PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो : दीपक मनाङे



नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो : दीपक मनाङे

प्रदेश नम्बर ४ को प्रदेश सभाका लागि मनाङबाट स्वतन्त्र उम्मेदवार बनेका छन् दीपक मनाङे। सुरुमा पार्टीको जिल्ला कमिटीबाट प्रदेश सभाको निर्वाचनमा सर्वसम्मत सिफारिसमा परेका उनलाई आपराधिक गतिविधिसँग जोडिएका कारण टिकट दिन एमाले हच्कियो। तर उनले स्वतन्त्र उम्मेदवारी दिए। उनलाई समर्थन गर्दै एमालेले आफ्ना आधिकारिक उम्मेदवारलाई नाम फिर्ता लिन लगायो। यतिखेर मनाङको प्रदेश (क) मा आफ्नो चुनाव चिह्न 'बालक'को प्रचारमा सक्रिय मनाङेसँग विज्ञान अधिकारी, सुदर्शन सापकोटा र सविन ढकालले उपल्लो मनाङमा गरेको कुराकानी:   

तपाईँ कहिले कांग्रेस, कहिले राप्रपा अनि कहिले एमाले। तर, उम्मेद्वार चाहिँ स्वतन्त्र?
स्वतन्त्र उम्मेद्‍वार भएर आउँदा पनि मान्छेले यति राम्रो रेस्पोन्स गरेको छन्। मैले कांग्रेसलाई सहयोग गरेको हुँ। म तरुण दल हुँदा पार्टीलाई निर्विरोध गराएकै हुँ। एउटा काम भएन। जिल्लाले केही पाएन। पाल्देन दाइ एकदम सिधा, सबै काम गर्ने टेकबहादुरले मात्र। सबै फाइदाको काम टेकबहादुरले नै गरे। विकास नभएर नै छोडेको हो। कांग्रेसले जनतालाई दु:ख दियो। कांग्रेसको गलत गतिविधिले हामी टिक्न सकेनौं। 

तपाईँलाई मनाङ आउनुपर्ने कारण नै किन रह्यो?
खास भनेको जिल्ला पहिलादेखि नै हाम्रो परिवारले चलाइरहेको छ। टेकबहादुर गुरुङ, पाल्देन गुरुङ हाम्रो आफन्त हुन्। त्यस कारणले मैले मनाङमा राजनीति नगर्ने सोचेको थिएँ। मेरो जन्मथलो नै यही हो। मासबाट कुरा आयो कांग्रेसबाट होइन, स्वतन्त्रबाट उठ्नु पर्‍यो  भनेर।

त्यसो भए तपाईँलाई यहाँका जनताले नै बोलाएर आउनुभयो?
हो। जनताकै आग्रहमा आएको हो।

डनले कहिले पनि टोलमा बसेर व्यापार गर्दैन। डनले त विदेशमा बसेर स्वदेशमा व्यापार गर्छ। म काठमाडौंमा बस्छु। मेरो घर छ, व्यापार छ। मेरो अफिस छ, म डन हुन्छु? संसारमा कुनै डन देखेको छ यसरी चुनाव लड्दै हिँडेको? तर नेपालको खत्रा डन प्रधानमन्त्री र गृहमन्त्री हुन्।

***


एमालेबाट पाइसकेको टिकट कसरी गुम्यो त?
न मैले केपी ओली चिनेको छु, न भेटेको छु। यहाँ पव्लिकले स्वन्त्रत लड्दा भोट पनि तलमाथि हाल्नुपर्ने हुन्छ। 'दाइ बरु हामी सबै डेलिगेसन जान्छौं, जिल्लाको नेतालाई भन्छौं' भने। जिल्लाको नेतालाई मात्र हो मनाङका जनताले चिन्ने। केन्द्रका एमाले नेतालाई चिन्दैनन्। एक भोट एमालेलाई एक भोट मलाई भनेर जानु भएछ। जिल्ला लेभलबाट ओके भएछ। तर, मलाई त्यो कुरा थाहा थिएन। एकल नाम नै गयो। मलाई के अप्ठ्यारो भइरहेको थियो भने जो मान्छेले २४ वर्ष डेमोक्रेटिक पार्टीमा लागेर लड्यो, एकैचोटी कम्युनिस्ट बन्न गाह्रो थियो। तर, जनताको भावनाभन्दा बाहिर जान सकिँदैन। यही जनताले राप्रपा नि बनायो, कांग्रेस नि बनायो। कांग्रेसका हाइ लेभलका मानिस केपी ओलीसँग गएर रोएर टिकट क्यान्सिल भयो।

यो कसरी सम्भव भयो त?
हाइ लेभलका सबै मानिस सँगै बसेर रक्सी खान्छन्। उनीहरुले तल्लो लेभललाई जुधाउने मात्र हो।

अनि कसरी बिग्रियो कुरा?
एमालेमा टिकट नपाउनुको कारण मिडिया पनि हो। चोर, डाँका फटाहा के-के भन्यो भन्यो। नेपालमा ममात्र एउटा मान्छे होला सम्पत्ति शुद्धिकरणमा जित्ने। २०६४ सालमा लागू भएको कानुनले मेरो २०५२ सालको जग्गा रोक्का हुन्छ त? म भगवान हो? २०५२ सालमा नै २०६४ सालमा कानुन आउँछ भनेर अंशबण्डा गरेर छुट्टेर बस्नु त? मेरो पुलिसका केही व्यक्तिहरुसँग नराम्रो छ, त्यसैले गर्दा मलाई यस्तो भयो। मैले डिभोर्स गरिसकेकी श्रीमतीलाई समेत कोर्टमा उभ्याएको छु। मलाई एकदम गाह्रो भयो। मेरो नौवटा कम्पनी छ। मैले मेहनत गरेअनुसार त २ देखि ३ सय करोडको सम्पत्ति हुनपर्ने। १० करोडको सम्पत्ति एउटा असइसँग हुन्छ यार। इन्स्पेक्टरसँग ३० करोड हुन्छ। ३० वर्षदेखि मेहनत गरेको मान्छेसित के हो र? मलाई एकदमै बदनाम गरे।

तपाईँको नामको अगाडि जोडेर आउने शब्द 'डन'ले नै टिकट खोसिएको हो?
'डन'। नेपालमा खासमा डन भनेको शब्द पनि थाहा छैन। नेपाल खासमा ठूलो डन प्रधानमन्त्री र गृहमन्त्री हुन्। यिनीहरुको अन्तर्राष्ट्रिय सम्बन्ध हुन्छ। डनले कहिले पनि टोलमा बसेर व्यापार गर्दैन। डनले त विदेशमा बसेर स्वदेशमा व्यापार गर्छ। म काठमाडौंमा बस्छु। मेरो घर छ, व्यापार छ। मेरो अफिस छ, म डन हुन्छु? संसारमा कुनै डन देखेको छ यसरी चुनाव लड्दै हिँडेको? तर नेपालको खत्रा डन प्रधानमन्त्री र गृहमन्त्री हुन्।

म मान्छेलाई राम्रो गर्नसक्छु तर नमस्कार गर्दै हिँड्न सक्दिनँ। यो नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो। दिनमा ५० जनालाई नमस्कार गर्नुपर्छ। म त्यसका लागि जन्मिएको होइन। हामी जमिनदार हौं यहाँको। मुखियाको हिसाबले चलाएको हो। नमस्कार न मेरो बाजेले गर्‍यो, न बाबुले। मलाई नि गाह्रो भएको छ।

***

एमालेले पछि आफ्नो उम्मेद्वार हटाएर तपाईँलाई सहयोग गर्‍यो । कसरी भयो यस्तो?
एमालेको उम्मेद्वार मेरी दिदी नै हुन्। मैले नै दिदीलाई चुनाव लड्नु भनेकै हो। एमालेले टिकट दिएको होइन, मनाङका जनताले दिएको हो। तर, युवा साथीले मलाई नै अगाडि सारे। दिदीको व्यापार, केटाकेटी राजनीति गर्न गाह्रो भएजस्तो लाग्यो। दिदीले भाइ तिमी लडेको राम्रो हुन्छ भन्नुभयो। उहाँकै आग्रहमा नै हो। एमालेको केन्द्रमा समस्या आएको हो, जिल्लामा होइन। यो विषयले चाहिँ टाउको नै खायो। यहाँ केपी ‌ओली र भीम रावल आएर चुनाव लड्ने त होइन नि। पाल्देन छोवाङले लड्ने हो। यहाँको भोट बैंक त मेरो पो हो, केपी ‌ओलीको होइन नि।

त्यसो भए तपाईँलाई एमाले होइन, एमालेलाई तपाईँ चाहिएको हो?
यो पब्लिक एमाले हुँदै होइन। यहाँका पब्लिकलाई एमाले कांग्रेस केही पनि थाहा छैन। उनीहरुले नाता मात्र हेर्ने हो। बाजेको पाँचवटा दिदी बहिनी, पाँच वडामा बिहे गएर गएका छन्। मलाई कसैले केही गर्न सक्दैन। हामी ठूलो जमिनदार हौँ । हाम्रो भोट हाल्ने इस्टमित्र र नातेदार नै हो। नातागोताले नै भोट आउँछ।  

बीचमा तपाईँलाई एमाले नेताले सम्पर्क गरेनन्?
कहाँ गर्नु? मेरो एमाले नेतासँग मिल्दै मिल्दैन। विद्यार्थी कालमा सबैभन्दा बढी एमाले नेतालाई नै कुटेको छु। अखिललाई सबैभन्दा बढी कुटेको छु। अखिलका सबै नेता मन्त्री भएका छन्। उनीहरुले मलाई जिन्दगीमा माथि आउन दिँदैनन्।

मेरो सोचविचार कांग्रेसजस्तो छैन। मलाई धनी - गरिब मतलब हुँदैन, सबै एक समान हुन्। धनीले दश भोट हाल्ने होइन, गरिबले नि एक नै हो। बरु धनीलाई ब्ल्याक लेबल खुवाउनुपर्छ, गरिबलाई कोदोको रक्सी खुवाए हुन्छ।

***


पहिलो स्थानीय तहमा तपाईँ प्रहरीले 'चुनाव भाँड्न' सक्रिय भएको भन्दै थुनेको थियो। अहिले चुनाव लड्दै हुनुहुन्छ। गजब रहेछ है राजनीति?
स्थानीय तहमा म आउन पाएको भए १२ वटा वडा जित्थेँ। गाउँपालिका सबै एमालेले लान्थ्यो। एमालेका पनि जन्मेदेखि कम्युनिष्ट होइनन्। पहिलेका राप्रपा नै हुन्। एउटै पार्टी हो। मनाङ भनेको राजाले चिनाएको ठाउँ हो। जसले जे भने पनि मनाङ राजाले बनाएको ठाउँ हो। प्रजातन्त्र आएपछि राजाको पार्टी राप्रपामा गयो। त्यसपछि सबै राप्रपा भए। पछि राप्रपा दुईवटा भएकाले केही एमालेतिर गए। राप्रपा दुई पछि तीन भयो। राजावादीको पार्टीको त्यस्तो हालत भएपछि कहीँ राजावादी हुन्छ? नाकाबन्दीको समयमा एमालेले राम्रो काम गरेको देखियो। राष्ट्रियता बोकेको पार्टी एमाले मात्र हो। डेमोक्रेटिक पार्टी नेपालमा छैन। कांग्रेसको नेविसंघमा न समयमा चुनाव हुन्छ न तरुण दलमा। अनि केको डेमोक्रेटिक पार्टी? त्यसपछि म एमालेमा गएको हुँ। मैले एमालेसित कुरा गरेँ। वडा मलाई दिनुहोस्, गाउँपालिका तपाईँ लानुहोस्। मेरो सबै योङ केटा छन्। योङ केटालाई म कहिले पनि नगरपालिकाको अध्यक्ष बनाउन सक्दिन। २२ देखि २४ वर्षका केटाले पालिकामा आउने २२ देखि २५ करोड रुपैयाँको बजेट देखेपछि पागल हुन्छन्। त्यसले फेरि भष्ट्राचार गर्छ भन्ने लाग्यो। वडामा त २० देखि ३० लाख रुपैयाँ आउँछ त्यति त नठग्ला नि भनेर वडा मागेको हुँ। मलाई थुन्दा पनि चारवटा पाएँ। मलाई थुनेपछि दुईवटा पालिका गुम्यो। एसएसपीको रीसका कारणले मात्र मलाई जेल हालेको हो। फकाइफुलाइ जेल हालेका हुन्। 

धेरै राजनीतिक दलमा जानुभयो नि ?
म कांग्रेसी होइन। कांग्रेसलाई त मैले सहयोग गर्देको, माया लागेर। कांग्रेसमा मेरा दुई चार जना साथी छन्। साथीहरुलाई सहयोग गर्दागर्दा म कांग्रेस देखिएको हो तर म कांग्रेस होइन। मेरो सोचविचार कांग्रेसजस्तो छैन। मलाई धनी - गरिब मतलब हुँदैन, सबै एक समान हुन्। धनीले दश भोट हाल्ने होइन, गरिबले नि एक नै हो। बरु धनीलाई ब्ल्याक लेबल खुवाउनुपर्छ, गरिबलाई कोदोको रक्सी खुवाए हुन्छ।

तपाईँ उम्मेद्वार नहुँदा सुरक्षा थ्रेट थियो। अहिले कस्तो छ?
नेपालमा सुरक्षा थ्रेट कसैलाई पनि छैन। नेपाल चोर र डाँकालाईमात्र थ्रेट हुन्छ। सिडियोले सेक्युरिटी लिनुहोस् भनिरहेको छ तर मैले लिएको छैन। पुलिसको सेक्युरिटी जसले लिन्छ उसको ब्याड लक हो। यसले गएर सबै गृहमन्त्रीलाई भन्दिछ। दीपक मनाङे आज यहाँ गए, उहाँ गए भनेर। पुलिस जासुस हो। त्यसैले आफ्नै दाजुभाइ थुप्रै छन्, उनीहरुसँगै हिँड्ने हो। कसले मार्छ? के छ र मार्नु? 

तपाईँ प्रदेशसभाको उम्मेद्वार। केही महत्वाकांक्षा त होला नि?
मेरो फस्ट एण्ड लास्ट हो। स्वास्थ्यले साथ दिए तीन पटक लड्छु होला। मेरो पोलिटिक्स गर्ने नेचर छैन। म मान्छेलाई राम्रो गर्नसक्छु तर नमस्कार गर्दै हिँड्न सक्दिनँ। यो नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो। दिनमा ५० जनालाई नमस्कार गर्नुपर्छ। म त्यसका लागि जन्मिएको होइन। हामी जमिनदार हौं यहाँको। मुखियाको हिसाबले चलाएको हो। नमस्कार न मेरो बाजेले गर्‍यो, न बाबुले। मलाई नि गाह्रो भएको छ। तर सिनियर दाइले नै नमस्कार गरिररहेको हुन्छ, त्यसैले गर्नु पर्‍यो।

पुलिसको सेक्युरिटी जसले लिन्छ उसको ब्याड लक हो। यसले गएर सबै गृहमन्त्रीलाई भन्दिछ। दीपक मनाङे आज यहाँ गए, उहाँ गए भनेर। पुलिस जासुस हो। त्यसैले आफ्नै दाजुभाइ थुप्रै छन्, उनीहरुसँगै हिँड्ने हो। कसले मार्छ? के छ र मार्नु? 

***

तपाईँ स्वतन्त्र उम्मेद्वार। तर, सूर्य चिन्ह सँगै लिएर हिँड्नुभएको छ?
नेपालको पोलिटिसियन गोप्य गर्छु भन्छन् तर हाम्रो ‌ओपन हुन्छ। चोर्न र लुट्न राजनीतिमा आएको होइन। सूर्यले ५ सय भोट मलाई दिन्छु भनेको छ। मैले नि २ सय ५० दिन्छु भनेको हो। हारे म पनि हार्छु, ऊ पनि हार्छ। जिते सँगै जितौला भनेर हिँडेको हो।

चुनाव जितेपछि एमालेको छातामा नै अटाउने हो?
मैले चाहिँ गाउँलेहरुलाई के सर्त राखेको छु भने- विकास गर्नुपर्छ। सरकारमा जाने प्रेसर नहाल्नु भनेको छु। प्रदेशको जो अर्थमन्त्री बन्छ म उसलाई सर्तहरु राख्छु। मेरो जिल्लामा यस्तो यस्तो बजेट हाल्दिनु, म सहयोग गर्छु भनेर। उसले दिन्छ भने सहयोग गर्छु।

उम्मेद्वार त बन्नुभयो। मनाङ बनाउने तपाईँको एजेन्डा चाहिँ के हो?
पहिले पहिले म एक दुई दिनमात्र मनाङमा बसेर जान्थेँ। यसपटक चाहिँ डेढ महिनादेखि यहीँ छु। मेरो एजेन्डा मैले मनाङमा नै बसेर, स्थानीयसित कुरा गरेर तयार गरेको छु। काठमाडौंमा बसेर एजेन्डा बनाएर काम रहेनछ। फिल्डमा आएर जनतासित कुरा गरेँ। एउटा पाँच फुट चौडा टुरिजम बाटो। नारफू गाउँपालिकाको समस्या के रहेछ भने यहाँ जम्मा सात दिनमात्र बस्न पाउने रहेछन्। विदेशीले एक महिनाको भिसा लिएको हुन्छ। तीन दिन जान तीन दिन आउन। बस्नै नपाइने। यो मेरो एजेन्डा हो। यहाँ नआएको भए यस्तो कुरा थाहा हुँदैन थियो।

अर्को एजेन्डा ट्रेकिङ रुटको प्रत्येक पाँच किलोमिटरमा टी हाउस, बेकरी खोल्ने। मनाङ आएर विदेशीले ढिडो खान सक्दैन। खाइहाल्यो भने पनि ढिडो पचाउन सक्दैन। रोडमा स्ट्रिट लाइट हाल्ने पनि योजना छ। यहाँ पानी जति भए पनि बत्ती हालेको छैन। अँध्यारो छ। जंगल नै जंगल छ। यहाँ चोर छैन, तर लुट्न कुनै गाह्रो छैन। १० को स्पिडभन्दा गाडी कुदाउन सकिँदैन। बाटोमा पूरै जंगल। मनाङमा एउटा बाउन्ड्री राम्रो छ - एउटा मुस्ताङ सीमाना, अर्को तालको सेक्युरिटी टाइट भएकाले चोर भाग्न सक्दैन। नत्र यहाँ चोर्ने भए कसैको केही लाग्दैन। मैले मूलतः चारवटा एजेन्डा बनाएको छु।  अरुको पार्टीले बनाएजस्तो पुस्तक बनाएको छैन। मैले त्यो गर्न सक्दा पनि सक्दिन। मेरो गोजीको पैसाले चार जना पाल्नसक्ने हो, चालिस जना पाल्न सक्दिन। त्यही भएर राजनीतिमा छिरेको हो - सोसल वर्क लार्जमा नै जानुपर्छ।

अन्तिममा केही भन्नुहुन्छ?
मनाङ अहिले कुरुक्षेत्रको मैदान भयो। कुरुक्षेत्रमा पाण्डव र कौरवको लडाई भएको छ। कांग्रेस कौरव भएको छ, अहिले म पाण्डव। मसित भीम, युधिष्ठिर सबै भए। म आफै अर्जुन भएँ। तर, कृष्ण भेटिनँ।







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell