PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद अर्को वर्ष मंसिरमा गर्ने लक्ष्य



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद अर्को वर्ष मंसिरमा गर्ने लक्ष्य

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अर्को वर्ष मंसिर दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद गर्ने लक्ष्य लिएको बताएका छन्।

आगामी वर्ष नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न आएका सदस्य सचिव विष्टले भने ‘ठ्याक्कै मिति नै तोकर अहिले भन्न नसकिए पनि मंसिरको दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ।'

'हामीलाई अहिले १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, तर हामी तोकिएको समयमा दुवै खेल प्रतियोगिता सञ्चालन गरेरै छाड्छौं' विष्टले दावीका साथ भने।

सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा एक अर्ब २४ करोड र खेल सञ्चालनका लागि ३५ करोड गरी अनुमानित एक अर्ब ५९ करोड खर्च हुने आँकलन गरिएको बताए।

कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ खेल बाँकेको नेपालगन्जमा, १० खेल बर्दियामा र ५ खेल दाङमा सञ्चालन हुने पनि उनले जानकारी दिए।

यस्तै विष्टले अपाङ्गता भएका, विद्यालयका छात्रछात्रा र महिलाहरूमा खेलकुदप्रति अभिरुचि जगाउने काम परिषद्ले गरिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell