PahiloPost

Dec 15, 2017 | २९ मंसिर २०७४

जसले घर बेचेरै जोगाइरहेछन् एचआइभी संक्रमित अवोधका सपना

जसले घर बेचेरै जोगाइरहेछन् एचआइभी संक्रमित अवोधका सपना

सागर बुढाथोकी/पहिलोपोस्ट


कीर्तिपुरस्थित एउटा स्कुलमा पुग्दा बालबालिका पढिरहेका थिए। केही लेख्नमा व्यस्त थिए। केही चित्र बनाउँदै। केही बच्चाहरु अरुलाई सिकाउँदै थिए, केही पढाउँदै। केही खेलिरहेका पनि।  सबै बच्चाहरु रमाइरहेका थिए। उनीहरुको क्रियाकलाप स्वभाविक भए पनि पहिचान भने फरक थियो— एचआइभी संक्रमित बालबालिकाहरु। 

उनीहरु पढिरहेको स्कुल हो—सफलता एचआइभी शिक्षा सदन। सफलता शिक्षा सदन नेपालको एकमात्र स्कुल हो जहाँ एचआइभी लागेका बालबालिका पढ्छन्। त्यहीँकै  छात्रावासमा बस्छन्।

‘नमस्कार सर!’  

बालबालिकाहरुले नमस्कार भन्दै परिचय दिए। उद्देश्य बताए। भावुक हुँदै जीवन कथा सुनाए। 



१६ वर्षीय करण वादी (नाम परिवर्तन)को कथा भने फरक थियो। उनले एचआइभी भएको १३ वर्षको उमेरमा थाहा पाए। त्यतिखेर पढिरहेको स्कुल जाँदा औषधि लुकाएर खान्थे। एक दिन एचआइभी संक्रमित भएको साथीहरुले थाहा पाए। करणले विगत सम्झिए, ‘त्यसपछि साथीहरु मसँग खेल्न मानेनन्। म छेउमा जाँदा पनि ढुंगा हानेर लखेट्थे। आफन्तहरुले वास्ता गर्दैन थिए। स्कुलमा पनि त्यस्तै। त्यतिबेला मलाई सिरिन्जबाट रगत झिकेर अरुलाई घोचिदिउँ जस्तो हुन्थ्यो।’
दैलेखका राज शाही (नाम परिवर्तन) ९ वर्षका थिए। खेल्दै, खादै बाल्यकालमा रमाइरहेका उनीसँग धेरै रंगिन सपना थिए। एचआइभी एड्सको कारण आमाबुवा बिते। कलिलै उमेरमै किरिया बस्नु पर्यो। उनलाई एकपछि अर्को दशा लाग्यो। बितेका आमाबुवाले उनको शरीरमा छाडेको एचआइभी जिवितै थियो। सोही कारण उनले गाउँ नै छोड्नुपर्यो। 

उनको रंगिन जीवन एकाएक श्यामस्वेतमा परिणत भयो। उनलाई आफन्तले ५० रुपैया दिएर गाउँबाट लखेटेँ। उनी गाउँ छोड्न बाध्य भए।

काठमाडौँ आइपुगे बाटोमा अनेक संघर्ष गरेर।

गाउँमा भएको भए उनको जीवन कतै रुमल्लिरहेको हुन्थ्यो। औषधि, खानपान र प्रोत्साहन नपाएर यो संसारमा नरहन पनि सक्थे। तर, ५० रुपैयाँ बोकेर काठमाडौँ छिरेका उनको जीवनले एकाएक टर्निङ पोइन्ट लियो।

अहिले उनी फेरि रगिंन सपना बुन्न थालिसकेका छन्। सडक हुँदै सामाजिक संस्थाको सहयोगमा सफलता एचआइभी शिक्षा सदनमा भेटिएका उनी आत्मविस्वासी सुनिन्छन्,  ‘म असल डाक्टर बन्छु।’



१४ वर्षीय प्युठानका विक्रम थापा (नाम परिवर्तन) ले सुनाए,  ‘अहिले म जहाँ  छु खुशी छु। आफूले नगरेको गल्तीको सजाए भोग्नु पर्यो। बुवाआमा नहुँदा भन्दा समाजको दुर्व्यवहार सम्झँदा दु:ख लाग्छ।’

यहाँ रहेका २४ जना बालबालिकाका बुवाआमा छैनन्। कोही समाजबाट लखेटिँदै यहाँ पुगे भने कतिलाई आफन्तले नै पुर्‍याए। जीवनको आशा मारिरहेका उनीहरु अहिले रंगिन सपना बुनिरहेका छन्। समाजबाट तिरस्कृत भएर यहाँसम्म आइपुगेका उनीहरु दैलेख, कैलाली प्युठान लगायत जिल्लाका छन्।

६ वर्षीय राजु भन्छन्,  ‘म पाइलट बन्छु।’ राजुको जस्तै सबै बालबालिकाको एक/एक वटा सपना छ। सपना पूरा गर्न सबै आत्मविस्वासी पनि।
विद्यालय सञ्चालक राजकुमार पुनलाई यहाँ आश्रय र शिक्षा लिइरहेकाहरु ‘बुवा’ मान्छन् र उमा लामालाई  ‘आमा’। उनीहरुको माया र परामर्शका कारण सबै बालबालिकाहरु सकरात्मक छन्। 

राजकुमार भन्छन्, ‘पहिला रोइ कराई गर्ने र मर्छू भन्नेहरु अहिले एचआइभीले मान्छे नमर्ने भन्ने बुझेका छन्। यथार्थलाई स्वीकार गरेर केही गर्ने अठोट लिएका छन्।’



आफ्नो कथा सुनाइरहेका बच्चाहरुलाई मनोजले निर्देशन दिए, ‘फोटो खिच्दा अनुहार लुकाउनु।’ 

दाङका १६ वर्षीय विशाल विकले (नाम परिवर्तन) प्रश्न गरे, ‘बुवा जहिले हाम्रो अनुहार किन लुकाउनु? हामी समाजमा चिनिन चाहन्छौँ। हाम्रो पहिचानमा हामीलाई कुनै गुनासो छैन्।’

‘१८ वर्ष नपुगी तिमीहरुको अनुहार देखाएर फोटो हाल्न मिल्दैन्, त्यही भएर हो,’ राजकुमारले सम्झाए। 

समाचारले मोडेको जीवनको बाटो

२०६६ साल। महिना याद छैन राजकुमारलाई। कान्तिपुर दैनिकमा 'दाङमा एचआइभी संक्रमित बालबालिकाको बिचल्ली’ भन्ने समाचार आयो। समाचारले उनको सोचाइमा ३ सय ६० डिग्रीको परिवर्तन ल्याइदियो। 

राजकुमार स्कुलमा साधारण प्रशासक थिए। समाज सेवामा चासो शून्य। एकाएक मनमा आएको परिवर्तनले उनी आफै चकित थिए।

उनले साथी उमालाई खबर सुनाए। समाज सेवामा चासो राख्ने उमालाई पनि समाचारले छोयो। बच्चाहरुलाई  सहयोग गर्न लत्ताकपडा, कापी कलम र खाद्यान्न बोकेर उनीहरु दाङ पुगे।

कुपोषणले गर्दा बच्चाहरुको शरीरमा हाडछाला मात्र बाँकी थियो। लगाउने लुगा थिएन। समाजबाट घृणित थिए भने आफन्तबाट तिरस्कृत। एउटै गाउँमा त्यस्ता धेरै बच्चाहरु! राजकुमार चिन्तित भए।



‘बाबु यी बच्चाहरुलाई यहाँबाट लगिदिनुस्। यिनीहरुले गर्दा हाम्रो छोराछोरी बाँच्दैनन्। अरुलाई पनि सार्छन्,’ एक जना दिदीले राजकुमारलाई आग्रह गरिन्।

उनको कुरा सुनेर राजकुमारको मनमा चिसो पस्यो। बुवाआमा नभएकालाई सहारा दिनुपर्ने साटो आफन्तले बोझ ठानेका रहेछन्। राजकुमार उनीहरुलाई लिन गएका थिएनन्। तर, आफूसँगै ल्याउने निष्कर्षमा पुगे। 

दाङका सिडिओले कुनै संस्था दर्ता नभई बालबालिकालाई लैजान नपाउने बताए। राजकुमारले त्यहाँ भेटिएका निरिहहरुलाई आश्वासन दिएर काठमाडौं फर्के।

संस्था दर्ता गराउन सजिलो थिएन्। यस्ता बालबालिका पाल्न सक्ने स्रोत देखाउनुपर्थ्यो। राजकुमार न व्यापारी थिए न धनाढ्य परिवारका सदस्य नै। 

‘बच्चा लिन नजाउँ मनदेखि नै समाजसेवा गर्ने भुत चढेको छ। जाउँ सस्था दर्ता गर्नै गाह्रो,’ राजकुमारले भने, ‘मैले कीर्तिपुरमा भएको घरको लालपुर्जा राखेँ। उमाले कस्मेटिक होलसेलबाट आएको नाफा संस्थामा खर्च गर्ने कागज गरिन्।’



२०६७ सालमा ‘बेबी लाइफ होम’ नामक संस्था दर्ता भयो।


घर बेचेर समाजसेवा

४ जना बालबालिकालाई काठमाडौं ल्याए दाङका सिडिओसँग बस्ने, खाने र पढाउने कागज गरेर। त्यसपछि राजकुमारको वास्तविक संघर्ष सुरु भयो।

काठमाडौँको धेरै ठाउँ चहार्दा राजकुमारले कोठा पाएनन्। सबैको जवाफ एउटै हुन्थ्यो, ‘यस्तो एड्स लागेकालाई हाम्रो घरमा राख्दैनौं।’

राजकुमारले आफ्नै घरमा उनीहरुलाई राखे। नियमित स्वास्थ्य जाँच र पोषणयुक्त खाना पाएपछि उनीहरु स्कुल पठाउन लायक भए। 

स्कुल भर्ना गर्नलाई कोठा खोजेभन्दा धेरै सास्ती! जुन स्कुल पुगे पनि प्रिन्सिपलहरु भन्थे, ‘यस्ता बच्चाहरु राखेर रिस्क मोल्न सक्दैनौं। अरु अभिभावहरुले थाहा पाए हाम्रो स्कुलबाट बच्चा झिकेर लैजान्छन्। सरी!’



राजकुमारलाई फेरि आपत पर्यो। त्यतिबेला उनीसँग एचआइभी संक्रमित १० जना बालबालिका भइसकेका थिए। पढाउन ल्याएको उनीहरुलाई बिचल्ली पार्न उनको धर्मले दिँदैनथ्यो।

उनको एकमात्र विकल्प थियो- काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई भेट्ने। समस्या सुनिसकेपछि तत्कालीन जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्कीले भने, ‘बच्चाहरुलाई आफैँ स्कुल खोलेर पढाउनुस् म स्कुलका लागि अनुमति दिन्छु।’

२०६८ सालमा कीर्तिपुर नगरपालिकामा स्कुल खोले उनले। स्कुलले कक्षा ५ सम्म पढाउन अनुमति पायो। त्यही स्कुल नेपालको एकमात्र स्कुल बन्यो - एचआइभी संक्रमित बालबालिकाहरुलाई पढाउने।

स्कुल त खुल्यो सञ्चालन कसरी गर्ने?  शिक्षकहरुलाई तलब कहाँबाट दिने? राजकुमारको मुख्य चिन्ता यही थियो। सहयोग कतैबाट आएको थिएन। स्कुल बनाउनेदेखि हरेक सामान जोड्नको लागि पैसाको जरुरत थियो। बच्चाहरुलाई भोकै राख्ने कुरा थिएन। 

राजकुमारले विकल्प भेटेनन्। ३० लाखमा घर बेचे। कीर्तिपुरमा जग्गा भाडामा लिए। टहरोमा स्कुल बनाए। त्यतिबेला उनलाई पागल भन्नेहरुको कमी थिएन।

२०७२ सालमा भूकम्पले टहरो पनि भत्काइदियो। टेन्टमा बस्न सुरक्षित थिएन्। राजकुमारलाई समस्या दोहोरियो।

धेरै ठाउँ घर खोजे। तर, कतैबाट सकरात्मक जवाफ पाएनन्। राजकुमार थकित भए। ५० लाखमा बेबी लाइफ होमको नाममा १० आना जग्गा जोडे। स्कुल बनाए। केही रकम नेपालीहरुबाट सहयोग जुट्यो भने केही रकम आफैँ हाले। उनले ऋण समेत बोक्नुपर्यो।

उद्यम गरेर समाजसेवा

समाजसेवा गर्न अरुको सहयोगमा भर नपरेको राजकुमारको दाबी छ। भन्छन्, ‘ललितपुरमा मान्छे लगाएर कुखुरा फार्म र कृषी फार्म चलाएको छु। त्यहाँबाट आएको नाफा यही लगाउँछु। कीर्तिपुरमा पनि तरकारी खेती गरेको छु। ती सबै ठाउँबाट आएको पैसा शिक्षकहरुलाई तलब  र पालनपोषणमा खर्च हुन्छ।’

उनी एनजीओ आइएनजीओको पैसामा बालबालिका नपढाउने बताउँछन्। बालबालिकाको फोटो देखाएर  सहयोग लिएर काम गर्ने पक्षमा छैनन् उनी। भन्छन, ‘मैले नाम र दामका लागि हैन आत्मसन्तुष्टिका लागि पढाएको हो। बालबालिका पढाउन कृषी फार्मबाट नै जेनतेन पुगिरहेको छ।’



बच्चाहरुलाई सहयोग गर्न कलाकारहरु बर्थ डे मनाउन आउँछन्। व्यावसायीहरु एनिभर्सरी मनाउन पुग्छन्। राजकुमार भन्छन्, ‘महिनैपिच्छे नगद दिनेहरु पनि छन्। तर, म एनजीओ/आइएनजीओको सहयोग लिन्न।’


निरुत्साहित पार्नेहरु धेरै

काम सुरु गरेदेखि अहिलेसम्म प्रोत्साहन पाएका छैनन् मनोजले। घर बेचेर पढाउँदा समेत उनलाई प्रोत्साहन गर्ने कोही थिएनन्। 

तर , मराजकुमार हार मान्ने पक्षमा थिएनन्।  भन्छन्, ‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भनेर आफ्नो काममा लागेँ।’

सरकारले गर्नु पर्ने सहयोग पनि नगरेको राजकुमारको गुनासो छ। भन्छन्,  ‘एउटा व्याक्तिले बालबालिका ल्याएर पढाएको छ। कक्षा ९ सम्म पुगिसके। सरकारसँग सहयोग माग्दा सकरात्मक प्रतिक्रिया छैन्। उनीहरुको भविष्यको लागि सोच्ने कसले?’

अन्यौलमा भविष्य

एचआइभी संक्रमित बालबालिकाको क्षमता सामान्य बालबालिकाको भन्दा कम नभएको राजकुमार बताउँछन्। बच्चाहरुले विभिन्न ठाउँमा गएर पुरस्कार जितेका छन्। खेलकुददेखि, चित्रकला,  नृत्य र अभिनयमा पोख्त छन्। उनीहरुको अन्य बालबालिका सरह सपना छ।  राजकुमार भन्छन्, ‘उनीहरुलाई खाचोँ छ त अवसरको।’



उनीहरुको भविष्यप्रति चिन्तित छन् राजकुमार। एचआइभी संक्रमित बालबालिका राख्दा समाज नै जाइलागेको घटना बिर्सेका छैनन्। 

उनी केही महिनाअघिको घटना सुनाउँछन्, ‘केही दिनअघि एक बालकलाई निमोनिया भएर कान्ति बाल अस्पताल लग्यौं। अवस्था धेरै खराब थियो। डाक्टरले एड्स लागेको बच्चा भन्ने बितिकै बेड खाली छैन भने। मैलै बच्चालाई केही तलमाथि भयो भने मिडियाहरुलाई यो घटनाको यथार्थ बताउँछु भने। त्यसपछि भर्ना गर्यो। भित्र जाँदा धेरै बेड खाली रहेछ।’

उनलाई यस्ता घटनाले नियमित जस्तो चिन्तित बनाउँछ। दिक्क मान्दै भन्छन्, ‘अब १० कक्षा पछि कलेजले भर्ना लिन मान्दैन्। जागिर पाउँदैनन्। त्यो बेला यिनीहरुलाई कति चोट पर्दो हो? कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेको छु।’

केही पछि बच्चाहरुलाई संस्था ह्याण्ड ओभर गर्ने सोचमा छन् राजकुमार। बच्चाहरु आफुजस्तै मानिसको हितमा काम गर्न इच्छुक पनि छन्। बच्चाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने योजना छ उनको। भन्छन्, ‘यिनीहरुका लागि गर्दै छु। हेरौँ कति सम्म सफल हुन्छु।’


ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal