PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सेना भन्छ : यो सिंगटी बजार देखिन्न, पहिरोमात्र देखिन्छ



सेना भन्छ : यो सिंगटी बजार देखिन्न, पहिरोमात्र देखिन्छ

  • सरोज काफ्ले - 
काठमाडौं : दोलखा जिल्लाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिंगटी बजारमा बजार नदेखिएको नेपाली सेनाले जनाएको छ। दोलखाको उत्तरी क्षेत्र सबैभन्दा बढी प्रभावित छ। सदरमुकामबाट उत्तरी क्षेत्रको सडक सम्पर्क टुटेको छ। सेनाले स्थानीय पत्रकारहरुलाई उत्तरी क्षेत्रका बारेमा व्याख्या गर्दै सिंगटी र त्यसभन्दा उत्तरी क्षेत्रमा कति क्षति भएको हो यकिन गर्न नसकेको जनाएको हो।

मंगलबारको भूकम्पले दोखला र सिन्धुपाल्चोक सबैभन्दा धेरै प्रभावित भएको छ। सेनाले हेलिकोप्टरबाट सिंगटी र त्यसभन्दा उत्तरी क्षेत्रको अवलोकन गरिहरको जानकारी पनि दिइएको छ। उद्धार टोली सिंगटी पुग्न सकेको छैन्। त्यहाँ कति मानिस परे भन्ने सेना तथा प्रहरीले समेत यकिन गर्न सकेका छैनन्। बुधबार मध्यान्नसम्म सेनाको आफ्नो सूचना संयन्त्रले पनि दोलखाको उत्तरी क्षेत्रमा काम गर्न नसकेको जानकारी दिइएको छ।
 
सदरमुकाम चरिकोट स्थित वर्द बहादुर गणका गणपति विक्रमबहादुर शाहले पत्रकारहरुसँग कुरा गर्दै यस्तो जनाकारी दिएको स्थानीय पत्रकार सुवास योञ्जनले बताए। भूकम्पबाट बुधबार दिउँसोसम्म ५७ जनाको ज्यान गइसकेको छ। करिब दुई सयभन्दा बढी घाइते भएको तथ्यांक सेनाले उपलब्ध गराएको छ।
 
‘सिंगटी बजारमा रहेको बसपार्क पहिरोले पुरिएको खबर आएको छ,’ स्थानीय निर्माण व्यवसायी युधिष्ठिर खड्काले भने, ‘मानिस कति हताहत भए भन्न सकिने अवस्था छैन।’ लामिडाँडा र लादुक गाविसको सीमानामा पर्ने यो बजारमा दुई पचास भन्दा बढी घर थिए। उत्तरी क्षेत्रको प्रमुख बजार भएकोले मानिसको चहलपहल पनि धेरै हुन्छ।
 
मंगलबार नै सिंगटीमा वैशाख १२ को भूकम्पका पीडितलाई राहत वितरण गर्ने भनेर आसपासका गाउँबाट मानिसलाई बोलाइएको थियो। राहत लिन आएका मासिन पनि भूकम्प पछि गएको पहिरोका कारण भागेर सुनखानीसम्म पुगेका थिए। वैशाख १२ गते गएको भूकम्पले सिंगटीदेखि लामावगरसम्म जाने सडकमा ठूलो क्षति पुगेको थियो। यसले माथिल्लो तामाकोशी आयोजना निर्माण स्थलसम्म पुग्न समेत समस्या भएको थियो। काठमाडौं जोड्ने सडक पनि अवरुद्ध छ।

सदरमुकाम चरिकोटका १५ वटा पक्की ठूला घर पूरै ढलेका छन्। बस्न नहुने अवस्थामा पुगेका घरको संख्या पनि धेरै छ। अधिकांश मानिस अहिले टुँडिखेल, बारीका पाटामा र जंगलको नजिक पाल राखेर बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell