PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचण्ड परिवारलाई बज्रपात परेको आइतबारको दिन, यस्तो छ बिहानदेखि साँझसम्मको घटनाक्रम



सागर बुढाथोकी

प्रचण्ड परिवारलाई बज्रपात परेको आइतबारको दिन, यस्तो छ बिहानदेखि साँझसम्मको घटनाक्रम

काठमाडौँ : अक्सर बिहानै उठ्ने छोरा आज अबेरसम्म नउठेपछि सीता दाहाल आइतबार बिहान प्रकाश दाहालको कोठामा गइन्। 
प्रकाश ओछ्यानमै थिए। उठाउन खोज्दा प्रकाश उठेनन्। उनी अचेत अवस्थामा थिए।

राति आफैले जाउलो पकाएर खुवाएका छोरा अचेत अवस्थामा भेटेपछि सीता रुवाबासी गर्न थालिन्। कोठाको झ्यालबाट सुरक्षाकर्मीलाई बोलाइन्। प्रकाशलाई अचेत भेटेपछि प्रचण्ड निवास लाजिम्पाटमा हल्लीखल्ली मच्चियो। 

दुईजना सुरक्षाकर्मी आएर प्रकाशलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याए। यतिबेला प्रकाशका पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव प्रचारका लागि झापामा थिए।

बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पुर्‍याइएका प्रकाशलाई इमर्जेन्सीमा लगिएको थियो। इमर्जेन्सीमा रहेका  डा. रवीन्द्रप्रसाद यादव, डा विमलेश श्रेष्ठ र डा. महेश यादव लगायतले उनको जाँच गरेका थिए।

आफूहरुले जाँच्दा प्रकाशको हातखुट्टा नीलो भइसकेको चिकित्सकहरुले बताएका छन्। यसैगरी मुटुको गति बन्द, श्वासप्रश्वास पूर्ण रुपमा नरहेको र शरीर चिसो थियो। 

उनीहरुका अनुसार अस्पताल ल्याएको ३ घण्टाअघि नै प्रकाशको मृत्यु भइसकेको थियो। तैपनि, आफूहरुले इसिजी गरेर हेरेको उनीहरुले बताए।  
अस्पताल पुर्‍याइएको १० मिनेटमा नै डाक्टरहरुले प्रकाशलाई मृत घोषणा गरे। ६ बजे मृत घोषणा गरे पनि सार्वजानिक रुपमा जानकारी भने पिता प्रचण्ड अस्पताल पुगेपछि मात्र दिइयो। 

प्रचण्ड अस्पताल पुग्नुअघि नै प्रकाशको मृत्यु भइसकेको त्यतिबेला अनुमान गरियो जब प्रचण्डको भान्जीहरु रुँदै अस्पतालबाट निस्किए।

प्रकाशकी दोस्री श्रीमती सिर्जना त्रिपाठी छोरो डोराएर अस्पताल छिरेकी थिइन्। प्रकाशको पहिलो विवाह सम्बन्ध विच्छेदमा टुङ्गिएपछि सिर्जनासँग दोस्रो बिहे भएको थियो। अस्पताल छिरेको केही छिनमै त्रिपाठी बेहोस भएर स्लाइन पानी चढाएको खबर आयो। सिर्जनासँगै प्रकाशकी सासु पनि नाति लिएर बसेकी थिइन्।

त्रिपाठी अस्पताल पसेको केही क्षणपछि प्रकाशकी अर्की श्रीमती बीना दौड्दै अस्पताल पुगिन्। सञ्चारकर्मीको भीड पन्छाएर ‘छाड मलाई’ भन्दै उनी भित्र गइन्। निधनको खबर पाउँदा बीना चुनाव प्रचारको लागि कञ्चनपुर थिइन्। खबर थाहा पाउने बित्तिकै धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको पहिलो उडानबाट उनी काठमाडौं आएकी थिइन्। छोरासहित काठमाडौं आएकी बीना अस्पताल आइपुग्दा विक्षिप्त थिइन्।

उता पिता प्रचण्ड भने खबर पाउँदा झापामा थिए। आज मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने उनको कार्यक्रम थियो। बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले शनिबारदेखि आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनका लागि उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै शनिबार त्यहाँ पुगेका थिए।
 
काठमाडौंँबाट हेलिकप्टर मगाएर बिहान साढे आठ बजे उनी अस्पतालकै सातौँ तल्लामा रहेको हेलिप्याडबाट हेलिकप्टर चढी छोरीज्वाइँसहित काठमाडौँं फर्किए। काठमाडौँ फर्कनुअघि एमाले अध्यक्ष ओलीले अस्पताल परिसरमा नै पुगेर प्रचण्डलाई सान्त्वना दिएका थिए। 

हेलिकप्टर काठमाडौंमा ल्यान्ड गर्‍यो। लगत्तै उनी पहिले लाजिम्पाट पुगे। किनकि, प्रकाशकी आमा सीता लाजिम्पाटमा विक्षिप्त अवस्थामा रहेको जानकारी आएको थियो। सीतालाई सम्झाएपछि प्रचण्ड अस्पताल पुगे। आमा अस्पताल आइनन्। 

छोराको मृत्युपछि शोकमा डुबेकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको थियो।

प्रचण्ड अस्पताल पुगेको केही क्षणमा पार्टी प्रवक्ता पम्फा भुसालले दिउँसो १ बजे प्रकाशलाई पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखेर दिउँसो ४ बजे आर्यघाट लाने जानकारी दिइन्। पोष्टमार्टम नगरिकन दाहसंस्कार गर्ने तयारी गरिएको उनले बताइन्। 

पेरिसडाँडामा पिता प्रचण्डले छोराको शवमा पार्टीको झण्डा ओढाए। विभिन्न दलका नेताहरु पनि श्रद्धाञ्जलिका लागि त्यहाँ पुगे।

पेरिसडाँडाबाट पशुपति आर्यघाट पुर्‍याइएका प्रकाशको शरीरमा पिता प्रचण्डले दागबत्ती दिए। चार वर्षअघि मात्रै प्रचण्डले आफ्नी छोरी ज्ञानु दाहालको शोक सहनुपरेको थियो।


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell