PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

मेलम्ची पानी प्रशोधन केन्द्रको परीक्षण सफल, बैशाखसम्म पानी आउने



पहिलोपोस्ट

मेलम्ची पानी प्रशोधन केन्द्रको परीक्षण सफल, बैशाखसम्म पानी आउने

काठमाडौँ : मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। 

सुन्दरीजलमा निर्माण भएको आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका ६ वटै कक्षको परीक्षण सम्पन्न भएको हो। वागमतीको पानी लगेर प्रशोधन केन्द्र परीक्षण गरिएको थियो। परीक्षणबाट केन्द्र निर्माण सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए। 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किलोमिटर लामो सुरुङ मार्गमार्फत् दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याइँदैछ। बाँकी आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण पनि तीव्र गतिमा भइरहेको उनले जानकारी दिए। अर्को प्रशोधन केन्द्र निर्माण पनि विसं २०७५ भदौ मसान्तसम्म सक्ने आयोजनाको लक्ष्य छ। 

उनले भने,‘सुरुङको सुन्दरीजल–सिन्धु नौ किलोमिटर मार्ग खनी सकिएको छ, सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथानको १।९० किलोमिटर सुरुङ निर्माण मात्र बाँकी छ, कमजोर चट्टानका कारण केही ढिलो भएपनि ढिलोमा चैत अन्तिमसाता अथवा वैशाख पहिलो हप्तासम्म पानी राजधानी आइपुग्छ।’

मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेपछि उपत्यकामा वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छ्याउने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। 

थोक वितरण प्रणालीको ७७ किलोमिटर मध्ये ६५ किलोमिटरको काम सम्पन्न भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए। यसैगरी उपभोक्ताको घर÷घरमा पानी पुर्याइने वितरण सञ्जालको ६७० किलोमिटरमध्ये ६२० किलोमिटरको काम सम्पन्न भएको छ। 

बाँकी ५० किलोमिटरमध्ये पुस मसान्तसम्म पहिलो चरणको वितरण सञ्जाल निर्माण सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्य छ। दोस्रो चरणमा थप वितरण सञ्जालको पाइप बिच्छ्याउनका लागि काम शुरु गर्ने तयारी भएको बताइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell