PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

८२ घण्टा भग्नावशेषमुनि पुरिएर जीवित उद्धार गरिएकाको कहालिलाग्दो अनुभूति



८२ घण्टा भग्नावशेषमुनि पुरिएर जीवित उद्धार गरिएकाको कहालिलाग्दो अनुभूति

  • ऋषि खनाल-
दुई दिन पछि मलेसिया उड्ने टिकट थियो। त्यसैले अर्घाखाँचीबाट काठमाडौं आएर गोंगबुको सयपत्री होटलमा बसेको थिएँ। दोस्रो तल्लाको 'कमन रुम'मा बसेकोले त्यहाँ अरु तीन जना साथी पनि थिए।

वैशाख १२ गते शनिबार बिहानको खाना खाएर बसपार्कतिर डुल्न जान जुत्ता लगाउँदै थिएँ। जुत्ता समातेको मात्रै के थिएँ, कोठा त हल्लिन थाल्यो। यत्तिकैमा झ्याप्प बत्ति गइहाल्यो। भुइँचालो गयो भन्ने थाहा पाएपछि बाहिर निस्किन खोज्यौं। कोठाको ढोका खोलेर हेर्दा भर्‍याङ त खसिसकेको थियो। तल ओर्लिने त संभावना नै थिएन। घर भत्किन थाल्यो, हामी एउटाले अर्कोलाई समात्दै चिच्याउन थाल्यौं। अरु उपाय केही थिएन।

घर गर्ल्याम्म भासिएको जस्तो लाग्यो। माथिल्लो तल्ला हामीमाथि बज्रियो। छत झरेर किच्यो भन्ने थाहा छ। एकै ठाउँमा भएका साथीहरु कोही कता उछिट्टिए, कोही कता। चिच्याउने बाहेक अरु त के गर्न सकिन्थ्यो र, होस उडिसकेको थियो। त्यसबेला चित्कारबाहेक केही सुनिएन।

संयोगवस म सानो टाँडमा परेछु। माथिबाट झरेको ढलानको टुक्राले मेरो देब्रे खुट्टा च्यापिएको थियो । अर्को खुट्टा चलाउनसम्म सक्थेँ। कम्मरदेखि माथि थिचिएको थिएन। पाखुरामा सामान्य चोट थियो। एक फिट जतिको टाँड थियो होला त्यो । म अर्कोतिर फर्किन सक्दिनथेँ, शरीर उठाउने त संभावना नै थिएन।

अर्का एक जना साथी पनि जीवित थिए। उनलाई ठूलो चोटपटक लागेको थिएन जस्तो लाग्छ । च्यापिएका पनि थिएनन्। मलाई उनको नाम थाहा छैन। घर चाँही धादिङतिर हो भन्थे। साउदी जान आएका रे। अरु त चिच्याएको मात्रै सुनेँ। मेरै छेउमा दुई जनाको प्राण उडिसकेको रहेछ।
ती जीवित साथीलाई बाहिर जानुस् र मलाई झिक्न गुहार माग्नुस् भनेँ। उनी यताउता सर्दै थिए। सबैतिर अँध्यारो थियो। 'अब हामी मर्छौ होला' उनले आत्तिएर भनेको सुनियो।  म बाहिर निस्किन्छु भन्दै उनी मलाई छाडेर घिस्रिदै अर्कोतिर लागे। त्यसबेला बाहिर गए होलान् जस्तो लाग्यो तर होइन रहेछ क्यार। घिस्रिँदै गर्दा भूकम्पको अर्को धक्का आयो र उनलाई पनि लग्यो होला। उनी बाहिर निस्किन सकेको भए त मान्छे जिउँदै छ भनेर मेरो चाँडै उद्धार गराउँथे।

'आँसु झर्न पनि सक्दैन थियो'

म दिन र रात छुट्याउन सक्दिनथेँ। अँध्यारो थियो, देख्ने र सुन्ने केही थिएन। चिच्याउँदा-चिच्याउँदा मुख सुकिसकेको थियो। पछि त आवाज पनि सुकिसकेको थियो, मुख खोल्यो आवाज निस्किँदैनथ्यो। छटपटायो, कराउन खोज्यो, रोयो यति मात्रै थियो। खुट्टा अत्यन्तै पोल्थ्यो, चलाउन खोज्यो झन दुख्थ्यो, पीडामाथि पीडा थपिन्थ्यो। रुनुको विकल्पै थिएन। आँसु झर्न पनि सक्दैनथ्यो।
 
मेरो दाहिने हातले एउटा लाश भेट्थ्यो। उसको शरीरलाई हातले छाम्थेँ, झन अत्यास लाग्थ्यो। अर्को लाश अतिकति पर रहेछ। तिनै लाश मेरा साथी थिए। जिउँदै हुदाँ सँगै बसेका साथीहरुको लाश गन्हाउन लागिसकेको थियो।

म टाउको दुई चार इन्च जति उठाउन सक्थेँ। तर अँध्यारोमा के देख्नु र। छटपटी हुन्थ्यो, यता तन्क्यो, उता सर्न खोज्यो फेरि थाकेर जिउ छाडिदियो। समय पटक्कै नबितेको जस्तो लाग्यो। त्यो चार दिन त मेरा लागि चार वर्षभन्दा लामो भयो।
 

'चिच्याउँथे, तर कसैले सुन्दैनथ्यो'

मुख अत्यन्तै सुक्थ्यो। मेरो खल्तीमा रुमाल थियो। पिसाब आएपछि त्यही रुमालमा गर्थेँ। पिसाबले भिजेको रुमाल ओठमा लगाउँथे। केही बेर मुख चिसो हुन्थ्यो। पछि त पिसाब पनि आउन छाड्यो। शरीरमा पानी थिएन। आफैले थाहा पाउँथेँ, शरीर सुन्निन थालेको थियो। हातका औँलाहरु मोटा-मोटा भइसकेका थिए। हात त सेता भइसकेका थिए।
 
चार दिनसम्म के सम्झिन र मैले। चिनेजानेका सबै मानिसलाई सम्झिएँ। कोही बाँकी रहेनन्। यसो आँखा चिम्लिएपछि घरतिर पुगेको सम्झिन्थेँ। त्यो त केही क्षणका लागि मात्रै थियो। आँखा खोल्दा त म थिचिएकै हुन्थेँ, हतार हतार वरपर हातले छाम्थेँ। त्यही लाश भेटिन्थ्यो। अनि फेरि चिच्याउथेँ,

'बचाऊ बचाऊ !'

'हेल्प मी हेल्प मी'
 
तर कसैले सुन्दैनथ्यो । इँटाले गाह्रो ढंगढंग हिर्काउँथे, पल्टेर हिर्काएको कसले सुन्ने ?

त्यसबेला जति चिच्याउँथे, मेरो थिचिएको खुट्टा त्यति पोल्थ्यो। छटपटाउनु झन कस्ट थियो। चार दिन जति भयो होला भन्ने त मेरो अनुमान मात्रै थियो, उज्यालो कतैबाट पनि छिर्दैनथ्यो। उद्धार गर्नेहरुले छत प्वाल पारेपछि मात्रै मैले उज्यालो देखेको हुँ।

'बाँच्छु जस्तो पटक्कै लागेको थिएन '

 
८२ घण्टामा गाउँ घरका सबैलाई नबिराइकन सम्झिएँ। हरेकलाई सम्झेर मलाई बचाऊ भनेँ। आमा बुबालाई त कति सम्झेँ सम्झेँ। श्रीमती र छोरोको याद कति आयो कति। आँखा चिम्लिनासाथ सोचाइ गाउँ नै पुगिहाल्थ्यो। सबैसँग हारगुहार गर्थेँ। त्यो बेला मैले चिनेका कोही बाँकी रहेनन् गुहार माग्न। निदाउने कुरै भएन। आफैले आँखा चिम्लिएर सोच्नु बाहेक एक मिनेट पनि निदाइनँ।
 
कहिले गाउँमा पुगेको जस्तो लाग्थ्यो, म थुनिएको छैन जस्तो सोच आउँथ्यो। खुल्ला चौरमा बसेको कल्पना गर्थेँ। आफन्तसँग कुरा गरेको जस्तो लाग्थ्यो। कसैले मलाई निकालेर बाहिर लगिसकेका छन् जस्तो लाग्थ्यो। एकैछिनमा फेरि दुख्थ्यो। हातले चारैतिर छाम्थेँ, लाश भेटिन्थ्यो। अनि चिच्याउन खोज्थेँ, रुन्थेँ। मलाई यस्तो हालतमा नराख भन्थेँ।

अचम्म के लाग्यो भने त्यस्तो ठाउँमा पनि झिंगा लाग्दो रहेछ । यति ठूला ठूला झिंगा थिए । ठूलो आवाज निकाल्दै घुमिरहन्थे । लास गन्हाउन लागेकोले हुनसक्छ ठूला झिंगा वरिपरी आइरहेका थिए ।

'तिमी नआत्तिऊ, हामी बचाउँछौं'

मलाई बाँच्छु जस्तो पटक्कै लागेको थिएन। तर एक दिन केही आवाज आयो। माथितिर हिर्काएको जस्तो। अब चाहिँ थोरै आश पलायो, कसैले उद्धार पो गर्दैछन् कि, बचाउँदै पो छन् कि भने जस्तो लाग्यो।

उद्धार टोली साढे सात बजेतिर मेरो नजिक आइपुगे। तिमी नआत्तिऊ, हामी बचाउँछौं भने। पहिला सानो प्वाल पारेर केही चिज भित्र पठाए। त्यो क्यामरा रहेछ। त्यसले हेरेपछि मेरा अवस्था उनीहरुले थाहा पाए। चार पाँचतिरबाट प्वाल पारे। अनि भित्र छिरे। तीन घण्टा जति च्यापिएको खुट्टा निकाल्नै लाग्यो।

तलबाट ज्याक लगाएर मेरा खुट्टालाई थिचेको ढलान माथि उठाए। अनि मलाई बिस्तारै बाहिर निकाले। मरेको मानिस माथि बसेर उनीहरुले ढलान काटेर मलाई बचाए। पहिला उनीहरुले अक्सिजन दिए, चार बोतल जति पानी पिएँ। त्यहीबेला एउटा चाउचाउ पनि खाएँ।
 

उद्धार गर्दाको भिडियो सौजन्य : सशस्त्र प्रहरी

बाहिर निकाल्दा पनि मलाई भूकम्प गइरहेको छ भन्ने जस्तो लागेको थियो। जमिन पूरै हल्लेको जस्तो लाग्यो। एक जनाले मलाई समातेर राखेका थिए। जोडतोडले भोक लागेको थियो। मलाई काम छुटिरहेको थियो। उनीहरुले एम्बुलेन्समा अस्पताल ल्याए।
 
अस्पताल आएपछि दोस्रो दिन मेरो अपरेशन भयो। च्यापिएको गोडा काम नलाग्ने भयो, डाक्टरले काटेर फालिदिए। २७ वर्षको उमेरमै मैले खुट्टा गुमाएँ। सुरुका दिनमा मलाई निकै चिन्ता लाग्यो। तर अहिले म जस्तै मानिसहरु देखिरहेको छु। आफै चित्त बुझ्दो रहेछ। यति धेरै मानिसले ज्यान गुमाउँदा कमसेकम म बाँच्न त बाँचे नि।
 
(वैशाख १२ गतेको भुकम्पमा परेर ८२ घण्टा पुरिएर जीवित उद्दार गरिएका खनालसँग सरोज काफ्लेले गरेको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell