PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

काठमाडौं बसेर सिन्धुपाल्चोकको राजनीति : पशुपति शम्शेर किन कमजोर?



पहिलोपोस्ट

काठमाडौं बसेर सिन्धुपाल्चोकको राजनीति : पशुपति शम्शेर किन कमजोर?

  • नेत्र तामाङ-
लोकतान्त्रिक गठबन्धनले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को संघीय प्रतिनिधि सभाका लागि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबरालाई उम्मेदवार बनाएसँगै यहाँको राजनीतिक वातावरण गर्मिएको छ।

राजपरिवारसँग काँधमा काँध मिलाएर महाराजगञ्ज वरपर बस्दै राजनीति गर्दै आएका राणाको सिन्धुपाल्चोक साइनो खोज्दै यतिबेला लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता भौतारिन थालेका छन्।

पञ्चायतको निर्वाचनदेखि बहुदलीय व्यवस्थासम्म पाँच पटक क्षेत्र नम्बर ३ बाट चुनेर आएका राणाले राजतन्त्रको अन्त्यपछि भने हार ब्योहोर्दै आएका छन्। पहिलो संविधान सभामा माओवादीको दावा तामाङसँग र दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग उनले हार्नुपर्‍यो। दावा अहिले प्रदेशकाका लागि वाम गठबन्धनमा उम्मेदवार छन् भने शेरबहादुरले वाम गठबन्धनबाट राणासँगै उम्मेद्वारी दिएका छन्।

राणाको निर्वाचन परिणाम कस्तो रहला भन्ने यतिबेला जिल्लामा मात्र हैन देशभर चासोको विषय भएको छ। उमेरले उकालो चढ्दै गर्दा कतिपयले राणाको अन्तिम लडाई भएकोले पनि यो हार जितलाई महत्वका साथ हेरिन थालिएको छ। राणाले जित्लान् कि हार्लान् यस्ता छन् सैद्धान्तिक आधारः

भिजन नभएका नेता

पशुपति शमशेर राणासँग केही गर्छु भन्ने भिजन पनि छैन र केही गर्नुपर्छ भन्ने उद्देश्य पनि छैन। अध्यक्षसँग नै भिजन नभएकोले पार्टीसँग भिजन हुने त कुरै भएन। उम्मेदवारी दिएका उनले अहिले पनि कुनै विकासका कार्यक्रमको प्रतिवद्धता दिएका छैनन्। तत्कालीन क्षेत्र नम्बर ३ बाट पटकपटक चुनिएर पटकपटक जलस्रोत मन्त्री हुँदा पनि उनले सिन्धुपाल्चोकमा विकास भित्र्याउन सकेनन्। राजधानीबाट नजिक रहेको इन्द्रावतीमा विद्युत परियोजना लगेकोमा उनी उक्त काम आफुले गरेको जस लिन्छन्।

नेपालकै धनाढ्यमा गनिने राणालाई जितेर जनतामा जानुपर्छ भन्ने कुनै फिलिङ छैन। पञ्चहरुमध्ये राप्रपाको तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाको जिल्ला धनकुटामा पुगेर हेर्ने हो भने उनले उक्त क्षेत्रको विकासले काँचुली नै फेरिदिएका छन्। सडकको मात्र हैन जनताको आचरण नै कति सुधार गरिदिएका छन्। उक्त क्षेत्रको फोहोर व्यवस्थापन कति लोभलाग्दो छ, जुन काठमाडौंले समेत अनुशरण गर्न सकेको छैन। 

जिल्लाले नस्वीकारेको नेता

३५ वर्षदेखि जिल्लामा प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन् राणाले। पद र शक्तिका हिसाबले राष्ट्रिय स्तरका ‘हेभिवेट’ राजनीतिक नेता मानिए पनि सिन्धुपाल्चोकका जनताले उनलाई आफ्नो जिल्लाका नेता भनेर स्विकार्न सकेनन्। अमृत बोहोरा, मोहनबहादुर बस्नेत, विष्णुविक्रम थापा, नेत्रविक्रम थापाजस्ता नेताहरुको नाम जिल्लासँग जोडिन्छ। तर, राणाको नाम यस जिल्लासँग कमै मात्रमा जोडिन्छ। यसको मुख्य कारण जनतासँग हेलमेल हुन नसक्नु हो। उनले राजधानीमै बसेर शासन गरे। जिल्लाको केही काम परेमा उनकै महल धाउनु जनताको बाध्यता परेको थियो।

वदनाम जिल्ला

राणाको क्षेत्र सबैभन्दा बढी चेली बेचबिखन हुने क्षेत्रको रुपमा कहलिएको क्षेत्र हो। हेलम्बु गाउँपालिका अन्तर्गतको इचोक र पाँचपोखरी गाउँपालिका अन्तर्गतको भोताङका बासिन्दा अहिले पनि उक्त दाग हटाउन प्रयासरत छन्। अशिक्षा, बेरोजगारी व्यप्त रहेपछि यहाँका कतिपय मानिस भारतमा मजदुरी गर्न जान बाध्य बने। र, अहिले पनि यी क्षेत्रका कतिपय परिवारको पहिलो भाषा हिन्दी हुने गरेको छ। मानव बेचबिखनमा उनी नजोडिए पनि उनका समर्थकहरु भने पटक पटक सार्वजनिक भएका छन्।

तामाङमाथि आरोप

राणालाई जिताउन तामाङ जातिको साथ रहेको आरोप समग्रको रहेको छ।  बेरोजगारीले व्यप्त तामाङ जातिले एक गिलास रक्सीमा उनलाई भोट दिएकाले पनि उनले जितेको धारणा कतिपयले राख्दै आएका छन्। यस क्षेत्रमा तामाङ जातिको बाहुल्यता छ। यही क्षेत्रमा अशिक्षा, गरिबी व्यप्त रह्यो। चेली बेचबिखनको सबैभन्दा बढी पीडा तामाङहरुले नै बोकेका छन्। यसमाथि तामाङहरुलाई जाँड रक्सीले प्रभावित पार्न सक्ने जमाना पनि थियो। त्यही अभाव र विवशतामाथि राणा पटकपटक सत्तारोहण गरे। 

ह्योल्मो जातिमाथि उपेक्षा

कुनै बेला हेलम्बुको स्याउ निकै प्रख्यात थियो। राजधानीबाट नजिकै रहेको यो स्याउ अहिले उखान बनेको छ। उक्त क्षेत्र पर्यटकीय गन्त्व्य पनि हो। नेपालका अल्पसंख्यक जाति ह्योल्मोको मुल थलोको रहनसहन र संस्कृति अध्ययन गर्न पर्यटक पुग्ने उक्त ठाउँ काठमाडौंमा ल्याउन लागिएको बहुप्रतिक्षित मेलम्ची खानेपानीको मुख्य स्रोत पनि हो।

तर उक्त परियोजनामा ह्योल्मो जातिको कुनै नाम जोडिएको छैन। स्रोतमाथिको उनीहरुको अधिकारलाई पनि वेवास्ता गरिएको छ। यतिबेला ह्योल्मोबासीहरु काठमाडौंमा पानी आउन थालेपछि पानीको स्रोत वरपर फोहोर हुन्छ भन्दै सरकारले वस्ती नै उठाइदिने हुन् कि भन्ने आशंकामा छन्। 

कांग्रेसको चलखेल

जिल्लाका कतिपय नेताहरुको भनाइलाई मान्ने हो भने राणालाई पहिले पनि कांग्रेसले नै जिताउँदै आएको हो। कांग्रेसका कान्छा लामा निकटतम प्रतिद्वन्द्वी बनाउँदै सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर ३ बाट राणालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई जिताउन ठूलो भूमिका खेलेका थिए।

क्षेत्र नम्बर १ मा मोहनबहादुर बस्नेत (जो देउवा गुटकै हुन्)लाई उठाएर राणालाई पनि सोही क्षेत्रको उम्मेदवार बनाउने तर उक्त क्षेत्रमा बस्नेतलाई जिताउने र ३ मा राणालाई जिताउने भित्री खेल देउवाले खेलेका थिए भनेर कांग्रेस वृत्तमा चर्चा भइरहन्छ।

राणा, बस्नेत र देउवाको ससुराली साइनोका कारण यो तालमेल भएको ती नेताहरुको भनाइ छ। पछिल्लो समय राजनीतिक परिवर्तन, कांग्रेस कमजोर हुँदै जानु, माओवादीलाई मनाउनुपर्ने झन्झटहरुका कारण राणाले संविधानसभाको निर्वाचनमा जित हासिल गर्न सकेनन्। 

यसपटकको लोकतान्त्रिक गठबन्धनबाट राणालाई उम्मेदवार बनाउनु कांग्रेसको चलखेलको निरन्तरता मात्र हो। पैसा, ससुराली साइनोजस्ता विषयले कांग्रेसले राणालाई बोकेको देखिन्छ। यद्यपि राणासँग पटकपटक पराजित भएपछि अमेरिका पलायन भएका कांग्रेस नेता अहिले जिल्ला फर्केर पर्यटन व्यवसायमा लागेका छन्। उनी आफै पनि राणालाई जिताउनुपर्छ भन्दै गठबन्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। कम्युनिस्ट गठबन्धन जति बलियो भए पनि राणा पनि यसपटक आफुले विगतमा गरेका गल्तीहरुलाई सुधार्दै लाने भित्री प्रतिबद्धताका साथ प्रस्तुत भएको देखिन्छ।

कांग्रेसले केही समय अघिमात्र पार्टी प्रवेश गरेका निमा लामालाई क्षेत्र २ को ख को उम्मेद्वार बनाएको छ। उनी ह्योल्मो जातिबाट प्रतिनिधित्व गर्छन् भने २ को क बाट विकास तामाङलाई गठबन्धनको उम्मेदवार बनाएका छन्। यो तालमेलबाट राणा जसरी पनि आफ्नो पक्षमा जित हात पार्नुपर्ने दाबीका साथ उपस्थित भएका देखिन्छन्। तर, उनका विगतका गल्तीहरुको चाङले भने उनको उचाइलाई घटाउँदै ल्याएको देखिन्छ। यसका लागि राणाले सिन्धुपाल्चोकको समग्र विकासका लागि केही भिजन वा कार्यक्रम प्रस्तुत गर्न नसके जितको कल्पना नगर्दा नै राम्रो हुनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell