PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​एक कप चियाको पैसा उठाएर स्कूल पुर्ननिर्माण



​एक कप चियाको पैसा उठाएर स्कूल पुर्ननिर्माण

काठमाडौं: कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघले विद्यालय निर्माणका लागि एक कप चिया बराबरको पैसा उठाउने भएको छ।
भूकम्पका कारण क्षतिग्रस्त बनेको स्कूल पुर्ननिर्माणका लागि नेपाल विद्यार्थी संघले अक्षयकोष स्थापना गरेर पुर्ननिर्माणका लागि एक कप चिया बराबरको रकम संकलन गर्ने भएको हो।

देशभरका विद्यार्थीहरुसँग १ कप चिया बराबरको रकम संकलन गरी नेविसंघ विद्यार्थी सहयोग तथा विद्यालय निर्माण कोषमा संकलन गरिने नेविसंघका अध्यक्ष रञ्जित कर्णले बताए।

कोषका लागि नेपाली कांग्रेसका सभासद ईन्द्र बानियाँ र समाजसेवी होमनाथ कोइरालाले बुधबार नै ५–५ लाख रुपैया हस्तान्तरण गरेका छन्।
‘हामी आन्दोलन र टायर बाल्ने मात्रै संगठन होइनौं। क्षति भएका विद्यालय बनाउन र पिडित विद्यार्थीको भविष्यप्रति पनि सचेत संगठनका कार्यकर्ता हौं। त्यसैले हामीले यो कोष मार्फत विद्यालय बनाउन र अनाथ विद्यार्थीको शिक्षामा सहयोग गर्ने लक्ष्य लिएका छौं।’, नेविसंघका अध्यक्ष कर्णले भने।

नेविसंघले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खोलिएको ‘नेपाल विद्यार्थी संघ विद्यार्थी सहयोग तथा विद्यालय निर्माण कोष’ को खाता नम्बर ११३०००३७६७०१ मार्फत ईच्छुक जोकोही कोष निर्माणमा सहयोग गर्न सक्ने जनाएको छ।

सो कोषमा जम्मा भएको रकम भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त विद्यालयहरु निर्माण गर्न सहयोग गर्ने नेविसंघले जनाएको छ।

एक हजार अनाथ विद्यार्थीको शिक्षाको जिम्मा लिने

नेपाल विद्यार्थी संघले एक हजार अनाथ विद्यार्थीको शिक्षासहितको पालनपोषण जिम्मा समेन लिने घोषणा गरेको छ। नेपाल बाल संगठनसँगको सहकार्य गरि भूकम्पका कारण अनाथ भएका १ हजार विद्यार्थीहरुको शिक्षा सहितको पालनपोषणको जिम्मा लिने तयारीमा नेविसंघ रहेको कर्णले बताए।

‘नेपाल बालसंगठनको भर्ना मापदण्ड अनुसार १ हजार अनाथ बालबालिकाको अध्ययन र पालनपोषणको जिम्मेवारी लिन लागेका हौँ, कर्णले भने।

नेपाल बाल संगठनका महासचिव सुवास पोखरेलले भूकम्पप्रभावित अनाथ बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्न नेविसंघले अग्रसरता लिएकोमा धन्यवाद दिए। ‘हामी भूकम्पका कारण अनाथ बनेका विद्यार्थीको भविष्य अध्याँरो बन्न दिनेछैनौं’, पोखरेलले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell