PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यसरी बनेको थियो गौचन हत्याको योजना : प्रहरी झुक्याउन सुटरको दुई मिनेटमा दुई पटक गेटअप चेन्ज



सविन ढकाल

यसरी बनेको थियो गौचन हत्याको योजना : प्रहरी झुक्याउन सुटरको दुई मिनेटमा दुई पटक गेटअप चेन्ज

काठमाडौं :  गत असोज २३ गते  भएको  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ।

प्रहरीले घटनामा संलग्न सुटर र सहयोगीलाई पक्राउ गरेपनि मुख्य योजनाकार समिरमान वस्नेत, मनोज पुन र लोप्साङ भने अझै प्रहरीको पन्जाबाट बाहिरै छन्। 

त्यसो त घटनाका सहयोगी अन्य पाँच जनालार्इ पनि  प्रहरीले पक्राउ गर्न सकेको छैन।अध्यक्ष गौचनको हत्या फिरौती रकमका लागि भएको अनुसन्धानबाट खुलेको डिआइजी गणेश केसीले बताए।

डिआइजी केसी भन्छन्, ‘सवै व्यवसायीसँग पैसा उठाएर बुझाउनु भन्दै बारम्बार फोन गरेको देखियो। पैसा नबुझाएपछि हत्या भएको हो।‘

यसरी बन्यो गौचनको हत्या योजना

गौचनको हत्या गर्नुभन्दा करिव एक महिना अघिदेखि नै समिरमान समूहले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। समिरमानका मान्छेले गौचनको एक महिनादेखि नै चियोचर्चो गर्न शुरु गरेका  थिए। 

हत्याको सबै जिम्मेवारी समिरमान वस्नेतका आफन्त पर्ने रोशन बुढाथोकीलाई सुम्पिएको थियो। बुढाथोकी नेपालमा वसेर समिरमानको सबै काम गर्ने गर्छन्। हत्याको योजना अनुसार सुटरका लागि  नुवाकोटका २१ वर्षीय राजिव स्याङतानलाई दिइयो। 

हत्या गर्न आवश्यक दुर्इवटा पेस्तोलको व्यवस्था गर्ने जिम्मेवारी पर्सा कालिकामाइका ३५ वर्षीय शिवजी महतोले लिए। महतोले भारतबाट दुई वटा पेस्तोल र एउटा साइन बाइक नेपाल ल्याउन सफल भए।

शिवजी महतोले भारतको बेतियाबाट १८ हजार रुपैयाँमा साइन बाइक खरिद गरे। भारतबाट ल्याएको मोटरसाइकल उनले २४ हजार रुपैयाँमा श्याम गुम्बे गुरूङलाई बिक्री गरेका थिए। महतोले बेतियाबाट ५५ हजार रुपैयाँमा हतियार खरिद गरी गुरुङलाई ६५ हजार रुपैयाँमा विक्री गरेको अनुसन्धानबाट देखिएको छ।

चोरीको भारतीय मोटरसाइकलमा नेपाली नम्वर प्लेट प्रयोग भएको डिआइजी केसीले बताए। बाइक बरामद भएपनि हत्या कसले गर्यो भन्ने नखुलोस् भनेर भारतीय बाइक प्रयोग गरेको बुझिएको छ। अर्को पल्सर बाइकको व्यवस्था भने पर्सा ठोरी नगरपालिकाका १८ वर्षीय सन्तोष गुरुङले गरेका थिए।लगभग एक महिनादेखि नै दुईवटा बाइकबाट गौचनको चियोचर्चो भयो। 

प्रहरीलाई झुक्याउन गेटअप चेन्ज

प्रहरीले सहजै हत्यारा पत्ता नलगाओस् भनेर सुटर राजिवले दुर्इ पटक गेटअप चेन्ज गरेको देखिएको छ। प्रहरीले हात पारेको सिसीक्यामरा फुटेजमा राजिवले गोली प्रहार गर्नुभन्दा अगाडि क्याप र कालो ज्याकेट लगाएका थिए।

गोली हानेर भाग्ने बेलाको दुर्इ मिनेटमा नै उनले लगाएको क्याप र ज्याकेट फुकालेर फ्यालेका छन्। त्यसपछि सुटर राजिव छिर्केमिर्के टिसर्ट मात्र लगाएर बाइकको पछाडि बसेर फरार भएका थिए। प्रहरीले सुटर राजिवलार्इ पक्राउ गर्दा उनले सोही टिसर्ट लगाएका थिए।

उधारोमा नै सुट !

व्यवसायी गौचनको हत्याका सुटर राजिवले हत्या गरे बापत अहिलेसम्म कुनै रकम नलिएको खुल्न आएको छ। केही रकममा सुट गर्ने सहमति भएपनि पक्राउ पर्दासम्म समिरमान पक्षले रकम नदिएको अनुसन्धानमा देखिएको हो।

पक्राउ परेका राजिवको नेपालमा अन्य घटनामा संलग्न भए नभएको पनि खुल्न सकेको छैन। डिआइजी केसीले भने, ‘हामी अझै अनुसन्धानमा नै छौं के कस्तो संलग्नता छ पछि खुल्दै जान्छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell