ भट्टले भने, ‘हृदयघात हुन लाग्दा खोक्ने गर्‍यो भने मान्छे बाँच्ने हैन उल्टो मर्न सक्छ। त्यो सबै झुट हो।’
 

त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जका मुटुरोग विशेषज्ञ रवि बरालका अनुसार हृदयघात र खोकाइमा कुनै समवन्ध छैन। खोकेर कफ निकाल्दैमा हृदयघातबाट बच्न सकिन्न। बरालले भने,  ‘धेरै मानिसले हृदयघात हुन लागेको थाहा नै पाउँदैनन्। र, कसैले थाहा पाएर त्यस्तो गरेमा बच्न सकिन्छ भन्नु नै गलत हो। त्यस्ता कुराहरुमा कुनै सत्यता छैन।’
 

चेष्ट फिजिसियन डा. मिलेश जंग सिजापतिका अनुसार खोकेर हृदयघातबाट बचिन्छ भन्ने अहिलेसम्म कुनै तथ्य पत्ता लागेको छैन्।
 

सिजापतिले भने, ‘हृदयघात रगत सञ्चार रोकिएर हुन्छ। मानिसले खोक्दैमा रक्तसञ्चार सुचारु हुने कुनै तथ्य पत्ता लागेको छैन्।’
 

'हर्ट म्याटर म्यागेजिन'ले सिनियर कार्डियोलोजिस्ट नर्स क्रिस्टोफर एलेनलाई उदृत गर्दै लेखेको छ, ‘हृदयघात मांशपेसीमा रगत सञ्चार नभए कारणले हुन्छ। मुटुले शरीरका विभिन्न मांशपेसीलाई रगत सञ्चार गर्न बन्द गर्नासाथ मानिस बेहोस हुन्छ। समयमै अस्पताल नपुर्‍याए मानिस मर्नुको विकल्प छैन्।’
 

एलेन अगाडि थप्छिन्, ‘सोसिल साइटमा कफ सिपिआर विधिको बारेमा आएका विभिन्न सन्देशमा सत्यता छैन्।’

 

गर्ने के त?

डाक्टर भट्टको अनुसार मुटुरोग हुनेहरुले नियमित स्वास्थ्य जाँच, खानपान र व्यायाममा ध्यान दिएमात्र हृदयघातबाट बच्न सक्छन्। हृदयघात हुन लाग्ने केही संकेत देखिएमा वा महसुस भएमा चाँडोभन्दा चाँडो अस्पताल पुग्नुको अन्य विकल्प छैन्।
 

डाक्टर बराल छाती दुखेमा सास फेर्न गाह्रो भएमा सकेसम्म छिटो अस्पताल पुग्न सल्लाह दिन्छन्। हृदयघात भइसकेपछि चाँडो अस्पताल पुग्नुको अन्य विकल्प नभएको उनको तर्क छ।
 

उनी भन्छन्,  ‘मुटुरोगीहरुले तौल सन्तुलित राखेर हृदयघात नै नहुने गरि स्वास्थ्यमा ध्यान दिनु राम्रो हुन्छ। र,  सोसल मिडियमामा आएका त्यस्ता म्यासेजहरुबाट सावधान रहनुपर्छ।'


थप पढ्नुस् 

कम उमेरमै मुटु चेकअप गराउने बढे, मनोविश्लेषक भन्छन्, ‘अनावश्यक डराउनु मानसिक रोग’

 

सकुशल सुतेकै अवस्थामा मानिस किन मर्छ? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell