PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कैलाली ५ मा ‘टुरिस्ट’ उम्मेदवार आरजु र नारदमुनीबीच प्रतिष्ठाको लडाइँ



पहिलोपोस्ट

कैलाली ५ मा ‘टुरिस्ट’ उम्मेदवार आरजु र नारदमुनीबीच प्रतिष्ठाको लडाइँ

  • पासाङ ठकुल्ला
काठमाडौं :  दुईपटक समानुपातिक कोटाबाट सांसद भइसकेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु राणा पहिलो पटक कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा होमिएकी छन्।

दोस्रो संविधानसभा निर्वाचनमा देउवाले नै जितेको क्षेत्रबाट उम्मेदवार भएकाले आरजुको उम्मेदवारीलाई चासोको रुपमा हेरिएको छ।

तर आरजुका प्रतिस्पर्धीका रुपमा उठेका छन् वाम गठबन्धनबाट नारदमुनी राना। वाम गठबन्धनले आरजुलाई टुरिस्ट उम्मेदवारको संज्ञा दिएपछि उनले निर्वाचन क्षेत्रमै तीन करोड रुपैयाँमा घर किनेर वाम गठबन्धनलाई त्यसको जवाफ दिएकी छन्।

स्थानीय तहको मतपरिणाममा अगाडि रहेका राना र आरजुबीचको प्रतिस्पर्धालाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीकी लीला भण्डारीले जितेको उक्त क्षेत्रबाट २०७० मा प्रधानमन्त्री देउवा विजयी भएका थिए।

प्रधानमन्त्री देउवाले २०७० मा दुई ठाउँबाट उम्मेदवारी दिएका थिए। दुवै क्षेत्रबाट विजयी भएपछि देउवाले धनगढीलाई छोडेका थिए। देउवाले धनगढीलाई छोडेपछि सोही क्षेत्रमा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमासमेत कांग्रेस नेता पुष्करनाथ ओझा निर्वाचित भएका थिए।

 के भन्छ कांग्रेस ?

यतिबेला कांग्रेसले टोलटोलमा प्रचारप्रसार समिति गठन गरेर टोलसभामर्फत चुनावी अभियानलायई तिव्र पारेको छ। प्रधानमन्त्री देउवाले २०७० मा उठाएका विकासका मुद्धालाई आरजुले प्राथमिकतासाथ पूरा गर्ने गरी आफ्नो एजेण्डा बनाएकी छन्।

मोहना नदीको तटबन्ध, सडक विस्तार, कोल्ड स्टोर निर्माण गर्नेलगायतका  विकासका मुद्धाका साथ आरजु चुनावी मैदानमा छिन्। मोहना नदीको तटबन्ध निर्माण सुरु भएकाले पनि आफ्नो विजय सुनिश्चित भएको दावी कांग्रेसले गरेको छ। नेपाली कांग्रेसको राष्ट्रिय छवी पनि जित्ने एक आधारको रुपमा उनीहरुले लिएका छन्।

टिकट वितरणलाई लिएर भएको असन्तुष्टीले कांग्रेस समस्यामा पारेको थियो। तर चुनाव प्रचार प्रसारसँगै असन्तुष्ट पक्षको साथ पाएकाले आरजुको जीत सुनिश्चित रहेको दावी कैलाली क्षेत्र नं ५ प्रचार प्रसार समितिका प्रमुख हरिष खड्काले गरेका छन्। 

स्थानीय तहको निर्वाचमा कांग्रेस उम्मेदवारको विजय भएकाले पनि अफनो जीत सहज रहेको कांग्रेसले बताएको छ। स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाबाट कांग्रेसका नृप ओडले जितेका थिए।

के भन्छ वाम गठबन्धन ?

यति बेला वाम गठबन्धन घरदैलो चुनावी अभियानमा छ। टोलटोलमा सम्पर्क कार्यालय खोलेर जनताका गुनासा सुन्ने काम गरिरहेको छ।

स्थानीय तहमा वाम गठबन्धनको मतपरिणाम कांग्रेसको भन्दा धेरै भएकोले पनि अफनो जीत हुनेमा राना विश्वस्त देखिन्छन्। वाम गठबन्धनले राजनीतिक स्थिरता आउने भन्दै उनले भोट मागिराखेका छन्। कांग्रेसले क्षेत्र नं ५ बाट टुरिष्ट नेतालाई उम्मेदवार वनाउने र जीतपछि क्षेत्र नफर्कने गरेको आरोप रानाले लगाउने गरेका छन्। 

राना भन्छन्, ‘म स्थानीय नेता भएकाले यहाँको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी हो।’ उनले कांग्रेसले यो क्षेत्रबाट धेरै पटक जितेको भएपनि यहाँका जनताले अश्वासन बाहेक अरु केहि नपाएकाले आफूलाई भोट दिन अपिल गरेका छन्।  

धनगढीसँग जोडिएको गौरिफन्टा नाकालाई व्यवस्थित बनाउने, कैलालीको गेटामा रहेको विमानस्थललाई अन्तर्राष्ट्रिय  विमानस्थलको रुपमा विकास गर्ने, धार्मिक स्थालको विकास गरिने, औद्योगिक क्षेत्रको रुपमा सो क्षेत्रलाई विस्तार गर्ने, लगानी मैत्री वातावरण तयार गर्ने लागायतका एजेन्डा लिएर राना मतदाताकोमा पुग्ने गरेका छन्।   

 स्थानीय तहको मतपरिणाम अनुसार को बलियो ?

स्थानीय तहको मतपरिणामलाई हेर्दा आरजु र रानाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। मतपरिणाम अनुसार यहाँ वाम गठबन्धन चार हजार भन्दा बढी मतले अगाडि देखिएको छ।

सहयोगी दलसहित कांग्रेसको पक्षमा १५ हजार ७ सय ७३ र वाम गठबन्धनको पक्षमा २० हजार १ सय ५५ छ। आसन्न निर्वाचनमा राप्रपा र नयाँ शक्तिले कांग्रेसलाई समर्थन गरेका छन् भने नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेससँग एकता भइसकेको छ।

स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरमा १४ हजार ३२४ मत ल्याएर कांग्रेस उम्मेदवार विजयी भएका थिए। माओवादीले १० हजार २ सय ९ र एमालेले ९ हजार ९ सय ४६ मत प्राप्त गरेको थियो।

यस्तै फोरम लोकतान्त्रिकका उम्मेदवारले ४ सय ५९, राप्रपाले ८ सय २९ र नयाँ शक्तिले १ सय ७१ मत पाएका थिए।

यस्तै ११ हजार ५ सय २७ मत ल्याएका स्वतन्त्र उम्मेदवार व्यवसायी गोपाल हमाल अहिले विवेकशील साझा पार्टीमा छन्। उनको पार्टीबाट सोही क्षेत्रमा कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारी उम्मेदवार बनेका छन्। भण्डारीको उम्मेदवारीले जीत हारमा प्रभाव पार्ने स्थानीय बताउँछन्।

धनगढी उपमहानगरपालिकासँगै कैलारी गाउँपालिका ६ र ९ नम्वर वडा कैलाली निर्वाचन क्षेत्र नं ५ मा पर्छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell