PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जसरी पनि जित्नैपर्छ भन्ने कारणले सुरक्षा चुनौती थपियोः निर्वाचन आयोग



सविन ढकाल

जसरी पनि जित्नैपर्छ भन्ने कारणले सुरक्षा चुनौती थपियोः निर्वाचन आयोग

काठमाडौं :  निर्वाचन आयोगले केही समय अघिदेखि नै आगमी निर्वाचनका लागि सरकारसँग नेताहरुको सुरक्षा माग गरिरहेको छ। 

शुक्रबार माओवादी केन्द्रका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार भयो। त्यसको २४ घण्टा नवित्दै रोल्पामा माओवादी नेता वर्षमान पुनको गाडीलाई लक्षित गरी माइन बिस्फोट गराइयो।

विभिन्न स्थानमा घरेलु हतियारलगायत विस्फोटक पदार्थ बरामद हुन थालेपछि निर्वाचन आयोग निर्वाचन सुरक्षामा थ्रेट देख्न थालेको छ।

गृह मन्त्रालयले तयार पारेको सुरक्षा रणनीतिमा सन्तुष्ट भए पनि आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुने भएकाले स्थानीय तहको निर्वाचनभन्दा सुरक्षा चुनौती रहेको आयोगले दावी गरेको छ। 

आयोगका आयुक्त सुधिरकुमार शाहले  भने,‘स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो। यो पटक दुइ चरणमा भएकाले सुरक्षा चुनौतीको आभास भएको हो।’

तीनै वटा सुरक्षा निकायले झैं निर्वाचनमा दलहरुको ध्रुवीकरणले नै बढी सुरक्षा चुनौती थपिने आशंका आयोगले गरेको छ। आयुक्त शाहले भने, ‘दलहरुको ध्रुवीकरणले आरोप प्रत्यारोपमा उत्रँदा सुरक्षा चुनौती बढ्ने देखिन्छ। जसरी पनि जित्नैपर्छ भन्ने सोचले दुर्घटना निम्त्याउँदै छ।’

यस पटकको निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नाममा प्रमुख दलहरु ध्रुवीकृत भएर चुनाव लड्दै छन्। स्थानीय तहमा स्थानीय उम्मेद्वार भएकाले पनि निर्वाचनमा सुरक्षा चुनौती कम भएको आयुक्त शाहले बताए। उनले भने,‘राष्ट्रिय स्तरका नेताहरु उम्मेद्वार छन् उनीहरुको सुरक्षा चुनौती थपिएको छ।’

स्थानीय तहको निर्वाचनमा गृह मन्त्रालयले पहाडी जिल्लाहरुमा नेत्रबिक्रम चन्द  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चुनौतिका रुपमा हेरेको छ। मंसिरमा हुने निर्वाचनमा पनि विप्लव, तराईमा सक्रिय भूमिगत संगठनहरु र सिके राउतको समूहलगायतले निर्वाचनमा प्रभावित पार्न सक्ने सुरक्षा निकायले बताएको छ। 

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनमा खटिने म्यादी प्रहरीको संख्या थप गरिएको छ। स्थानीय तहमा ७५ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा यो पटक ९८ हजार पुर्याइएको छ।  दुर्इ चरणमा देशभर २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालन गर्ने गृहमन्त्रालयको तयारी छ।

तीन घेरामा निर्वाचन सुरक्षा

विगतका निर्वाचनमा झैँ यस पटक पनि तीन घेरामा सुरक्षा योजना परिवर्तन नहुने गृह मन्त्रालय स्रोतले जनाएको छ। मतदान क्षेत्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटाउने तयारी भइरहेको छ। 

त्यस्तै दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिममा नेपाली सेना रहने छ। नेपाली सेनालाई मतदानमा मनोवैज्ञानिक सुरक्षाको लागि मात्र खटाइने स्रोतले बतायो।

हाल नेपालमा नेपाली सेना करिब ९० हजार छ। प्रहरी ७२ हजार र सशस्त्र प्रहरी ३७ हजार पुगेका छन् भने राष्ट्रिय अनुसन्धान विभागमा करिब ३ हजार जनशक्ति छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell