PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टिचिङ पुगेर राष्ट्रपति यादवले गरे घाइतेलाई 'काउन्सिलिङ'



टिचिङ पुगेर राष्ट्रपति यादवले गरे घाइतेलाई 'काउन्सिलिङ'
फाइल फोटो

  • सरोज काफ्ले -
काठमाडौं : 'इन्डोनेसियामा सुनामी जाँदा १५ हजार मानिस मरे। सबै तहसनहस भयो। तर, अहिले त्यहाँ सुनामी गएको थियो भन्ने केही पनि संकेत छैन। सबै बनिसक्यो,' शिक्षण अस्पताल पुगेका राष्ट्रपति डाक्टर रामवरण यादव भन्दै थिए।

उनको कुरा सुनिरहेकी थिइन् बीएस्सी अध्ययनरत गोंगबुकी युवती अरुणा घिमिरे। भूकम्पले उनको ज्यानमा जति चोट दिएको छ त्योभन्दा बढी चोट मनमा छ। त्यसैले उनी आत्तिरहेकी थिइन्।

राष्ट्रपति यादवले उनको मुहारमा त्रास पढिसकेका थिए। 'यो अस्पताल जापानले बनाएको हो, ८ रेक्टरस्केलको भूकम्प आउँदा पनि केही हुन्न डराउन पर्दैन,' यादवले उनको मनलाई बलियो बनाउने उद्देश्यसहित भने, 'यहाँ बस्न डराउनुपर्ने भए म यहाँ किन आउँथे र ! नडराऊ।'

राष्ट्रपतिले आठ रेक्टर स्केल भन्दै गर्दा नजिकै रहेका डाक्टरले १० रेक्टर स्केलले अस्पताललाई केही नहुने बताइरहेका थिए। यादवले ती डाक्टरलाई हेरे र आँखा झिम्क्याए।

राष्ट्र प्रमुखले एकाएक अस्पतालमा आएर सान्त्वना दिएपछि अरुणाले सुनिरहिन् मात्र। अभिभावकत्व महसुस गरेकी उनले अन्तिममा मात्र 'हस्' भनिन्।

वैशाख १२ गतेको विनाशकारी भूकम्पमा घरबाट खसेको पानी ट्याङ्की लागेर उनी घाइते भएकी थिइन्। वैशाख २९ मा दोस्रो भूकम्प जाँदा उनी मनमोहन कार्डियोलोजीमा उपचाररत थिइन्। त्यसपछि शिक्षण अस्पताल सारिएकी उनी त्रसित थिइन्। बेडमा सुत्दा पनि डर लागिरहेको थियो उनलाई। राष्ट्रपतिले आएर निर्धक्क हुन भनेपछि उनको अनुहारमा सन्तोषका भाव देखिए।  

वीरेन्द्र सैनिक उच्च माविमा ८ कक्षा पढ्दै गरेका सन्देश बस्नेत रोइरहेका थिए, राष्ट्रपति पुग्दा। उनका दुवै खुट्टा काटिएको छ। भूकम्पमा परेका उनको छटपटीले डा. यादवलाई नछुने कुरै थिएन। उनीसँग पनि सोधखोज गरे।

१४ वर्षका यी बालकका बाबु माओवादीद्वारा मारिएका प्रहरी थिए। द्वन्द्वमा पिता गुमाएका उनले भूकम्पमा दुवै खुट्टा गुमाए। त्यसमाथि कुँजिएर उपचार गर्दाको दुखाई। सोलुखुम्बुका उनलाई राष्ट्रपतिले धैर्य रहन र पढाइलाई निरन्तरता दिन सल्लाह दिए।

आज दिउँसो राष्ट्रपति यादव भूकम्पमा परेका घाइतेहरुको अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका हुन्। उनले उपचाररत घाइतेसँग उनीहरुको अवस्थामात्र बुझेनन्, पीडा र त्रासमा रहेका घाइतेलाई काउन्सिलिङ पनि गर्न पनि भ्याए। उनी अस्पतालको व्यवस्थापन र बिरामीको अवस्था बुझेपछिमात्रै फर्किए।

सुरक्षाको दलबलसहित आएका कारण त्यहाँ फोटो खिच्न दिइएको थिएन। राष्ट्रपतिले हाडजोर्नी र आँखाको वार्डमा भ्रमण गरे। यी दुवैमा भूकम्पबाट घाइते भएकाहरुको उपचार भइरहेको छ। करिब ४० घाइतेसँग उनले भेटेरै दोहोरो कुराकानी भ्याए। केहीलाई धेरै समय दिए भने केहीसँग छोटै समयमा पनि सोधखोज गरे।

अस्पतालका निर्देशक प्राध्यापक डाक्टर दीपकप्रकाश महराले त्यहाँको अवस्थाबारे राष्ट्रपति यादवलाई अवगत गराएका थिए। घाइतेको अवस्था बुझेपछि निर्देशकको कार्यकक्षमा चिया पिएर फर्कँदा राष्ट्रपति यादवले भने, 'म घाइतेलाई सान्त्वना मिलोस् र उपचारमा खटिनुभएका तपाईँहरुलाई यसैगरी लागिरहन प्रेरित गरोस् भनेरमात्र आएको हुँ।'

राष्ट्रपति यादव मेडिकल डाक्टर हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell