- भावना शर्मा
म जैसरा !
फुली बुलाकी खोलेर आएकी छु
हजूर मालिक,
मलार्इ ‘विधवा’ लेखिदेउ !
स्वास्नी हुनुभन्दा आमा हुनु पहाड रहेछ
झुठै सही
लोग्ने मरेको कागज गरिदेउ
---------
मेरो ‘माने’ मर्यो भने
म बाँचे के\नबाँचे के?
उ गल्दैछ मालिक !
उ नमरोस्, बरु मलार्इ खरानी पारिदेउ
मानेको बाउ मरेको कागज गरिदेउ
---------
साथीभाइले गिज्याउँदा
माने बहुत रिसाउँछ
बाउ खोजेर ल्याम आमा भन्छ!
मैले कहाँबाट ल्याइदिम् ?
-----------
तस्विरमा बाँचेको भन्दा कागजमा मरेको बाउ
मानेलार्इ धेरै काम लाग्थ्यो
विधवालाई ‘रकम’ मिल्छ रे
हजुर मालिक,
उसको बाउ मरेको कागज गरिदेउ !
-----------
हाम्रा लागि त उ मरेकै हो
गामका एक हुल लड्कासँगै
हिँडेथ्यो ‘पन्जाप’ शहर
उसले पखेँटा चाल्दा
माने पेटभित्रै थियो
उ फेरि फर्केर आएन
हुरीले हल्लाइरह्यो हाम्रो सानो गुँड....
------------
मानेका बाले उतै घरजम गरे रे!
चिम्रीका खसमले खबर ल्याउँदा
झमक्क साँझ थियो
फेरि कहिल्यै घाम लागेन हाम्रो आङमा!
-------------
ग्वाल गएको माने
रगतपच्छे ढाड लिएर फिर्छ
सिस्नाले पोलेको पैताला झमझम गर्यो भन्छ
दिनभर पाखो खोस्रेर म
साँझ खोले फत्काउँछु
माने सिस्नाको खोले पिउँछ
म उसलार्इ हेरेर आफ्नै आँसु पिउँछु
--------------
मानेलार्इ आँटोपिठो मन पर्छ
कापीकलम पनि मनपर्छ
गाममा आएका नयाँ मास्टरले जस्तै
सेतो कमिजमा रातो कलम सिउरिन्छु भन्छ माने
---------------
तक्दिर न हो
बाँच्यो भने त मानेले धेरथोक गर्ला
मैले सिउँदोमा नकोरेको रंगले
कापीमा राता धर्का कोर्ला !
--------------
निधारमा नलेखेको लोग्ने
कागजमा रहे के? /नरहे के?
हर बात मै खेपम्ला
हजुर मालिक,
मानेलार्इ रातो कलम किनिदिनुछ
मलाई ‘बिधवा’ लेखिदेउ....