PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर : नेपालले मलेसियालाई हरायो, शीर्ष दुईमा पर्ने झिनो सम्भावना



पहिलोपोस्ट

वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर : नेपालले मलेसियालाई हरायो, शीर्ष दुईमा पर्ने झिनो सम्भावना

काठमाडौं : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी-२० वर्ल्डकप एसिया क्वालिफायरमा नेपालले पहिलो जित हात परेको छ।

यसअघिका तीन खेलमध्ये दुई वर्षाले प्रभावित हुनु र एकमा पराजित भएपछि नेपालले जित हात पार्न सकेको थिएन।

आफ्नो चौथो खेलमा नेपालले शुक्रबार मलेसियालाई ३३ रनले पराजित गरेको हो। १०९ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले ७५ रनमा रोक्दै जित हात पारेको हो।

जितपछि नेपालले ४ खेलबाट ४ अंक नै जोडेको छ। पहिलो खेलमा थाइल्याण्ड तथा दोस्रो खेलमा हङकङसँग अंक बाँडेको नेपाल तेस्रो खेलमा युएईसँग ५ रनले पराजित भएको छ।

जितपछि मलेसिया समान ४ अंक भएपनि नेपाल रनरेटमा पछि पर्दै चौथो स्थानमा छ। ४ खेलबाट ७ अंक जोडेको थाइल्याण्ड पहिलो तथा ३ खेलबाट ५ अंक रहेको हङकङ दोस्रो स्थानमा छ। नेपालले शीर्ष दुईमा स्थान बनाउँदै ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आजै हुने हङकङ र युएईबीचको खेलमा आफूअनुकुल नतिजा आउनुपर्नेछ।

हङकङले युएईलाई हराए नेपाल एक खेल खेल्नुअघि नै बाहिरिनेछ। यदी आज युएईले हङकङलाई हराएको खण्डमा नेपालको केही सम्भावना बाँकी रहन्छ। तर त्यसका लागि हङकङ र युएई दुवै टोली अन्तिम खेलमा पराजित हुनुपर्नेछ भने नेपालले अन्तिम खेलमा चीनलाई राम्रो रनरेटमा हराउनुपर्नेछ।

 

सीता राना मगरको राम्रो ब्याटिङ

नेपालले मलेसिया विरुद्व टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १०८ रन बनाएको थियो। जसमा सीता राना मगरले सर्वाधिक ३७ रनको योगदान गरिन्।

उनले ४२ बल खेल्दै ३ चौका समेत प्रहार गरिन्। यस्तै ज्योती पाण्डेले २१ तथा काजोल श्रेष्ठले १८ रन बनाइन्।

मलेसियाकी जनादिह हालिम र नुर अरियना नत्स्याले समान २ विकेट लिइन्।

जवाफमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि एमएली एलिएनीले सर्वाधिक २४ तथा कप्तान डब्लु ए दुरासिंगमले ११ रन बनाइन्। जायनी स्यामिमि १६ रनमा नटआउट रहिन्।

नेपालका लागि करुणा भण्डारीले ३ तथा सोनु खड्का, सीता राना मगर, रितु कनौजिया र नेरी थापाले १-१ विकेट लिइन्।

नेपालले अब राउण्ड रोविनको अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell