PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अक्षमको दाग मेटाउँदै चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार



सूर्य खड्का

अक्षमको दाग मेटाउँदै चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार

  • टिप्पणी
तारन्तारका एम्बुस अवरोधले छेकेन। शृङ्खलावद्ध 'बम' विष्फोटनका घट्नाले पनि त्रसित र भयभित जनमनका पाइलाहरु रोक्न सकेन। जनताको स्वतःस्फूर्त चुनावी मोह आइतबार बिहानी सूर्योदयसँगै सुरु र सूर्यास्तसँग सकियो। यो सफल पहिलो चरणको मतदानसँगै चुनावी सफलतामा एक नयाँ कोसेढुंगा थपिएको छ भने संविधान कार्यान्वयनको एक नयाँ अध्याय नयाँ उचाइमा पुगेको छ। साढे ४ हजारभन्दा बढी मतदान केन्द्रमध्ये जम्मा दुई वटा मतदान केन्द्रको मात्रै मतदान स्थगित भयो। मंसिर १० मा प्रदेश र प्रतिनिधि सभातर्फ सम्पन्न चुनाव संविधान कार्यान्वयनको सफल खुड्किलो रुपमा इतिहासमा दर्ज भैसकेको छ। 

परीक्षा त हो नै मंसिर १० को पहिलो चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन। यो चुनावी परीक्षामा सामेल जनताको विवेकको परीक्षा अनेकन आशंकाहरुका बीच पनि सम्पन्न भैसकेको छ। हरेक पीर मर्का वा बाधा व्यवधानका बावजुद नेपाली जनता चुनावी कोर्स सफल पार्न साँच्चै दत्तचित्त भएर लाग्छन् भन्ने नयाँ उदाहरण पुनः आइतबारको सफल मतदान बनेको छ। संविधान कार्यान्वयन गर्ने चुनावमा जनताको भव्य उत्साहजनक सहभागिता जनताको चुनाव प्रेम र संविधान कार्यान्वयनका लागि मतादेशको नयाँ स्वीकृति पनि हो। 

संसारकै राजनीतिक अभ्यासमा जनताको भोटलाई नै सर्वमान्य प्रजातान्त्रिक अभ्यास मानिने कोणबाट हेर्दा नेपाली जनताले वर्तमान संविधान र व्यवस्थाका पक्षमा आधा बाजी जितेका छन्। किनभने अब बन्ने संसद, सरकार वा तिनको काम कारवाहीका कारक र सूत्रधार मतदानमा सामेल लाखौं नेपाली भोटर नै हुन्, हुनेछन्। अब प्रत्येक मतदाताले भावी दिनमा सरकार वा दललाई गाली गर्नुपूर्व आफ्नो मत कता, केमा गएको थियो भन्ने पनि हमेशा हेक्का राख्नै पर्नेछ।

जिन्दगीमा एक भोट दिने बेला मात्रै भाउ पाउने गरेका आम जनताले क-कसलाई मत दिए ? कुन राजनीतिक दललाई कुन हैसियतमा राखे भन्ने खुल्न त मंसिर २१ को दोस्रो चरणको चुनाव पनि सकिनै पर्छ। त्यतिन्जेल सिलबन्दी गरिएका मतपेटिका अर्थात् बन्द बाकसमा कैद भएको जनताको मतमा नै सात सय बढी उम्मेदवारको भावी हैसियत स्थापित हुनेछ।

निर्वाचन आयोग, सरकार वा सुरक्षा अंग र राजनीतिक दलहरुको पनि यो अग्निपरीक्षा नै  थियो। राज्यका सबै निकाय आ-आफ्ना हिस्साको त्यो परीक्षामा उम्दा साबित हुन प्रयासरत देखिनुको कूल परिणाम नै थियो सफल पहिलो चरणको मतदान। परीक्षा सकिएको विद्यार्थी जस्तै अब परिणामको प्रतिक्षामा सबै उम्मेदवार र दलहरुले बाँकी ध्यान दोस्रो चरणको मतदानमा केन्द्रित गर्नेछन्।

पहिलो चरणको मतदान सम्पन्नसम्मको अवस्थामा बधाईका हकदार प्रथमतः जनता हुन, जसले आफ्नो अमूल्य मतसँग आफ्ना भावी प्रदेश सांसद र प्रतिनिधि सभाका सांसद आफ्नो तहबाट मतपत्र मार्फत् छानिसकेका छन्।

यसबाहेक नेकपा एमालेकै अध्यक्ष केपी ओलीका शव्दमा सरकार निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको भनिएका बेला पहिलो चरणको मतदान नै अनपेक्षित रुपमा शान्तिपूर्ण र उत्साहजनक जनसहभागितामा सकिएकोले यो चुनावी सफलतामा बधाईका एक मुख्य हकदार वर्तमान सरकार नै हो।

सरकार प्रमुखका हिसाबले प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा नै यो सफलतामा बधाईका पात्र हुन्। किनभने प्रधानमन्त्रीका कुर्सीमा चौथो पट्क आसिन देउवामाथि उनमा यो चुनाव गराउने मनसाय नै छैन भन्ने गम्भीर आशंका र आरोप उनका विपक्षी मात्रै होइन, स्वयं सत्तासहयात्री र एकाथरी कांग्रेसीहरुभित्रैबाटै अधिक थियो।

मूलतः प्रधानमन्त्री देउवालाई सत्तारोहण गराउने सत्तासहयात्री नेकपा माओवादी केन्द्रले अप्रत्याशित वाम गठबन्धनको थालनीसँगै सरकार प्रमुख यो वा त्यो कुनै पनि बहानामा चुनाव गराउँदै छैैन भन्ने आरोपमा उत्रियो । वाम गठबन्धनमा विपक्षीसँग हातेमालो गरिसकेपछि सिद्धान्ततः सत्ताबाट हट्नुपर्ने नैतिक दायित्वबाट बच्न सरकार चुनाव सार्ने षडयन्त्रमा लागेको आरोपका साथ ढाकछोप गर्ने खुल्लमखुल्ला घटिया द्वैध राजनीति माओवादी केन्द्रबाट भएकै हो।

यसको जवाफमा प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई सरकारबाट घोक्रेठयाक लगाउन खोजेकै हुन्। तर माओवादीको वाम गठबन्धनको साइड इफेक्टका कारण सरकार माओवादी सम्बन्धमा थपिएको चिसोपनालाई प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुको बर्खास्तीसँगै राजनीतिक हिसाब मिलाउन सकेनन्। फलतः संवैधानिक अंकुशको बाध्यताका बीच उनले माओवादीका करीब डेढ दर्जन मन्त्रीहरुलाई बिना विभागीय बनाई दिए।

तर बिना विभागीय मन्त्री भएर पनि माओवादी सत्तामा टाँसिनु बाध्यतामा रहेको दाबी गरेर कहिल्यै थाकेन। सरकार चुनाव सार्न लागेको माओवादीको खुल्ला आरोप र आशंका उसको सत्तामा नै बसेर चुनाव लड्ने राजनीतिक महत्वाकांक्षा थियो भन्ने पुष्टि अहिले सम्पन्न सफल मतदानले देखाएको छ। र, यहाँनेर विपक्षी एमालेको मात्रै होइन, सकसपूर्ण सम्बन्धको सत्तासहयात्री माओवादी केन्द्रका सबै आरोप र आशंकाहरुलाई पनि सरकार प्रमुखका हैसियतमा प्रधानमन्त्री देउवाले मिथ्या साबित गरिदिएका छन्। 

प्रधानमन्त्रीका रुपमा देउवालाई सत्ता सहयात्री माओवादीले नै एक हिसाबले लात मारेका अवस्था, निर्वाचन बिथोल्ने मनसायका साथ सुरु गरिएका श्रृखलावद्ध उम्मेद्धवार लक्षित विष्फोटका घट्ना र राजनीतिक दलहरुबाटै तारन्तारका आशंकका बीच प्रधानमन्त्री चुनाव शान्तिपूर्ण गर्न सक्ने कि नसक्ने भन्ने संशय मंसिर १० सम्मै थिए । 

तर ज्योतिषीय भविष्यवाणी अनुसार सातौ पट्कसम्म प्रधानमन्त्री हुने सपना देखेका देउवाले आफैले प्रधानमन्त्रीको हटसिटबाट हट्ने सम्भावना रहेको चुनाव गराएर चुनावी सफलतामा नयाँ सफलताको कीर्तमान बनाएका छन्। 

राजनीतिक रुपमा चुनाव गराउन अक्षमको उपमा पाएको कालो विगतको आलोकमा दोस्रो र तेस्रो चरणको स्थानीय चुनाव आफ्नै नेतृत्वमा सम्पन्न गराएका देउवाले प्रदेश र संसदको पहिलो चरणको चुनाव पनि सफल पारेर कालो विगतका सबै धब्बा सुकिलो बनाएका छन्।

यससँगै उनले संविधान कार्यान्वयनको आधाउधी कोर्स पनि पूरा गरेका छन्। मंसिर १० को सफल मतदान २१ मंसिरको मतदान पनि सफल हुने पूर्व सूचक नै हुन्। यसरी हेर्दा चुनावी खेलमा गोल गर्न सफल देउवा इतिहासका सफल सत्ता क्याप्टेनका रुपमा पुनः दर्ज भएका छन्। चुनावी रेसमा उनले नेतृत्व गरेको दल कांग्रेसको पोजिसन के हुने हो ? चुनावी नतिजाले पनि उनको सरकारको नेतृत्वको हिसाब किताब गर्ला नै । तर सरकार प्रमुखका रुपमा भने देउवाले भद्रगोल राजनीतिलाई चुनावी गोलमा सफल बनाएका कारण देउवाका पार्टीभित्र र बाहिरका सबै बैरी र आलोचकहरुका मुखमा अहिले भोटे ताल्चा लाग्न पुगेको छ।

सत्ता सहयात्री हुनुका नाताले, देउवालाई सत्तामा पुर्‍याउने कारक दल भएका कारणले यो चुनावी सफलताको जसको भागिदार एक हदसम्म माओवादी पनि हो। माओवादीका अध्यक्ष प्रचण्ड वा एमाले अध्यक्ष ओली लगायत कुनै पनि नेताले यो चुनावी सफलताको एक हिस्सेदार आफूलाई दाबा गरिरहँदा अन्यथा हुने छैन नै। तर कूलमा भने देउवा नै सरकारका क्याप्टेन भएका कारण उनी बधाईका मुख्य हकदार रहे।

प्रचण्ड नेतृत्वको माओवादीको सत्तालिप्साको नाङ्गो स्वरुप बिना विभागीय मन्त्री हुँदा पनि सरकारमा नै बस्ने हदसम्म उदाँगो नभएको भए उसको नैतिक धरातल थप गर्विलो हुने थियो। तथापि सत्तालिप्सावादको नयाँ माओवादी स्वरुपका बीच उसले चुनावी सफलतामा खेलेको भूमिका भने कम रहेन। एमाले त उसै पनि आफूलाई भावी सरकारको नेतृत्वको दाबेदार ठानिरहेको छ । त्यसैले ऊ चुनावी सफलताका लागि सुरु देखि नै सकारात्मक रहदै आयो नै।

देउवा नेतृत्वको सरकारको यो चुनावी सफलता आफैंमा पूर्णता होइन। यसको दोस्रो प्रहर मंसिर २१ पनि मुखैमा छ। तर बिहानले दिनको संकेत गर्छ भने झैं यसले चुनावी कोर्सको पूर्ण सफलताको हरियो झण्डा देखाइरहनु वर्तमान संविधान, व्यवस्था दुबैका लागि शुभ संकेत हो। वर्तमान गणतन्त्रलाई अस्वीकार गर्ने तप्काहरुका लागि यो कुनै महत्वको कुरा नहुन सक्छ। तर गणतन्त्रका हिमायतीहरुका लागि, संविधानका पक्षपतीहरुका लागि देउवाको पछिल्लो चुनावी गोलले नयाँ सरकार र संसदको बाटो खेल्दै नयाँ राजनीतिक कोर्सको पनि शिलान्यास गरेको छ। यो देउवा सत्तायुगको नयाँ उपलब्धि नै हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell