PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालमा वाम गठबन्धन भविष्य के? झलक सुवेदीको विश्लेषण



पहिलोपोस्ट

नेपालमा वाम गठबन्धन भविष्य के? झलक सुवेदीको विश्लेषण

  • झलक सुवेदी

नेकपा एमाले र माओबादी केन्द्रले चुनावमा तालमेल गर्ने र पार्टी एकिकरण गर्ने भनेपछि भएको छ। वाम गठबन्धनको भविष्य के त? दुइ पार्टीहरुलाई वाम गठबन्धन भन्न मिल्ने कि नमिल्ने ? बहसको शृंखला जारी छ। सबैले आफ्नो तर्कहरु दिदैँ आएका छन्।

दुई पार्टीहरुले संयुक्त रुपमा गरेको दस्ताबेज, नेताहरुको व्यवहार र कार्यशैली हेर्दा वाम पन्थी भन्न मिल्ने र नमिल्ने भन्ने दुबै विषयमा बहश छ।

दस्ताबेज हेर्दा केही आधारहरु देखिन्छ वामपन्थी भन्ने। उनीहरुले अहिलेसम्म भएका सबै परिवर्तनहरु कम्युनिष्टकै कारण भएको ठोकुवा गरेका छन्। वाम गठबन्धनको कारण पुजीवादीहरु त्रसित भएको बताएका छन्।

एमालेको महाधिबेसनले समाजबादमा जाने भनेको थियो। माओवादीहरुले हेटौडा महाधिबेसनबाट सोही कुरा पारित गरेको थिए। एमालेले विगतमा सरकारी संस्थाहरुको निजिकरणमा विरोध गरेको थियो। किसानहरुले कर्जा पाउनुपर्छ भन्ने अडानमा एमाले थियो। अहिलेका दस्तावेजमा पनि यस्तै कुराहरु देखिएका छन्।

अहिलेपनि ‘नवउदारबाद’को विरोधमा छन् वामगठबन्धन। भुमिसुधार, वर्गहित र श्रमिकको कुराहरु उठाएका छन्। यि बाहेक अन्य शिक्षा, स्वास्थ्य र सामाजिक विषयका एजेण्डाहरु सबै पार्टीले उठाउँदै आएका छन्।

घोषणापत्रका केही बुँदाहरु हेर्दा वाम गठबन्धन भन्न मिल्छ। तर, पुरै घोषणापत्र अध्ययन गर्दा बुँदाहरु एक अर्कामा बाँझिएका छन्।

बाढीपिढित तथा भूकम्म पीडितहरुलाई एक वर्ष भित्रमा घर बनाइदिने भनेको छ। तर कसरी? जनताको सहभागिता बिना एक वर्षमा घर कसरी बन्छ? तेत्रा घरहरु बनाउन स्रोत कहाँबाट आउँछ। यी कुराहरु सबै कृत्रिम हुन्। असम्भव कुराहरु हुन्। झुट त कम्युनिष्टहरुले बोल्नु नहुने हो। तर, झुट बोलिरहेका छन्।

केही महिनाअघि मात्रै माओवादीहरु संविधान संसोधन गर्न ज्यान फालेर लागेका थिए। अहिले घोषणापत्रमा संविधान संसोधनको विषय उल्लेख नै छैन। महिलाको नागरिकता, स्वायत्त सत्ता र सासन प्रणालीजस्ता विषयमा पनि घोषणापत्र मौन छ।

यस्ता महत्वपूर्ण बुँदाहरु बेवास्ता गरेको देख्दा वामपन्थी कसरी भयो भन्ने प्रश्न उठ्छ।

घोषणापत्रमा ‘राष्ट्रवाद’को एकोहोरो अडान छ। वामपन्थी एजेण्डा बोकेको दमदार एजेण्डा केही भेटिन्न। अब कसरी वाम गठबन्धन भन्ने?

वाम गठबन्धन घोषणापत्रको अन्तिम सार समाजवाद छ। समाजवाद किन भन्दा संविधानलाई देखाएको छ। म वाम गठबन्धनको घोषणापत्रमा कम्युनिष्ट कम र राष्ट्रवाद ज्यादा देख्छु। प्रभावशाली र पूँजीपति वर्गको प्रभाव घोषणापत्रमा देखिन्छ।

 

वाम गठबन्धनको भविष्य के त ?

वाम गठबन्धनका नेताहरुले सत्ता प्राप्तीका लागि गठबन्धन गरेको भनेका छन्, यो मलाई न्याय पूर्ण लाग्दैन। स्थानिय तहको नतिजा हेर्दा एमालेले गठबन्धन नगरिकन पनि ठूलो पार्टी बन्ने लक्षण देखाएको थियो।

किन एमालेले माओवादीसँग मिल्ने निर्णय गर्यो? सबैलाई थाहा छ ओली र एमाले पार्टीले ठूलो रणनीतिक ‘स्याक्रिफाइस’ गरेका छन्। यति ठुलो स्याक्रिफाइस नेपालमा अहिलेसम्म अरुले गरेको देखिन्न। मदन भण्डारीले जसरी मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाउने निर्णय गरे, अहिले ओलिले त्यस्तै गरे।

अहिले ओलिले गरेको निर्णय मलाई रणनीतिक लाग्छ। ओली नेपालमा २ मोर्चाको मात्र लडाइ होस भन्ने चाहन्छन्। र, इण्डियासँग झुक्नु नपरोस् भन्ने ओलीको चाहना हो।

प्रचण्ड एमालेसँग किन मिल्न चाहे त?  जितिरहेको मान्छेलाई हार्न गाह्रो हुने रहेछ। प्रचण्डले आफ्नो शक्ति कम भएको महसुस गरे। र, आफु सुरक्षित हुन गठबन्धनमा सामेल भए।

प्रचण्ड गठबन्धनमा सामेल स्वयं आफ्नै निर्णयले भएका हुन्। धेरै तयारी र छलफल उनले गरेनन्। ओलीले पनि केही नेताहरुसँग मात्र छलफल गरेर यो निर्णय गरेका हुन्। व्यापक छलफल र तयारी दुबैपक्षबाट भएको थिएन।

प्रचण्डको विगत हेर्दा वाम गठबन्धनको भविष्य जोखिम छ। प्रचण्ड स्थिर चरित्रका मानिस होइनन् भन्ने उनले छोटो समयमा प्रमाणित गर्दिसकेका छन्। उनी जोसँग जसरी पनि छिट्टै मिल्न सक्छन र छुटिन पनि छिटै।

तल्लो तहबाट हेर्दा मतदाताले त वाम गठबन्धनलाई स्विकार गर्लान र मत देलान। तर, गठबन्धनको कारण दुबै पार्टीका धेरै नेताहरुले चुनाव लड्न पाएका छैनन्। उनीहरुको राजनीतिक भविष्य संकटमा देखिएको छ। उनीहरुको ‘इगो व्यावस्थापन’ कसरी हुन्छ। साना नेता कार्यकर्ता लाखापाखा लाग्दा गठबन्धनमा असर नपर्ला । तर, ठुला नेताहरुलाइ कसरी व्यावस्थापन गर्ने? कुन पद दिने ? सरकार र पार्टीमा कस्तो भुमिका उनीहरुले पाउने? यस्ता कुराहरु व्यास्थापन हुन सकेन भने गठबन्धनको भविष्य लामो देखिन्न्।

वाम गठबन्धनमा ४ जना पूर्व प्रधानमन्त्रीहरु छन्। उनीहरुलाई सरकारमा कसरी सम्मानजनक रुपमा राख्ने भन्दा पनि पार्टीमा कसरी मिलाउने भन्ने कुरो महत्वपूर्ण हुन्छ। मूख्य नेताहरुको ‘पर्सनल इगो’को कारण वाम गठबन्धनको भविष्य चूनौतीपूर्ण छ।

माओवादी सांगठनिक रुपमा अराजक पार्टी हो। माओवादी सामान्य रुपमा सिस्टममा चल्ने पार्टी हैन। यो नितान्त व्याक्तिवादी पार्टी हो। एमालेको व्यवस्थित संगठनमा यस्तो अराजक पार्टी कसरी ‘एडजस्ट’ हुन्छ?

यस्ता समस्याहरु एडजस्ट हुन सके पार्टी एकिकरण हुने सम्भावना देखिन्छ। पार्टी एकिकरण भएपछि धेरै नेताहरु निराश भएर पार्टी छोड्छन्। किनकि, त्यसपछि धेरै नेताहरुले अवसर पाउँदैनन्।

हामीकहाँ सुगौली सन्धिपछि भारतको प्रभाव कायम छ। बिस्तारै चीनले आफ्नो प्रभाव कायम गर्दैछ। चिनको नेपालमा प्रभाव हुनु गठबन्धनको लागि गम्भिर विषय हो।

नेपालका कम्युनिष्ट नेताहरु चीन जाँदा नेपाली नेताहरुलाई ‘तिमीहरु मिल हामी सहयोग गर्छौँ’ भनेको नेताहरु आफैले बेला बेला भन्दै आएका छन्। त्यही कारण वाम गठबन्धन भएको हो भने यो गठबन्धन केही टिक्न सक्ने पनि देखिन्छ।

एमाले र माओवादीको क्लास उस्तै उस्तै हो। एमालेले धेरै निति निर्णयमा प्रभाव पार्न सक्ने देखिन्छ भने माओवादीले त्यति ठूलो निर्णयमा प्रभाव पार्न सक्ने देखिदैन। सिद्धान्तत एमालेले पूँजिवादी चरणमा छौ भनेको छ।

‘क्लास बेस’ र अन्य केही फ्याक्टर आधारमा हेर्दा वामगठबन्धनको एकिकरण भयो भने २० / ३० वर्षसम्म टिक्ने देखिन्छ। त्यसको लागि आन्तरिक व्यावस्थापनलाई मिलाउनुको बिकल्प छैन्।

मार्टिन चौतारीले आयोजना गरेको नेपालमा वाम गठबन्धनको भविष्य नामक सेमिनारमा राजनीतिक विश्लेषक झलक सुवेदीले राखेको मन्तब्यको सम्पादित अंश)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell