PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपेन्द्र यादवमाथि ‘कुर्सीतोड मन्त्री’को चुनौति, पैसावालाको प्रभाव 



बीपी साह

उपेन्द्र यादवमाथि ‘कुर्सीतोड मन्त्री’को चुनौति, पैसावालाको प्रभाव 

काठमाडौं : सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा सप्तरी पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई निर्वाचन जित्न सोचेजति सहज भने छैन।

उनी त्यहाँका उम्मेदवार बनेका छन् जहाँ मधेश राजनीतिका अग्रेणी नेता गजेन्द्रनारायण सिंहले मधेशवाद र मधेश राजनीति फैलाएका थिए। मधेशवादको उर्वर भूमि भएकै कारण यादवले सप्तरी रोजे। हुन त यादवको जन्मथलो पनि सप्तरी नै हो। यादव जातिको बाहुल्यता भएको ठाउँ। 
यति हुँदाहुँदै पनि प्रतिनिधि सभाका लागि सप्तरी दुईबाट चुनाव जित्न उपेन्द्र यादवलाई फलामे च्युरा चपाउनु सरह बन्दै गएको छ। 

विभाजित जातीय समीकरण

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा अधिकांश पदाधिकारी एवं जिम्मेवार पदमा मधेशका यादवहरु नै छन्। उनको पार्टीमाथि यादव बाहुल्य भएको जातीय छाप त्यसकारण पनि लाग्दै आएको छ।

उपेन्द्र यादवले रोजेको सप्तरीको दुई नम्बर क्षेत्र यादव बाहुल्य क्षेत्र नै हो। उक्त क्षेत्रमा यादव जाति पहिलो स्थानमा छ भने दोस्रो स्थानमा साह छन्। तेस्रो स्थानमा मण्डल र मधेशी ब्राम्हण छन्। 

वाम गठबन्धनबाट संविधानसभामा कुर्सी तोडेर चर्चामा आएका पूर्वमन्त्री उमेश यादव उनका प्रतिस्पर्धी उम्मेदवार छन्। जातीय समीकरणमा उपेन्द्रमाथि उमेश यादवको प्रवेशले प्रभाव पार्ने देखिन्छ। यसले निश्चितरुपमा जातीय भोट विभाजित हुने देखिन्छ। उमेश यादव स्थानीय स्तरमा भिजेका र सक्रिय नेता भएकाले उनले पाउन मत बलियो हुन्छ। समीकरणको खेलमा महत्वपूर्ण भूमिका निभाउन सक्ने जातीय संगठन यादव सेवा समिति - गोपाल सेवा समितिले आधिकारिक कुनै निर्णय गरिसकेको छैन। 

दोस्रो स्थानमा रहेको साहको भोट पनि बाँडिने देखिन्छ किनभने साह जातिबाट कुनै पनि बलिया उम्मेदवार छैनन्। जसकारण साहको भोट कता जाने भन्ने आंकलन गर्न कठिन छ।

राजपाका बागी उम्मेदवार जयप्रकाश ठाकुर (जेपी ठाकुर) छन्। उनी ब्राम्हण हुन्। उनी बलियो पनि देखिने भएकाले ब्राम्हणको भोट ठाकुरमा जाने देखिन्छ।

गठबन्धनभित्र अन्तरकलह : चर्चामा पुरानो सद्‍भावना र तमलोपा

स्थानीय निकायको मत परिणाम हेर्ने हो भने उक्त क्षेत्रमा पर्ने चार स्थानीय निकायमध्ये राजविराज नगरपालिकासहित दुईवटा स्थानीय निकाय राजपाले जितेको छ। एउटा गाउँपालिका फोरमले र एउटा नयाँ शक्तिले। 

समग्रमा उक्त क्षेत्रमा राजपा पहिलो स्थानमा छ। राजपाले फोरम नेपालसँग गठबन्धन गरेर उपेन्द्र यादवलाई उम्मेदवार बनाएको हो। तर, राजपाबाट जेपी ठाकुर बागी उम्मेदवार बनेका छन्। राजपामा ठाकुरको लगानी पनि अधिक भएकाले राजपाको भोट ठाकुरले काट्न सक्ने सम्भावना छ।
 
सप्तरीमा राजपाभित्र पनि दुई समूह शक्तिशाली मानिन्छन्। पहिलेको राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी। महतो समूह यादवसँग भए पनि ठाकुर समूहबाट जेपी ठाकुर उम्मेदवार छन् जसका कारण राजपा सप्तरीमा आन्तरिक कलह बढ्दै गएको छ। 

बागी उम्मेदवारलाई राजपाले मनाउन सकेको छैन भने पुरानो सद्भावना र तमलोपाले पनि एकअर्काका उम्मेदवारलाई हराउने मूडमा देखिएका छन्। उक्त क्षेत्रमा विधायकमा पुरानो सद्‍भावनाका महासचिव एवं हाल राजपाका महासचिव मनिष सुमन पनि उम्मेदवार छन्।


मालदारको चर्चा

आर्थिक रुपमा राजपाका बागी उम्मेदवार जेपी ठाकुर बलियो मानिन्छन्। शिक्षण व्यवसायमा उनको लगानी छ भने मेडिकल क्षेत्रमा पनि उनी बलियो मानिन्छन्। स्थानीय निकायको निर्वाचनमा राजपालाई जिताउन उनले करोडौं खर्च गरेको चर्चा छ भने अहिले पनि उनी रकम खर्च गर्नेमा अगाडि छन्। 

ठाकुर उक्त क्षेत्रमा चर्चित अनुहार पनि हुन्। 

उपेन्द्र यादव ‘टुरिष्ट’ उम्मेदवार रहेको बताउने गरेका ठाकुर आफु स्थानीय र राजपाका आधिकारिक उम्मेदवार रहेको दाबी गर्ने गरेका छन्। टुरिष्ट उम्मेदवारको चर्चा चलाइएपछि यादवले आफ्नो नागरिकतासमेत सार्वजनिक गर्न लगाएका थिए। राजपाले ठाकुरको उम्मेदवारी फिर्ता गराउन नसक्दा राजपा–फोरम गठबन्धन नै धरापमा परेको छ। 

वाम गठबन्धनको असर

वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्वमन्त्री उमेश यादव व्यवस्थापिका संसदमा कुर्सी तोडेपछि माओवादीभित्र तथा अन्य क्षेत्रमा पनि चर्चित भएका थिए।

त्यसपछि उनी सिंचाई मन्त्री हुँदा अन्य जिल्लाको तुलनामा आफ्नो जिल्लामा अधिक बजेट लगेका थिए। 

यादव यसअघि उक्त क्षेत्रबाट चुनाव जितिसकेका नेता भएकाले उपेन्द्र यादवमाथि उमेश यादव भारी पर्ने सम्भावना रहेको छ। दवंग छवीका उमेश यादव माओवादी लडाकु पृष्ठभूमिका मानिन्छन्। जसकारण युवा समूहहरु पनि उनीसँग सक्रिय छन्। 


उपेन्द्रलाई कांग्रेसको भर

नेपाली कांग्रेसले उपेन्द्र यादवलाई सघाउने निर्णय गरे पनि स्थानीय स्तरमा दुई समूहमा कांग्रेस विभाजित देखिन्छन्। 

कांग्रेसको एउटा समूहले पार्टीको आधिकारिक निर्णय भएको भन्दै उपेन्द्र यादवलाई सघाउन पक्षमा छ भने अर्को समूह त्यसको विरोधमा।

उपेन्द्र यादवको विरोधमा रहेको समूहले बुधवार अलग्गै बैठक गरी कांग्रेसका लागि भोट माग्ने निर्णय गरेका छन्। तर, कांग्रेसका आधिकारिक उम्मेदवार सकलदेव सुतिहारले आफू पार्टीको आधिकारिक निर्णय मान्ने भन्दै उपेन्द्र यादवलाई सहयोग गर्ने बताएका छन्।

अब नेपाली कांग्रेसले पूर्ण रुपमा काँध हालेर सघाएमात्र उपेन्द्र यादव चुनावमा जित्न सक्ने सम्भावना देखिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell