PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ह्वाट्सअप र भाइबरबाट ठगिनेको ताँती लाग्दैछ मोरङ प्रहरीमा



अनन्तराज न्यौपाने

ह्वाट्सअप र भाइबरबाट ठगिनेको ताँती लाग्दैछ मोरङ प्रहरीमा

विराटनगर :  ह्वाट्सअप र भाइबरबाट तपाईंलाई चिट्ठा पर्यो भन्दै ठगी गरेको आरोपमा विराटनगरका अनुपचन्द सेठियालगायतका व्यक्तिहरू पक्राउ परेपछि मोरङ प्रहरीमा ठगिनेको ताँती लाग्न थालेको छ।

तनहुुँ घर भई भरतपुरमा जागिरमा रहेका ईश्वरकुमार श्रेष्ठले पटकपटक गरेर १२ लाख रुपैयाँ बुझाएका छन्।

उनलाई पनि पाकिस्तानको कोड ०९२ भएको नम्बरबाटै भाइबरमा फोन आएको थियो । श्रेष्ठलाई २ अलगअलग व्यक्तिले फोन गरेर चिट्ठाको रकम दिन्छु भन्दै आइएमईमा रकम हाल्न लगाएका थिए ।

पाकिस्तानी नम्बरबाट फोन आएको भएपनि श्रेष्ठले नेपालकै व्यक्तिका नाममा रकम पठाएका थिए।रकम पठाएको कागज बोकेर उनी अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा धाइरहेका छन्।

श्रेष्ठकै जस्तो ठगाइमा पोखराकी इन्द्रकुमारी गुरुङ पनि परेकी छन्। भाइबर कलकै आधारमा उनले ३ पटक गरेर जम्मा ३ लाख ६५ हजार रुपैयाँ आइएमईमा हालेकी छन्।

‘ठगिएका त अरू पनि छन्, यसरी ठगिनेहरू पोखरामा थुप्रै छन्’, इन्द्रकुमारीले भनिन्, ‘धेरै जना प्रहरीमा आउन चाहिरहेका छैनन् । समाजले गिज्याउला र खिसी गर्ला भत्रे उनीहरूलाई डर छ।’

सुनसरी, धरानका लालबहादुर गुरुङ पनि आफ्नो ३ लाख ५० हजार रुपैयाँ ठगाइमा स्वाहा भएको कागजप्रमाण बोकेर मोरङ प्रहरीमा धाइरहेका छन्। 

कास्कीकै लेखनाथ नगरपालिका भँडारीको १२ लाख ८४ हजार र पोखराकै विष्णुमाया गुरुङको १ लाख २० हजार ठगिएको उजुरी मोरङ प्रहरीमा आइपुगेको छ।

मोरङ प्रहरीका एसपी अरुणकुमार बिसीका अनुसार तीन दिनयता भाइबरबाट ठगिने २० जना भन्दा बढी सम्पर्कमा आइसकेका छन्। 
अनुसन्धानमा प्रभाव पर्नसक्ने हुँदा सबैको नाम भत्र नमिल्ने उनले बताए।

जाहेरी फिर्ता लिन दवाव

अनुपचन्द सेठियालगायतका ५ जनालाई ठगीमा जाहेरी दिने पर्वतकी सङ्गीताकुमारी गुरुङलाई पाकिस्तानी कोड ०९२ भएकै नम्बरको भाइबरबाट जाहेरी फिर्ता दिन दवाव आएको छ ।

‘जाहेरी फिर्ता गर, म तिम्रो रकम फिर्ता गरिदिन्छु’, सङ्गीताले भनिन्, ‘यसो भनेर हिन्दीमा बोल्ने मान्छेले तीन पटक दवाव दिइसक्यो। तर म जाहेरी फिर्ता लिने छैन ।’

एसपी बिसीले मुद्दा र घटनाको थप अनुसन्धान गर्न काठमाडौंबाट विशेषज्ञको टोली मगाइएको जानकारी दिए। 

‘अभियुक्तहरूलाई अहिले ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ’, एसपी अरुणको भनाइ थियो, ‘यही मङ्सिर ७ गते दोस्रो पटक म्याद थप्न उनीहरूलाई अदालत पुर्याइनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell