PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रेफ्रिले खेल सकिएको हुसिल बजाउँदा शरिर नै जिरिङ्ग भयो : अनिल गुरुङ



गोविन्दराज नेपाल

रेफ्रिले खेल सकिएको हुसिल बजाउँदा शरिर नै जिरिङ्ग भयो : अनिल गुरुङ

काठमाडौं : नेपालको लागि ५०औँ अन्तर्राष्ट्रिय खेल अनिल गुरुङको लागि विशेष रह्यो। कारण अनिलले ५०औँ खेल खेलेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए। एएसफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा ८१औँ मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अनिलले नेपालको लागि ५०औँ क्याप जिते।

उनले कप्तानकै भूमिकामा अन्तिम खेल पनि खेले। अनिल पहिलो रोजाईमा नपरेका बेला विराज महर्जनले नेपालको कप्तानी गरेका थिए। अनिल मैदान छिर्ने बित्तिकै विराजले अनिललाई आर्मब्याण्ड लगाइदिएर रेस्फेक्ट देखाए।

यस्तै नेपालले फिलिपिन्स विरुद्ध गोलरहित बराबरी खेल्दै अनिलको बिदालाई पनि सुखद बनायो।

अनिलको अन्तिम खेलमा नेपालले फिलिपिन्सलाई गोल गर्न दिएन। अनिलले अन्तिम खेल बराबरी खेल्नुलाई राम्रो माने। 'मेरो लागि यो महत्वपूर्ण खेल थियो त्यसैले बराबरीमा खुशी छु।'

'म पहिले देखि मैदानमा कतिखेर प्रवेश गर्‍यौँ र खेल्यौँ भनेर उत्साहित भइरहेको थिएँ। ८१औँ मिनेटमा मैदान पनि छिरे खेले पनि। रेफ्रिले अन्तिम हुसिल बजाएपछि छुट्टै फिल भयो। मेरो शरिर नै जिरिङ्ग भइराको थियो त्यतिबेला।'

खेल सकिएपछि नेपालको सर्वोच्च फुटबल निकाय अखिल नेपाल फुटबल संघ एन्फाले अनिल गुरुङलाई ब्लेजर कोर्ट र सम्मान पत्रका साथ बिदाई समेत गर्‍यो। केही खेलाडीले मात्र आफ्नो करियरको अनत्यमा यस्तो सम्मान पाउनेछन् जुन अनिलले पाए। यसबाट अनिलले आफैले पनि आफू भाग्यमानी रहेको बताए। 'मैले यस्तो खालको सम्मान कहिल्यै सोचेको थिइद्द। तर एन्फाले मलाई एकदमै राम्रोसँग बिदाई गर्‍यो। यसले नयाँ आउने खेलाडीलाई पनि राम्रो खेल्ने उत्प्रेणा मिलेको छ।' खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अनिलले भने।

अन्तिम खेल खेलेपछि अनिलले आँशु पनि थाम्न सकेनन्। एन्फा कम्प्लेक्सको मैदानको सेन्टरमा पुगेर अनिलले मैदानलाई ढोगे। 'मैले यही मैदानबाट फुटबल शुरु गरे। फुटबलमै लागेर आज यस्तो बिदाई पाएको छु। मलाई दु: ख पनि लागेको छ अब मैले नेपालको लागि फेरी खेल्ने छैन।'

अनिलले फुटबलमा लागेर आफ्नो करियरमा धेरै परिवर्तन आएको बताए। 'नेपाल जस्तो टिममा खेलेर पनि मैले नाम दाम दुवै कमाएँ फ्यानहरु कमाएको छु।' अनिलले आफ्नो सन्तुष्टी व्यक्त गरे। 'मैले अब जर्सी नम्वर १० र नेपाली फ्यानहरुको मायालाई सँधै मिस गर्नेछु।' उनले नेपालको लागि खेल्न छाडेपनि क्लब फुटबलमा भने निरन्तरता दिने बताए। 'यत्रो समय फुटबलमा लागे अब मैले जानेको नै फुटबल हो। क्लब फुटबल भने खेलिरहनेछु। नेपाली फुटबललाई मैले सक्नेजती योगदान गर्नेछु।'

'नेपाली फुटबल अझै राम्रो होस्र मेरो सँधै सपोर्ट रहिरहनेछ। मैले सँधै नेपाली फुटबललाई माया गरिरहनेछु।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell