PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

जीवनभर निको नहुने ‘खतरनाक रोग’ जसले कुनै उमेर समूहका मानिसलाई छाड्दैन



सागर बुढाथोकी

जीवनभर निको नहुने ‘खतरनाक रोग’ जसले कुनै उमेर समूहका मानिसलाई छाड्दैन

काठमाडौं: बालकोटस्थित गोरख पोलिक्लिनिकमा सुवास थापा बुबासँग चेकअपका लागि आए। १९ वर्षीय सुवासको तौल ९० केजी थियो भने उचाइ ५ फिट चार इन्च।
 

उनलाई छिटो-छिटो पिसाव लाग्ने र अत्याधिक तिर्खा लाग्ने गर्थ्यो। भोक लागिरहने, थोरै हिँड्दा पनि थाक्ने र आँखा तिरमिराउने कारणले उनी चिन्तित देखिन्थे।
 

हात खुट्टा करेन्ट लागेजस्तो गरी झमझमाउथे। शरीर कमजोर भएजस्तै गरी रिंगटा लागिरहन्थ्यो। सामान्य चोट निको हुन पनि महिनौँ लाग्ने हुनाले उनको परिवार चिन्तित थियो।
 

सुवासलाई देखिएको लक्षण उनको बुबा दीपकको जस्तै थियो। सबैले शंका गरेका थिए, सुवासलाई पनि बुबालाई जस्तै डायबिटीज भएको छ।
 

स्वास्थ परीक्षणपछि शंका सही ठहरियो -सुवासलाई डायबिटीज देखियो।
 

सुवास सानैदेखि धेरै टिभी हेर्थे। मोबाइलमा गेम खेलेर उनको दैनिकी बित्थ्यो। स्कुलमा साथीहरु फुटबल, क्रिकेट र डान्स क्लासमा भाग लिन्थे। सुवासलाई त्यस्तो क्रियाकलापमा चासो थिएन। घरमा बसेर टीभी हेर्ने र जंक फुड खाने स्वाभावले १९ वर्षकै उमेरमा सुवासले डायबिटीज जस्तो खतरनाक रोग बोक्नुपर्‍यो।
 

अब उनले जीवनभर मन लागेको चिज खान पाउने छैनन् बुबाले जस्तै।
 

अब सुवासले उनको फेबरेट आलुको परिकार खान मिल्दैन्। चकलेट त परै जाओस् चामलको भातबाट पनि उनी टाढा हुनु पर्नेछ।
 

हर्टअट्याक, मृगौला फेल, मष्तिक पक्षघात र अन्धोपन जस्ता धेरै रोगहरुबाट बच्न उनले खानपिनमा अनुशासित हुनु पर्नेछ। डाक्टरले सुवासलाई के खाने के नखाने सबै निर्देशन दिइसकेका छन्।
 

चिल्लो, बोसोयुक्त र गुलियो खानेकुराबाट सुवास टाढै बस्नुपर्नेछ। उच्च कोलेस्ट्रोल हुने खानेकुराहरु चीज, अण्डाको पहेंलो भाग, बोसो भएको मासुहरु खानु हुँदैन। एक घण्टाभन्दा बढी व्यायाम गर्नु उनको दैनिकी हुनेछ।
 

डायबिटीज दीर्घ रोग हो। यसको उपचार पत्ता लागेको छैन। खानपिन, व्यायाम र औषधी खायो भने बिरामीको आयु बढाउन र रोग व्यवस्थापन गर्न सकिन्छ।
 

मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. प्रिया दर्शनी योन्जन भन्छिन्, ‘रगतमा भएको चिनीको मात्रा घटाउनु र रक्तकोशमा क्षति पुर्‍याउने अन्य तत्वको निवारण गर्नु नै मधुमेहको व्यवस्थापन गर्नु हो। त्यसको लागि डायबिटीजका रोगीहरुले धेरै कुराहरुमा ध्यान दिनुपर्छ।’
 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर ४२२ मिलियन मानिसहरुलाई डायबिटीज छ। सन् १९८० मा १०८ मिलियन मानिसहरुलाई मात्र डायबिटीज थियो।



नेपालमा पनि ४० वर्ष उमेर समूहका करिव १५ प्रतिशत डायबिटीजबाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथिका करिव १९ प्रतिशतलाई डायबिटीज लागेको बताइएको छ। नेपालमा डायबिटीजसम्बन्धी अध्यन गर्ने संस्था आइडिएफले सन् २०१५ सम्ममा ५ लाख २६ हजार मानिसहरुमा डायबिटीज भएको तथ्यांक सार्वजानिक गरेको थियो।
 

सन् १९८० पछिको ३५ वर्षमा  विश्वभरका १.६ मिलियन मानिसहरु डायबिटीजको कारणले मरेका थिए। त्यस्तै २.२ मिलियन मानिसहरुको रगतमा बढी ग्लुकोज देखिएको कारण मृत्यु भएको थियो।
 

हर्टअट्याक हुने, मष्तिक पक्षघात हुने, अन्धोपन र मृगौला फेल हुने मुख्य कारण डायबिटीज भएर नै हो। डायबिटीज आफैंमा रिस्क फ्याक्टर हो। डायबिटीज भएपछि जीवनभर औषधी खाँदा समेत रोग निर्मुल नहुने भएकाले चिकित्सकहरुले डायविटीजलाई ‘खतरनाक रोग’ को संज्ञा दिएका छन्।
 

विश्वमा यो रोगबाट मर्नेमध्ये ५ प्रतिशत डायबिटीजका रोगी रहेका छन्। यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउँदो १० वर्षमा डायबिटीजबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
 

१८ वर्ष उमेरका ८.५ प्रतिशत किशोर किशोरीहरुलाई डायबिटीज देखिएको छ। विगत ३० वर्षमा बालबालिकामा हुने डायबिटीज तीन गुणाले बढेको विश्व स्वास्थ्य संगठनको अध्ययनले बताएको छ। मोटोपन नै डायबिटीज हुने मुख्य कारण हो। उमेर अनुसार उचाइ र उचाइ अनुसार तौल नमिल्नु पनि डायबिटीज हुने प्रमुख कारण हो।
 

विश्व स्वास्थ्यको अध्ययन भन्छ ‘सन् २०३० सम्ममा मानिसहरुको मृत्यु हुने प्रमुख कारणको सातौँ स्थानमा डायबिटीज हुनेछ।’
 

करिव ८० प्रतिशत मध्यम र निम्न आय भएका मुलुकमा डायबिटीजका बिरामीहरु धेरै देखिएको अध्ययनले देखाउछ।


के हो डायबेटिज ? किन हुन्छ ?

सामान्यतया 'चिनीरोग' भनेर डायबिटीजलाई चिनिन्छ। यो निको नहुने रोग हो। नेपालमा डायबिटीजलाई मधुमेह भन्ने गर्छन्। डा. प्रियाका अनुसार रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै डायबिटीज हो। प्याङक्रियाज नामक ग्रन्थीबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितता हुँदा डायबिटीज हुन जान्छ।
 

‘इन्सुलिनले चिनी अर्थात कार्वोहाइड्रेडलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ। तर, जब इन्सुलिनको उत्पादन हुन छाड्छ, रगतमा चिनीको मात्रा बढ्न थाल्छ।’ उनले भनिन्, ‘प्याङक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा डायबिटीज हुन्छ।’
 

डा. प्रियाको अनुसार भोको पेटमा अर्थात ‘फास्टिङ’मा रगत जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएको दुई घण्टापछि अर्थात ‘पीपी’ जाँच गर्दा २०० बढी भयो भने पनि डायबिटीज भएको थाहा हुन्छ।
 

अहिले १० देखि ७० वर्षसम्मका मानिसहरुलाई डायबिटीज देखिएको छ। उनले भनिन्, ‘पहिला बुढ्यौलीमा हुने रोग भनेर डायबिटीज भनिन्थ्यो। अहिले बच्चादेखि सबै मानिसहरुलाई यो रोग देखिएको छ। तुलनात्मक रुपमा सबै उमेर समूहका मानिसहरु बराबर जसो डायबिटीज लागेर उपचार गर्न आउँछन्।’
 

विलासी जीवनशैली, खानपान, मोटोपन भएका र शारिरीक रुपमा निष्क्रिय हुनेहरुलाई डायबिटीज देखिने डा. प्रिया बताउँछिन्। त्यसैगरि बाबु आमामा डायबिटीज भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत हुने विभिन्न अध्यनहरुले देखाएको छ।
 

डा. प्रियाको अनुसार भाइरसको संक्रमणको कारणले पनि डायबिटीज हुन्छ। प्याङक्रियाजको इन्सुलिन उत्पादन गर्ने विटा कोसमा भाइरसको संक्रमण हुँदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण डायबिटीज हुन जान्छ। डा. प्रिया भन्छिन्, ‘व्यायामको कमी, अस्वस्थ खाना, उच्च रक्तचाप र रगतमा बढी कोलस्ट्रोल हुँदा पनि डायबिटीज हुन्छ।’


कस्तो कस्तो मधुमेह ?

डा. प्रियाका अनुसार चार प्रकारका डायबिटीज देखिन्छ। टाइप वान, टु, थ्री र फोर। नेपालमा देखिएका ९० प्रतिशत डायबिटीज टाइप टू भएको प्रिया बताउँछिन्।
 

बालबालिकामा हुने डायबिटीज टाइप वान भएको डा. प्रियाको भनाइ छ। टाइप वान डायबिटीजमा इन्सुलिनको उत्पादन शून्य अर्थात अत्यन्त न्युन हुन्छ। रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्वारा इन्सुलिन दिनुपर्ने हुन्छ।


टाइप टू डायबिटीज प्रौढ अवस्थामा हुने गर्छ। विश्वमा भएका धेरै डायबिटीजका रोगीमध्ये यही प्रकारका रोगी धेरै छन्। यसमा प्याङक्रियाजले
कम इन्सुलिन उत्पादन गर्छ र शरीरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ। उमेर बढ्दै जाँदा यो प्रकारको डायबिटीजबाट व्यक्ति ग्रसित बन्ने गर्छन्।
 

टाइप थ्री डायबिटीज गर्भवती महिलाहरुमा जुनै पनि बेला रगतमा चिनीको मात्रा उच्च हुन्छ। यस्तो प्रकारको मधुमेहलाई जेस्टेशनल मधुमेह भनिन्छ।


कसरी बच्ने ? के खाने, के नखाने ?

डायबिटीज दीर्घ र उपचार नहुने रोग भएकाले औषधी खाएर मात्र बस्नु हानिकारक हुन्छ।
 

इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने गर्नुपर्छ।
 

डायबिटिजबाट बच्नको लागि रक्तचाप नियन्त्रण गर्ने, खानामा ध्यान पुर्‍याउने, बढी कार्वोहाइड्रेड भएका खानेकुरा नखाने। धुम्रपान र मध्यपान त्याग्ने र बढी चिल्ला खानेकुरा नखाँदा पनि डायबिटीजबाट बचिन्छ। शारिरीक व्यायाम अर्को विकल्प हो।
 

डायबिटीजको बिरामीहरुले तनाव लिनु हानिकारक रहेको डा. प्रिया बताउँछिन्। धुम्रपान र मध्यपानबाट टाढै बस्नुपर्छ। कार्वोहाइड्रेडयुक्त खानेकुराबाट टाढा बसेर हरिया सागपात खान जोड दिनुपर्छ।

यो पनि पढ्नुस्
 

उपचार पत्ता नलागेको एउटा ‘खतरनाक’ रोग जुन ‘मेडिकल साइन्टिस्ट’हरुको टाउको दुखाइ बन्दैछ 

 

सकुशल सुतेकै अवस्थामा मानिस किन मर्छ? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell