PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

केवल टिभीलाई डिजिटलमा जान फेरि १५ दिनको म्याद



केवल टिभीलाई डिजिटलमा जान फेरि १५ दिनको म्याद
abertillerydigitaltv.co.uk

काठमाडौं : सञ्चार मन्त्रालयले  एनालग प्रणालीमा चलिरहेका केवल टिभी प्रदायकहरुलाई डिजिटलमा जान १५ दिनको म्याद दिएको छ। गत सोमबार सार्वजनिक सूचनामार्फत् दिइएको म्याद अटेर गरे त्यसपछि एनालग प्रणालीका केवल टिभीको लाइसेन्स खारेज गर्ने मन्त्रालयको चेतावनी छ।
 
मन्त्रालयले यस्ता सूचना प्रकाशित गरेको यो पहिलो पटक होइन। गत बैशाख १५ भित्र नै सबै महानगरपालिका अन्तर्गतका एनालग केवल टिभी प्रदायकलाई डिजिटल प्रणालीमा जान मन्त्रालयले ‘अल्टिमेटम’ दिएको थियो। तर, अटेर गर्ने केवल टिभी प्रदायकलाई मन्त्रालयले कुनै कारबाही गरेन।
 
महानगर बाहेक उपमहानगर र नगरपालिकाका केवल टिभी प्रदायकलाई डिजिटल प्रणालीमा जान मन्त्रालयले गत बुधबारसम्मको म्याद दिएको थियो। त्यही म्यादको पूर्वसन्ध्यामा १५ दिने अल्टिमेटम जारी भएको हो।
 
काठमाडौँको तुलनामा बाहिरका महानगरपालिकामा बरु प्रगति हासिल भएको छ। मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार बिराटनगर, पोखरा लगायतका महानगरमा ९० प्रतिशत केवल टिभी डिजिटल प्रविधीमा गइसकेका छन्।
 
काठमाडौंमा भने प्रभावकारी अनुगमन गर्न नसकिएको उनी स्वीकार गर्छन्। ‘काठमाडौंमा धेरै घर भएका कारण प्रत्येकमा जाँच्न सम्भव भएन, उनले भने- त्यसैले अब हामी टेलिभिजन च्यानल वितरकको सिस्टम जाँचमा लागिपरेका छौँ'।’
 
एनालगलाई डिजिटलमा लैजान २०६९ साल देखिनै पहल सुरु भए पनि कार्यान्वयनलाई समय लागेको उनको भनाइ छ। अकस्मात एनालग प्रणाली खारेज गर्दा अधिकांश उपभोक्ताले टिभी च्यानल हेर्न नपाउने हुँदा कारबाही प्रकृया क्रमशः अघि बढाएको उनको दावी छ।

गाउँपालिकाहरुमा सञ्चालित केवल टिभीलाई भने एनालगबाट डिजिटलमा जान आउँदो बैशाख १५ सम्मको म्याद दिइएको छ। त्यसपछि मात्र महानगर, नगर क्षेत्रका समेत एनालग केवल टिभीविरुद्ध कडाइका साथ प्रस्तुत हुने मन्त्रालयको भित्री तयारी रहेको छ।
 
बैशाख १५ यताको कात्तिक १५ सम्मको दोस्रो चरणमा १२ वटा एनालग प्रणालीका केवल टिभीले डिजिटल लाइसेन्स लिएको ढकालले जानकारी दिए। डिजिटल प्रणालीमा गएपछि केवलले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै सेटटप बक्स राख्नु पर्ने हुन्छ। त्यसो गर्दा मुलुकमा रहेका टेलिभिजनको संख्या यकिन हुनाको साथै सर्वसाधारणले तिरेको कर पनि सरकारी खातामा नै पुग्छ। अहिले एनालग प्रणालीको केवल टिभी सेवा प्रदायकले जनताबाट उठाएको कर राज्यलाई बुझाए/नबुझाएको यकिन गर्ने कुनै माध्यम छैन। त्यस्तै एउटा टिभी हेर्ने भनेर लिएको केवललाई घरभरी बाँडेर पनि चलाइएको हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell